
मेेेरो आफ्नो घरको कौसीबाट तल चोकमा हेरेर पाँच वर्ष वित्न लागिसक्यो। मेरो खासै काम हुँदैन,घरमा काम गर्ने दुईजना सहयोगी राखेकाले लुगा सुकाउने, घर सफा गर्ने, बगैंचामा पानी लगाउने, गाडी पुछ्ने, सबैकाम उनीहरूले नै गर्छन्। मेेेरो त केवल आफूलाई सुन्दर बनाएर पसलमा सजाउन राखिएका सुन्दर पुतलीहरू जस्तै भएर श्रीमानको कार्यालय जाने समयमा बिदाइ र बेलुका फर्कने समयमा स्वागत गर्न उभिने काम मात्र हो।
यो बाहेक मैले आफूले खाएका भाँडाकुँडा पनि माझ्न पर्दैन त्यसैले सिंगारपटार गरी आफ्नो कोठा अगाडिको कौसीमा बसेर तल चोकको गतिविधि नियाल्ने गर्थेे तर कोरोना कहरले २०७६ चैत्र ११ गतेदेखिको पूर्णरूपमा बन्दाबन्दी सुरू भएयता चोक सुनसान थियो। गरिबहरू झन गरिब भएर सडकको बाँस हुने अवस्था आयो भने धनीहरूको धन पनि सकिँदै जान थालेको थियो। लामो समयको बन्दाबन्दी हुँदा मेरो घरमा भने दशैँजस्तो थियो। सबै परिवार घरमा बसेर रमाइलो गरी बसेका थियौँ । आज बल्ल बन्दाबन्दी केही खुकुलो भयो।
चोकमा चहलपहल बढ्न थाल्यो। उहाँ पनि चैतपछि आजै कार्यालय हिँड्नुभयो। म उहाँको बिदाइ गरी चोक तिरको चहलपहल हेर्न कौसीमा बसेँ। आज चोकमा त्यो सानो चटपटे, पानीपुरी पसल खुलेछ। मलाई रमाइलो लाग्यो। एकदिन त्यो पसल नखुल्दा किन नखोलेको होला भन्ने मनमा उत्सुकता लागिरहन्थ्यो। बन्दाबन्दीमा मैले तिनीहरूले के खाए होलान्,बच्चालाई कसरी सानो एउटा कोठाभित्र राख्न सके होलान् भन्ने मनको एउटा कुनामा चिन्ता लागिरहयो तर भन्ने कोसँग? मेरो विवाह भएको पाँचवर्ष भयो। त्यो पसलेको पनि विहे भएको त्यही पाँच वर्ष नै भयो होला? म नयाँ दुलही हुँदा उसकी श्रीमती पनि नवविवाहिता जस्ती देखिन्थी।
ऊ पातली, गहुँगोरी, अग्ली, सुलुत्त परेको नाक, ठूलाठूला गाजलु आँखा असाध्यै लोभलाग्दी थिई। उसले यो पाँच वर्षमा दुई छोरी र एक छोरो जन्माई तर पनि ऊ पहिलेकी जस्तै सुन्दर, सफा र आकर्षक छे। छोराछोरीलाई पनि सफासुग्घर बनाएर पसलमा ल्याउछे। उसको श्रीमानले भीडभाडकम भएपछि चटपटे, पानीपुरी छोराछोरी, श्रीमतीलाई दिएर आफूपनि खान्छ। गरिब तर सानो परिवार सुखी संसार छ तिनीहरूको। म मनमनै भन्छु आहा! माया प्रेम भनेको त त्यस्तो पो हुन्छ, दु:ख, अभावमा पनि एकअर्कालाई विश्वास अनि दरिलो साथ दिएर हाँसीखुसी जीवन विताउन पाउनु। उनीहरूको जीवन त्यही सानो संसारबाट चलेको छ, पाँचजना परिवार खुसीखुसी पालिएका छन्। उनीहरूको मुहारमा प्रशन्नता झल्किएको देख्छु म। मलाई ती केटाकेटी चोकमा खेल्दा गएर मायाले अँगालो हालूँ जस्तो लाग्छ। किन हो कुन्नि ती बच्चाबच्ची खेल्दा लडे भने ममा मातृस्नेह छचल्किन थाल्छ।
