झिमरुक (बांगेमरोठ) : झिमरुक गाउँपालिका ४ बांगेमा पहिलो पटक बस पुगेको छ । पहिलो पटक गाउँमा बस आएपछि स्थानीयले गाडी चालक सहित पुगेका अतिथीहरुलाई खुशीयालीमा स्वागत गरे । लामो समयदेखिको बस ल्याउने गाउँलेको चाहना पुरा भएपछि नागरिक उत्साहित छन् । बस सेवा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलक जिसी, उपाध्यक्ष पवित्रा जिसी, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल सहित वडा अध्यक्षहरु, कर्मचारी, जनप्रतिनिधी र स्थानीयको उत्साहजनक उपस्थिती रहेको थियो ।
शनिवार गाउँपालिका कार्यालय मच्छिदेखि बांगमरोठको बौडासम्म बस पु्याएर उद्घाटन गरिएको छ । मच्छिदेखि बौडासम्मको दुरी १२ किलोमिटर छ । तीन वर्ष अघि उक्त सडकको ट्र्याक खोलिएको थियो । पहिलो वर्षमा झिमरुक गाउँपालिकाले ५० लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्ष २५ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा लुम्विनी प्रदेश सरकारको २५ लाख, गाउँपालिकाको २५ लाख गरी ५० लाख रुपैयाँ विनियोजित भएको छ ।
चालु आर्थिक वर्षमा उक्त सडकको थप स्तरोन्नती गरिने कार्यक्रम रहेको झिमरुक गाउँपालिका सूचना अधिकारी निमप्रसाद भण्डारीले जानकारी दिए । तत्कालका लागि बौडादेखि मच्छिहुँदै बाग्दुलासम्मका लागि बस संचालन गर्ने योजना रहेको छ । केही समयपछि छिमेकी जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित सिमेदेउरालीदेखि बाग्दुलासम्म नियमित बस संचालन गर्ने योजना रहेको व्यवसायीहरुले बताएका छन् ।
अर्घाखाँची क्षेत्रको केही भागमा सडक साँघुरो भएकाले फराकिलो बनाउनका लागि पहल गरिएको झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले जानकारी गराए । आइतवारदेखि बस नियमित संचालन हुने छ । उक्त रुटमा बस शुरु भएपछि बांगेमरोठको बौडा, उपल्लो बांगे, उर्लेनी, चौर, कुर्लेखोला लगाएका स्थानीय बढी लाभांवित हुनेछन् । तल्लो बांगे क्षेत्रका स्थानीयलाई मच्छि पुग्नका लागि नेवारेखोलाहुँदै बौडा जोड्ने सडक पायक पर्ने गरेको छ । नेवाउरेखोला, बांगेहुँदै बौडा जोड्ने सडकको पनि स्तरोन्नती गर्न गाउँपालिकासँग माग गरिएको स्थानीय धर्मेन्द्र विक्रम जिसीले बताए ।