मयूरले आफ्नो खुट्टा हेरेर आँसु झारे झैँ
रक्त पिपासु सन्तानको मायामा किन आँसु झार्छ्यौ आमा?
आमाको नाङ्गो छातीलाई रातो कार्पेट सम्झी हिँड्नेलाई
टुलुटुलु हेरी भक्कानिँदै मुटु गाँठो नपार आमा ।।१।।
तिम्रोअस्तित्व रक्षाको बोध छैन मन्थरा, सुवर्णखालाई
स्वार्थको पोको गुटमुट्याएर तिम्रो लिलामी आव्हान गर्नेलाई
हरेक रात बलात्कृत पछिको प्रसव वेदना के थाहा पत्थर मन हुनेलाई
व्यर्थ किन रून्छ्यौ आमा आफ्ना अमूल्य मोतीदाना खसाइ ? ।२।
विद्या बाँडेर विद्वान् बनाउनेकै घाँटी रेट्न पल्केकाहरू
आमालाई अग्निमा चरूझैँ होमी धन कुम्ल्याउनेहरू
थोत्रो, खोक्रो र प्रतिशोध लिई घरमा आगो लगाउनेहरू
किन जन्मायौ आमा यी कलियुगका धृतराष्ट्रहरू ? ।३।
घरझगडाको गीतमा मादलबजाई छिमेकी नचाउनेहरू
आमाको सतित्व हरण गरी हेलिकप्टर चढ्नेहरू
अब कति जन्माउछ्यौ यस्ता छलकारीहरू
थाकिनौ र अब पनि जन्माउछ्यौ कुपुत्र शकुनीहरू ।४।
भो पुग्यो अब लेलिन,गान्धी,मार्क्स ,हिटलर नजन्माऊ
सक्छ्यौ भने भीमसेन,बलभद्र,भक्ति,भृकुटी जन्माऊ
सक्दिनौ भने भयो आमा फेरि कौरवका लहर नजन्माऊ
बरू स्थायी बन्ध्याकरण गर आमा बेच्ने दलालहरू नजन्माऊ!!
भयो आमा अब धृतराष्ट्र ,शकुनी,कैकेयी फेरि नजन्माऊ !! ५ ।