म यी पाँच वर्षमा एकदिन पनि पैदल हिँडेर चोकसम्म गएकी छैन। जहाँ जान परेपनि गाडीमा लैजानुहुन्छ। आज मलाई घरको चौघेराबाट आफ्नो गोडाले हिँडेर चोकसम्म पुग्ने रहर लागेर आयो। म पाँचतला ओर्लिएर चोकसम्म पुगेर पानीपुर पसल अगाडि उभिएँ। आमनेसामने नभेटेको भए पनि हामी आँखाका परिचित थियौँ। त्यो बहिनीले कुर्सी दिँदै बस्न आग्रह गरिन् । आज म तिमी बनाएको पानीपुरी खान आएकी, एक पिलेट पानीपुरी देऊ है। उसले अचम्म मानेर सोधी
तपाईं हामीले बनाएको पानीपुरी खाने? किन मैले खान हुँदैन र? उसले लाज मानेझैँ गरी सफा पिलेटमा पुरी र कचौरीमा पानी ल्याएर दिई म खान थालेँ, ऊ कुरा गर्न थाली। दिदी तपाईं त कति भाग्यमानी हुनुहुन्छ है, दरबार जत्रो घर, बगैंचा,गाडी,पैसा प्रशस्त , घरमा काम गर्ने मान्छे। मैले हाँस्दै भनेँ- " मभन्दा त तिमी भाग्यमानी छौ, यति माया गर्ने श्रीमान, त्यति प्यारा, राम्रा छोराछोरी, धन हुँदैमा भाग्यमानी हुन्छ भन्ने छ र?" उसले के सोचेर हो कुन्नि हो हुन त मेरो रामुको पापा पनि त्यसै भन्छन्। हाम्रो मागी विवाह हो, ऊ बाराको अनि म पर्साको।
मेरो मरद धेरै मिहिनेती छ, छोराछोरीलाई असाध्यै माया गर्छ, बेलुका खाना खुवाएर छोराछोरीलाई सुताएपछि दिनभरि पसलबाट भएको आम्दानीको हिसाबकिताब गरी मलाई बुझाउँछ अनि भन्छ, हेर् रामुकी आमा तँ गरिब भइयो भनेर केही दुः ख नमान है। यसरी नै मिहिनेत गरेर पैसा कमाइ एउटा घर बनाउँला, छोराछोरी पढाउँला। कहिलेकाही असाध्यै रिसाउएर भन्न थाल्छ, तँ धेरै राम्री बनेर पसलमा नआइजो है, अस्ति रामलखनले तँ यस्तो कालो छस् तेरी श्रीमती कति राम्री छे, कसरी फसाइस हँ, मेेेेरी श्रीमती त्यति राम्री भएकी भए त कामै नलगाइकन रानी बनाएर राख्थेँ भन्यो ।
तँलाई अरूले आँखा लगाएको,तँ अरूसँग बोलेको मलाई मन पर्दैन। तेरो बारेमा कुरा काट्दा नरमाइलो लाग्छ। मसँग नरिसाऊ दुईजना मिलेर काम गर्यौँ भने काम गर्न सजिलो पनि हुन्छ र बढी पैसा पनि कमाइ हुन्छ भनेर पो पसलमा गएकी। हेर रामुको पापा अरूले के भन्छन् भन्दा पनि तिमी के भन्छौ र म कस्तो छु भन्ने कुरामा भर पर्छ।