शारदीय आकाशमा ताराहरू चम्काइमा गफिएका छन्
औँशीको निष्पट्टताको प्रवाह नगरी रजनी मुस्कुराइरहेछिन्
सम्म फाँटका सुनौला धानका बाला समीरले एकएक स्पर्श गर्दै
बास्मतीको मगमग सुगन्ध लहराउँदै हिमाल चढिरहेछ ।।१।।
रत्नजडित जडीबुटी स्पर्श पाई हिमालको बादलमा लहरिँदै
दौडिन थाले पहाड हुँदै तराई मधेश पुग्न हतारिँदै
वर्षाको रसले भरिलो यौवन फुरेका सुन्तला,स्याउ ,ज्यामिर जहाँ
खुसी हुँदै मौरी र भमरा झुम्मिएका छन् त्यहाँ ।।२।।
सयपत्री, मखमली खुसी हुँदै छेडिन तयार छन् अनि
फनक्क घुमेका सेलरोटी,फिनी,अर्सा डाक्दैछन् आऊ चेली भनी
विमिरो, लोहोरो यी दुई मख्ख छन् पुजिन्छौँ हामी भनी
भैलेनीको मृदुल स्वरमा नाच्न तयार छन् परी बनी ।।३।।
आँटी,झ्याल,दैलो,मजेरी,आँगनी पालामा बल्छ दीप
आउँदैछिन् धनधान्यकी देवी नेपाली जन समीप
गरिब,इमानदार,मिहिनेती भक्त को को छन् लोकमा भनी
बसेकी छिन् गृहप्रवेशको शुभसाइतको पलपल र क्षण गनी ।।४।।
स्वर्गमा त्रिदेव,इन्द्रादी खुसी छन् नेपाली एकता देखी
दिँदैछन् आशीर्वाद अजरअमर रहोस् भनी यो महान् संस्कृति
दाजुभाइको दिदीबहिनीले गर्ने दीर्घायुको कामना देखी
थर्थर काम्दै यमराजको घोषणा हुनेछ जान्नँ म नेपाल भनी ।।५।।
धनी छ नेपाल हाम्रो पूर्खाहरूको धरोहर संस्कृति
सभ्य भएर मनाऔँ सबैले नभित्र्याऔँ है विकृति
कोरोना पराजित होओस्,लक्ष्मी दाइना,हरि बसून् मनमा
यति नै जानेँ वर्णन गर्न हजुर छ तिहारको शुभकामना
हजुरहरू सम्पूर्णमा छ तिहारको शुभकामना ।।६।।