झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिकाका दुई वटा वडाहरुले आफ्नै नयाँ भवनबाट सेवा शुचारु गरेका छन् । वडा नम्वर ६ तोरवाङ नेटा र ४ नम्वर वडा बांगेमरोठले आफ्नै भवन बनाएका हुन् । हालै दुवै वडाका नवनिर्मित भवनहरुको उद्घाटन गरेर सेवा थालिएको छ । यसअघि वडा नम्वर ४ को कार्यालय साविकको बांगेमरोठ गाविस र ६ नम्वर वडा तोरवाङ गाविसको जिर्ण भवनबाट सेवा दिइरहेका थिए ।
गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी र जिल्ला सम्वन्य समिति प्यूठानका प्रमुख केशव आचार्यले भवनको उद्घाट गरे । अध्यक्ष जिसीले आफु निर्वाचित भएको तीन वर्षमा गाउँपालिका क्षेत्रमा विभिन्न विकास निर्माणका कामहरुसँगै सरकारी भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताए । गाउँपालिकाले तीन वर्षको अवधिमा सडक, बिजुली, खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई प्राथमिकता दिई काम गरिगरेको जिसीले बताए । कार्यकालमा पालिका भित्रका ८ वटै वडालाई सुविधा सम्पन्न र सबैको आफ्नो भवन निर्माण गर्ने योजनामा रहेको उनले सुनाए ।
वडा तथा गाउँपालिका भवन निर्माणका लागि स्थानीयले पनि निशुल्क जग्गा दिएर सहयोग गर्नुभएको छ, अध्यक्ष जिसीले भने,–‘सबैको साथमा हामीहरुले काम गरेका छौँ ।’ पालिका भित्र खरका छाना भएका नगरिकको घरमा जस्तापाता लगाउनका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपियाँ बजेट विनियोजन समेत गरेको उनले बताए ।
बिगत तीन वर्षदेखी मासिक ६ हजार रुपैँया बुझाई भाडाको भवनबाट काम गर्दै आएको वडा कार्यालयले आफ्नो भवन निर्माण गरेपछि काममा सहज हुने विश्वास लिएको वडाअध्यक्ष निमानसिंह जिसीले बताए । करिब ३ रोपनी जग्गामा उपभोक्ता समिति मार्फत हल सहित ४ कोठे भवन निर्माण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजित ६० लाख र स्थानीय जनश्रमदान ६ लाख ६३७ रुपैँया गरी ६६ लाख ६३७ रुपैँया लागतमा वडा नम्वर ४ बांगेमरोठको भवन निर्माण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजित ६० लाख र स्थानीय जनश्रमदान ६ लाख ६३७ रुपैँया गरी ६६ लाख ६ सय ३७ रुपैँया लागतमा कौछेटारीमा भवन निर्माण गरिएको वडाअध्यक्ष सिताराम पोख्रेलले बताए । ३ रोपनी जग्गा स्थानीय बेलकुमारी जिसी, कृष्णबहादुर केसी र ललित थापाबाट निशुल्क प्राप्त भएसंगै उक्त जग्गामा भवन निर्माण गरिएको बताए ।
पालिका भरका ८ वडा मध्ये पहिलो वर्ष वडा नं ५ मच्छीमा कार्यालय निर्माण गरिएको थियो । हालसम्म वडा नं १, वडा नं ३ र वडा नं ८ कार्यालय भाडाको भवनबाट सञ्चालन भईरहेका छन् भने वडा नं २, वडा नं ७ वडा कार्यालय साकिककै गाविस भवनबाट कार्यालयका नियमित कामकाज सञ्चालन भएका छन् । त्यस्तै गाउँपालिकाको प्रशासनीक भवन पनि निर्माणकै चरणमा छ । चालु आर्थिक वर्षको असारसम्ममा काम सम्पन्न हुने गरी अढाइ तले २२ कोठाको सुविधासम्पन्न सभाहल सहीत भवन निर्माण कार्य समेत सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
भवन उद्घाटनमा गाउँपालिका उपाध्यक्ष पवित्रा जिसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, कर्मचारी लगाएतको उपस्थिती थियो ।