तिमी अरूले जेसुकै भनुुुून् वास्ता नगर भनेर सम्झाउँछु। छोराछोरी छन् ,यी नै हुन् हाम्रो सम्पत्ति, होइन त दिदी? उसले मलाई सोधी मैले हो भन्ने सङ्केत गरेँ। कुरैकुरामा दिदी नरिसाउने भए एउटा कुरा सोधूँ है। सोधन के सोध्न मन लागेको छ। उसले भनी म बिहे गरेर रामुको पापासँग यो पसलमा आएदेखि नै तपाईंलाई कौसीमा बसेर चोकतिर हेरिरहेको देख्छु,छोराछोरी किन नजन्माउनु भएको दिदी? म निरूत्तर भएँ। त्यही समयमा उसको छोराछोरी झगडा परेर रून थाले म भने तपाईंले बच्चा किन नजन्माउनु भएको भन्ने प्रश्नले रन्थनिएर विगत सम्झिएँ।
म सिन्धुपाल्चोकको एउटा विकट गाउँमा २०४७ सालमा जन्मिएकी हुँ। मेरी आमा मलाई जन्मदिएको एक वर्षमा जन्डिस भएर बितेपछि मेरो करिब पाँच वर्ष मामाघरमा स्याहारसुसार भएपछि बुबाले अर्की बिहे गरे लगत्तै मलाई आफ्नो घर लैजानुभएको थियो। बुबाले छोरीलाई पढाउनुपर्छ भनेर कक्षा एकमा नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिनुभयो। म रमाउँदै विद्यालय जान्थेँ। बुबा घर बनाउने ठेकेदार भएकोले कहिले कहाँ कहिले कहाँ गइरहनुहुन्थो। भाइ नजन्मदासम्म बुबाले असाध्यै माया गर्नुहुन्थ्यो, घरमा आएको समयमा मलाई राम्रा अक्षर लेख्न सिकाउनुहुन्थ्यो, पाठ घोकाउनुहुन्थ्यो, म बुबाको काखमा बसेर सकिनसकी ठूलो स्वरले पढ्थेँ नमिलेको ठाउँमा मिलाएर पढ्न सिकाइदिनुहुन्थ्यो। सौतेनीआमा पनि बुबाको अगाडि माया नै गर्थिन्। म आठ वर्षकी भएँ, तीन कक्षामा पढ्न थालेँ। शिक्षकहरूले तिम्रो पढाइ राम्रो छ भन्नुभएकोले म झनझन मिहिनेत गरेर पढ्न थालेँ। हाम्रो घरमा भाइ जन्मियो, बुबा र म खुसी भयौँ।
मेरो खुसी धेरै दिन टिकेन,भाइ जन्मिएपछि बुबाले माया गर्न छोड्नुभयो। आमाले पनि घरको काम गर्न पर्छ भनेर विद्यालय पठाउन छोडिन्। म घरको काम सकेर भोकै भए पनि विद्यालय जान्थेँ। सौतेनीआमाले खान पनि दिन छोडिन्, भाइलाई रूवाएको भनेर सिस्नोले हिर्काउन थालिन् तर पनि म विद्यालय जान छोडिनँ। म पाँच कक्षामा पुगेँ। मेरो कसैले वास्ता गर्दैनथे, बुबा आउनुहुँदा लाग्ने रमाइलो पनि हराएर गयो। एकदिन मलाई भाइ लडाएको भनेर आमाले घरको थाममा डोरीले बाँधेर कुटिन्, म रूँदारूँदा त्यही निदाएँ। यसरी मेरो जीवन नरक बन्दै थियो।
एकदिन विद्यालय गएर आउने बित्तिकै आमाले भाइको थाङ्ना धुन धारामा लैजा भनिन्, मैले भोक लागेको छ केही खानेकुरा दिनुहोस् अनिमात्र जान्छु भनेँ। उनले मलाई भाइको थाङ्नामा भएको आची कोच्याइदिइन्। त्यही दिनको साँझ मैले सदाको लागि सिन्धुपाल्चोक छोडेँ। रूँदैरूँदै वनजङ्गलको बाटो गन्तव्यहीन पाइला चालेँ। हिँड्दा हिँड्दा बिहान सहरमा पुगेछु। त्यहाँ एकजना मान्छे कराउँदै थियो, काठमाडौं