- अव गाउँमै १५ शैँयाको अस्पताल
प्यूठान : प्यूठानका चार वटा गाउँपालिकामा १५ शैँयाका अस्पताल निर्माण हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका माण्डवी, गौमुखी, नौवहिनी र ऐरावती गाउँपालिकामा अस्पताल बनाउन बजेट पठाएको हो । चार गाउँपालिकाका लागि एक÷एक करोडका दरले चार करोड रुपैयाँ बजेट निकासा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
माण्डवी गाउँपालिकाको देविस्थान स्वास्थ्यचौकी, गौमुखीको पूँजा स्वास्थ्यचौकी, नौवहिनीको लुङ र ऐरावतीको बरौला स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १५ शैँयाको बनाइने भएको छ । गाउँपालिकाको माग र भौगोलिक विकटतालाई प्राथमिकता दिएर जिल्लामा चार स्थानीय तहका स्वास्थ्यचौकीलाई अस्पतालको रुपमा विकास गर्न मन्त्रालयले बजेट पठाएको जनाएको छ । सवै गाउँपालिकाहरुले जग्गाको सुनिश्चता गरी मन्त्रालयमा माग गरेका थिए ।
माण्डवी गाउँपालिकाले देविस्थानमा रहेको स्वास्थ्यचौकी नजिकै रहेको यस अघिको सेवा केन्द्रको जग्गालाई उपयोग गरी अस्पताल बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले जानकारी दिए । ‘हालको स्वास्थ्यचौकीलाई यथावत राखी नयाँ स्थानमा अस्पताल बनाउने सोँच छ’,उनले भने,‘अस्पताल बनाउन धेरै पहल गरेका थियौँ, मन्त्रालयले बजेट पठाएपछि खुसी छौँ ।’
मन्त्रालयले तोकेको समयावधिभित्रै निर्माणको प्रक्रिया पुरा गर्ने गरी योजना तय भइसकेको माण्डवीका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले जानकारी गराए । उनका अनुसार कात्तिक महिनाभित्र निर्माण प्रक्रिया शुरु गर्न मन्त्रालयले भनेको छ । प्रचलित कानुन, स्वीकृत मापदण्ड, निर्देशिका र राष्ट्रिय भवन संहितामा रहेर अस्पताल बनाउन मन्त्रालयले गाउँपालिकाहरुलाई आग्रह गरेको छ ।
तोकिएको मापदण्ड अनुसार १५ शैँयाको अस्पताल बनाउनका लागि साढे नौ रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए । उक्त मापदण्ड अनुसार हाल रहेको बरौला स्वास्थ्यचौकीमा जग्गा नपुग्ने भएकाले नजिकै रहेको कृषि सेवा केन्द्रको जग्गा उपयोग गर्ने तयारी गरिएको शाहले बताए ।
सेवा केन्द्रको १० रोपनी क्षेत्रफल जग्गा छ । ‘बरौला स्वास्थ्यचौकीमा ५ रोपनी मात्र जग्गा छ’,उनले भने,‘कृषि सेवा केन्द्रको जग्गा प्रयोग गर्छौ ।’ उनले अस्पताल निर्माणका लागि मन्त्रालयबाट बजेट निकासा हुँदा उत्साहित भएको सुनाए । गुणस्तरीय स्वास्थ्य सेवा लिनका लागि गाउँपालिका क्षेत्रका नागरिक जिल्ला अस्पताल सहित शहरका अस्पतालमा जानुपर्ने बाध्यता रहेको उनले सुनाए । गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्यचौकी र तीन वटामा सामुदायिक स्वास्थ्य इकाई संचालन गरिएको उनले बताए ।
जिल्लाको विकटमध्ये गौमुखी गाउँपालिका पनि एक हो । यस गाउँपालिकाले नागरिकलाई गाउँमै चिकित्सक सहितको सेवा दिने उद्देश्यले कोरोना महामारीकै बीचमा पुँजा स्वास्थ्यचौकीमा एक जना एमविविएस डाक्टर करारमा राखेको छ । सोही स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी अस्पताल बनाउन मन्त्रालयले बजेट निकासा गरेपछि नागरिकहरु उत्साहित छन् । हालकै पूँजा स्वास्थ्यचौकीलाई अस्पताल बनाउने गरी योजना अघि बढिसकेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । ‘बहुवर्षिय योजना अनुसार भवन निर्माण हुन्छ’,उनले भने,‘मन्त्रालयले तोकेको समयमै निर्माण पुरा हुन्छ ।’
मन्त्रालयले नौवहिनी गाउँपालिकाको लुङ स्वास्थ्यचौकीलार्ई स्तरोन्नती गर्ने भनिएतापनि वडा नम्वर ६ स्थित लुङकै माक्रेमा अस्पताल निर्माण गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले जानकारी गराए । ‘जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको छ’,उनले भने,‘एक÷दुई दिनमा गाउँपालिकाको नाममा जग्गा आइसक्छ ।’
प्यूठानमा अस्पतालमा मात्र सिमित १५ शैयाँका अस्पताल जिल्लाका गाउँहरुमा पुग्न थालेपछि जिल्लाका नागरिकहरुले गाउँमै चिकित्सकीय सेवा पाउने छन् । हाल जिल्ला अस्पताल समेत १५ शैँयाकै छ । प्यूठान अस्पताललाई स्तरोन्नती गर्ने योजना अँधुरै छ ।