कविता
ऊ आज सोचमग्न भएर बसेको छ
बाबुको चिरिएको कुर्कुचा
चिराफारा भएको इष्टकोट हेरेर टोलाउँछ
आमाको फरियाले लाज नछोप्ने अवस्था भएको देख्छ
कुमकुम टालेको बाउला विहीन चौबन्दी देख्छ
अभावमा छ्वर्षे बहिनी देउकी राख्न बेचेको सम्झन्छ
पोहोर दाइजोको निहुँमा जलेकी बहिनीको चीत्कार कानमा ठोक्किन्छ ।१।
ऊ अँध्यारोमा टोलाएर छटपटाएर रून थाल्छ
व्याजको स्याज,स्याजको प्याज जोडेर गैरीखेत साहुले खाएको सम्झन्छ
अनि
ऊ सपनाबाट ब्यूँझिएझैँ झस्याङ्ग भएर उठ्दै
तल्लोबारी साहुको नाममा नामसारी गरिदिन्छ
बाले थोता गिजा देखाएर पेटभरि हासेको
आमाले नयाँ फरिया फेरेर असी मुजा परेको
अनुहारमा उज्यालो देख्न चाहन्छ ।२।
तमसुक गरी लिएको पैसाले पासपोर्ट बनाइ
चराझैँ उडेर भतभती पोल्ने वालुवामा उज्यालो किरण देख्छ र टेक्छ
तरतरी पसिना बालुवामा चुहाउँदै ऊ खुसी हुन्छ
अब बाले गरिब भनेर गरिएको अपमान सहन पर्दैन
आमाले बोक्सीको आरोप खेप्न पर्दैन
बहिनीले मन्दिरमा बलात्कृत हुन पर्दैन
ऊ उज्यालो अनुहारमा फुरूङ्ग भइ काम गर्छ ।३।
साठी डिग्रीको तातोमा भोको पेटमा पनि खुसी हुन्छ
थप समय काम गरेर पैसा कमाउँछ
आफू फर्कँदा बाआमा,बहिनीको उज्यालो अनुहार सम्झन्छ
आफूलाई भित्रभित्रै भोक,रोगले खोक्रो बनाएर
रित्याएर अनि सकेर भएपनि
परिवारमा कहिल्यै ननिभ्ने दियोको उज्यालो छर्ने सपना देख्छ ।४।
ऊ अन्जान ठाउँको वालुमा घर बनाउँदै
समुद्रमा सूर्यको किरणले चम्किएको दृश्य हेर्दै
त्यस्तै उज्यालोको दीप परिवारमा बाल्न चाहन्छ
तर
अपसोच्
उसको दीपले उज्यालो नछर्दै झ्याप्प निभिदिन्छ
जब ऊ मात्र चार हातको बाकसमा बन्द भइ मातृभूमि उत्रिन्छ
उज्यालोको आशमा परदेसिएको यात्री आफैँ अँध्यारो बाकसमा फर्कन्छ
ऊ आफैँ अँध्यारो बाकसमा मातृभूमि उत्रन्छ ।५।