काठमाडौं, लौ बस हिँड्यो, हिँड्यो। म पनि त्यसैमा चढेँ। बेलुका भएपछि ल बसपार्क आयो सबैजना ओर्लिनुहोस् भनेर बिहानकै मान्छे करायो म पनि ओर्लिएँ तर जाने कहाँ? त्यही बसेर रून थालेँ। एउटी महिला आएर सबैकुरा सोधिन् मैले बताए पछि एकरात उनीसँगै बसेँ। भोलिपल्ट एउटा ठूलै मिठाई पसलमा भाँडामाझ्ने काम लागइदिइन्। साहु यति छुच्चो थियो कि ती मिठाइतिर हेर्न पनि दिँदैनथ्यो। खानेकुरा हिजोको बाँकी रहेको दिने गर्थ्यो भने उसको पसलमा मिठाई कहिल्यै बासी हुँदैनथ्यो।
पन्ध्र दिनको बासी पनि बेच्ने गर्थ्यो तर काम गर्नेलाई खान दिँदैनथ्यो। मलाई मिठाइ खान मन लाग्थ्यो तर खान पाउँदिनथेँ। ग्राहकले पिलेटमा छोडेका मिठाई कागजमा पोको पारेर राखी भाँडा माझ्न जाँदा खान्थेँ। एकदिन एउटी ग्रहाकले मलाई नानी तिमी मेरो घर जान्छ्यौ भनी सोधिन् मैले हुन्छ भनेर साहुसँग कुरा गरेँ उनले जाने भए मासिक पाँच सयको दरले दुई वर्षको पैसा दिन्न भने। म पैसा नलिई गएँ।
काठमाडौंको मुटु कालिमाटीमा वरिपरि बगैंचाको बीचमा एउटा राम्रो चिटिक्क परेको घर थियो। मलाई खान, लगाउन राम्रो दिन्थे। मैले एउटा सानो बाबुलाई हेर्ने, बगैंचामा पानी राख्ने, बिहानबेलुका भाँडा माझ्ने काम गर्नुपर्थ्यो। मैले पाँच कक्षा पढेको छु भनेपछि साहुनीले नजिकैको सरकारी विद्यालयमा कक्षा पाँचमा नै रजनी नाम राखेर भर्ना गरिदिइन्। बाह्रवर्षमा फेरि पाँच कक्षामा भर्ना भएर पढ्न पाएँ। म काम सकिएपछि गृहकार्य गर्थेँ। मिहिनेत गरेर पढेकाले मेरो परीक्षामा राम्रो अङ्क आउँथ्यो। साहुनीले चाडपर्व घुम्न गएको समयमा दिएको पैसा उनैलाई राख्न दिन्थेँ। राम्रा राम्रा लुगा लगाउन र मीठो खान पाएको थिएँ। मेरो भाग्य फेरिएको अनुभव गर्थेँ । यसरी दिन सुखदसँग बित्दै थियो। म कक्षा नौ मा पुगेकी थिएँ। एकदिन साहुनी शौचालयमा लडेर हात, गोडा भाँचिनुका साथै टाउकोमा पनि चोट लाग्यो। साहुनी बिरामी भएपछि म दिनरात उनको सेवा र सानो बाबुको हेरचाह गर्नुपरेकाले विद्यालय गइनँ । वार्षिक परीक्षा दिन गएँ। तीनवटा विषय लागेर दस कक्षामा पुगेँ। मैले साहुनीको राम्रो स्याहारसुसार गरेँ तर म उनी बिरामी परेदेखि नै हिंसा सहन बाध्य भएँ। म असाध्यै राम्री थिएँ त्यसमा पनि तरुनी भएको थिएँ। साहुको गिद्दे नजर ममा परेको थियो। चाहेजति पैसा दिन्छु मैले भनेको मान भनेर फकाइरहन्थे तर म सकेसम्म बचेर बसेकी थिएँ। साहुनी आठ महिना पछि उठेर दिसापिसाब गर्न, भान्सा कोठामा आएर खाना खान सक्ने भइन्।
एकदिन साहुनीले बोलाएर रजनी तिमी भोलि नै यो घरबाट निस्केर जाऊ, मैले तिम्रो पैसा बैंकमा जम्मा गरिदिएको छु। अब यहाँ बस्यौ भने निमोठिनेछ्यौ, मैले बस्ने व्यवस्था गरिदिएको छु जाऊ भनिन्, म त्यहाँबाट निस्किएर गएँ। कोठाको व्यवस्था भएकोले पढ्न थालेँ। मैले एसएलसी पास गरेँ, पद्मकन्या क्याम्पसमा आइ. ए.मा भर्ना भएँ। एउटा फाइनान्समा सदस्य बनाउने,पैसा उठाउने काम गर्न थालेँ। बेलाबेलामा साहुनी आउथिन्। मैले काम गरेको देखेर खुसी हुन्थिन्। आइ. ए. दोस्रो वर्षको परीक्षा दिएर बसेकाले शनिबार साथीहरू मिलेर घुम्न गई रमाइलो गर्थ्यौँ। एकदिन हामी चारजना साथी मिलेर गोदावरी घुम्न गएका थियौँ। दिनभरि घुमेर बेलुका फर्कने समयमा बस पाइएन। त्यही समयमा एकजना मान्छेले नजिकै कार रोकेर तपाईंहरू कहाँसम्म जाने हो म पुर्याइदिन्छु भने। हामी आपसमा मुखामुख गर्यौँ।
एकछिनपछि हामी कारमा चढ्यौँ र सोह्रखुट्टे झर्यौँ। जानेबेलामा फेसबुक आइडी मागे हामीले दियौँ र धन्यवाद भन्दै बिदा भयौँ। बेलुका नै साथीको लागि अनुरोध आयो, मैले स्वीकारेँ। कुराकानी हुन थाल्यो।चार महिनासम्म मेसेन्जरमा घन्टौँ कुराकानी हुन थाल्यो। मेरो कुरा गरेर बस्ने बानी पर्यो। साथीहरू, साहुनी सबैजनालाई विर्सन थालेँ। म एकछिन कुरा गर्न नपाउँदा छटपटाउन थालेँ। एकदिन प्रेम प्रस्ताव आयो म अलमल्ल परे त्यति बूढो मान्छे, म भर्खर बीस वर्षमा टेकेकी। मभन्दा करिब पच्चीस वर्ष जेठोसँग त के बिहे गर्नु भनेर कुराकानी बन्द गरेँ तर मनमा छट्पटी भएर आउथ्यो। म डाटा चलाउँथेँ। करिब पन्ध्र दिनपछि मेसेन्जर खोलेर बसेँ, धेरै मेसेजहरूआएका रहेछन्। त्यसमा लेखिएको थियो म श्रीमतीसँग सम्बन्धबिच्छेद गरेर बसेको छु। परिवारले बिहे गरभन्दा पनि नगरी बसेको ।तिमीलाई देखेपछि बिहे गर्न मन लाग्यो। के छ विचार, म स्नातक तह पनि पढाउँछु, दु:ख हुन दिन्न, म धनी परिवारको एउटा छोरो हुँ ।
छोराछोरी र श्रीमतीलाई प्रशस्त सम्पत्ति दिएको छु अरू यस्तै यस्तै कुराहरू लेखिएका रहेछन्। मैले अचानक साथीहरू सम्झिएर फोन गरेँ, भेट्न बोलाएँ। साथीहरू तीनैजनाले कसैको पनि भर हुँदैन, तँलाई प्रयोय गरेर छोडिदिन सक्छ। आजभोलि अविवाहित केटाहरूको विश्वास हुन्छ तर त्यस्ता सुड्डाहरूको विश्वास हुँदैन। छोडिदे त्यस्तालाई, राम्रो केटो खोजेर बिहे गर्नुपर्छ भने। मैले म पनि प्रेम गर्न थालिसकेँ भनेँ तर उनीहरूले त्यो प्रेम हुनै सक्दैन बुझिस्। त्यो सुड्डोको घरमा श्रीमती, छोराछोरी छन्, तँलाई अलपत्र पारिदिन्छ, विचार गर भनेर सुझाव दिए। फेरि मैले साहुनी सम्झिएँ र फोन गरेँ। उनी आइन् , मैले सबै कुरा बताएँ।उनले आँखाभरि आँसु पारेर मलाई भनिन्," हेर रजनी तिमी अल्लारे छ्यौ, मैले तिमीलाई पढाएर राम्रो केटो खोजेर कन्यादान गरिदिएर तिमीले म बिरामी भएको समयमा कोपरामा दिसापिसाब गराएर स्याहारसुसार गरेको ऋण तिर्न चाहन्थेँ तर तिम्रो अस्मिता लुटिने भएपछि मैले घरबाट पठाउनुपर्यो।
त्यो मेरो श्रीमानजस्तै धोकेवाज हो, कुमार केटो भए विश्वास गर्थेँ तर त्यो मानिसको मलाई पटक्कै विश्वास छैन रजनी। तिमी सक्छ्यौ भने त्यसलाई छोडेर राम्रो केटो खोज म बिहेदान गरिदिन्छु, सक्दिनौ भने सम्बन्धबिच्छेदको कागज माग अनि मात्र अगाडि बढ है रजनी, तिमीले त्यसलाई धनी देख्यौ, तिमीलाई उसले बुझ्यो तर तिमीले बुझ्न सकिनौ।
सबैको एउटै सुझाव थियो त्यसलाई छोडिदे तर म सक्दैनथेँ। प्रेम अन्धो हुन्छ रे भन्थे हो रहेछ, मैले सबैको कुरा बेवास्ता गरेर प्रस्ताव स्वीकार गरेँ। म स्नातक तहमा भर्ना भएँ। अब एउटा कोठाबाट चारवटा कोठामा भए। सबै कोठाहरू आधुनिक सामानले सजिए, वाइफाइ जोडियो,दिनदिनै भिडियो कल हुन थाल्यो। तीनवर्षे स्नातक तह पढाइ हुँदासम्म मेरो रहनसहन रानी महारानीकोजस्तो भएको थियो। यो बीचमा मैले नेपालका पर्यटकीय ठाउँहरू लगभग घुमिसकेको थिएँ अविवाहित श्रीमती भएर। मेरो पढाइ सकियो अब विहे गरौँ भनेँ तर विवाह गर्न आनाकानी गर्न थाले।मलाई साहुनी र साथीहरूको झल्झली याद आउन थाल्यो। मैले कुराकानी गर्न छोडेँ तर अब के गर्ने, कसैको रखैल बनेँ भन्ने पीरले सताउन थाल्यो। धेरैदिनपछि उनी कोठामा आएर मंसिरमा बिहे गर्ने भनेर मलाई फकाए। फेरि कुराकानी हुन थाल्यो।
२०७२ सालको कार्तिक महिना थियो। म भिडियो कलमा बिहेको तयारीको कुरा गरेर सोफामा पल्टिएँ। मेरो बिबाह धुमधामसँग सम्पन्न भयो। मेरो सौन्दर्यमा हराएर सबैजनाले मेरो अतीतको वास्ता गरेनन्। म महारानीको जीवन जिउन थालेँ। बिहे भएको पाँच दिनमा पोखरा गएर पन्ध्र दिन बस्यौँ। ममा धनको घमण्ड चढ्दै गएको थियो।बिहे भएको एक वर्षमा छोरी जन्माएँ। छोरी राजकुमारीजस्ती, उनको न्वारान , पास्नी धुमधामले गरियो। छोरी दुई वर्षकी भएपछि छोरो जन्माएँ। उसका कर्महरू पनि राजकुमारको जस्तै गरी सम्पन्न भयो। म आफूलाई सम्पन्न र भाग्यमानी ठान्न थालेँ। छोराछोरी आठ र दस वर्षका भए। एकदिन बुबासँग नगरकोट घुम्न गए ।
बेलुकासम्म घर नआएपछि मैले मोबाइलमा फोन गरेँ, फोन सम्पर्क हुन सकेन। सासुससुरालाई भनेँ , फोन सम्पर्क हुन सकेन। म आत्तिएर घरको तल माथि ओहोरदोहोर गर्न थालेँ। बेलुका करिब १० बजेको समयमा फोन आयो। तपाईंको छोराछोरीको कार दुर्घटना भएको छ, भक्तपुर आउनपर्यो भने। म रूँदै भक्तपुर गएँ। छोराछोरी बितिसकेछन्, श्रीमान बेहोस भएको भनेर प्रहरीले अस्पताल लग्यो। म छोराछोरीलाई समातेर रूँदै थिएँ ढोकाको ढकढक आवाजले म झसङ्ग भएँ, सपना पो रहेछ। छिः ! कस्तो सपना देखेको होला? हुन त दिउँसोको सपना निष्फल हुन्छ रे। उहाँ आउनुभएछ क्यारे भनेर कपाल, लुगासुगा मिलाएर खुसी हुँदै ढोका खोल्न पुगेँ। ढोकामा अन्दाजी तीस/ पैँतीस वर्षकी, गोरी, पातली, अग्ली, लामो कपाल भएकी सुन्दर आकर्षक महिलाले रजनी भनेको तिमी नै हौ भनेर सोधिन्, हजुर हो केही काम थियो कि, मैले सोधेँ। उनले म भित्र आउन सक्छुु भनेर अनुमति मागिन्। मैले हुन्छ भनेँ।
उनका कुरा सुनेपछि बहत्तर सालको भूकम्प दोहोरियो, मैले टेकेको जमिन भासियो, बेहोस हुँला झैँ भयो तर पनि धैर्य गरेर सुनेँ। उनले भनिन्, म तिम्रो प्रेमीकी श्रीमती, मेरी बाह्र वर्षकी एउटी छोरी र दस वर्षको एउटा छोरो छ। तिमीसँग हिँड्न थालेपछि मेरा श्रीमानले मलाई दिएको यातना हेर भनेर लुगा फुकालेर देखाइन्। तिमीसँग बिहे गर्न नपाए मेरा दुई सन्तानलाई मारिदिई मलाई घरबाट निकालिदिने रे। मैले सासुससुरा, नन्द, मेरो बुबाआमा, दाजुहरूलाई भनेँ। सबैजना तिम्रा प्रेमीदेखि डराउँछन्। माइतमा आएर बस भन्नुभयो मेरा माइतीले तर म माइत पनि नजाने, सम्बन्धबिच्छेद पनि नगरी छोराछोरीको भविष्यका लागि लडाइँ लड्ने निर्णय गरेर तिमीसँग बिहे गरााइदिन आएको हुँँ ।
म सौतेनी आमाको छाया समेत पर्न र बाबुले सौतेनी सन्तानलाई गरेको माया देखेर मेरा सन्तानको आँखामा आँसु देख्न सक्दिनँ । मैले मेरो श्रीमानसँग तिम्रो बिबाह गराइदिन्छु तर तिमीले जीवनभर आमा नबन्ने सम्झौता गर्नुपर्छ मसँग। मेरो आँखाबाट बलिन्द्र धारा बग्न थालेँ, विगत सम्झिएँ, सौतेनी आमाले कोच्याइदिएको दिसा सम्झिएँ, जुठो मिठाई सम्झिएँ, साहुनी र साथीका सुझाव सम्झिएँ, आजसम्म गुमाएको अस्मिता सम्झिएँ, अघि भर्खरको सपना,भोलिको बास र मरेकी आमा सम्झिएँ। म केही बोल्न सकिनँ मात्र रोएँ। उनले आफूसँगै ल्याएका तामो, तुलसी, गीताको किताब शिरमा राखेर सपथ खाएँ म आजीवन आमा बन्ने छैन, आमा बन्ने छैन। दिदी तपाईं त मसँग रिसाउनुभयो कि क्या हो भन्ने प्रश्नले म झसङ्ग भएर हाँस्ने चेष्टा गर्दै घरतिर दौडिएँ।