बुटवल : रुपन्देहीको सैनामैना वा कपिलवस्तुको चार नम्बर क्षेत्रमा प्रदेश ५ को राजधानी बनाउने विषयमा नेताहरु ढुक्क भइरहेका बेला मुख्यमन्त्री शंकर पोखरेलले दाङको भालुवाङ प्रस्ताव गरे । उनकै क्याबिनेटका मन्त्री बैजनाथ चौधरी, सुदर्शन बराल र लिला गिरीले त्यतिञ्जेल सुँइकोसमेत पाएका थिएनन् ।
मुख्यमन्त्री पोखरेललाई राजधानी प्रस्तावका लागि लुम्बिनी क्षेत्रबाट एकाध नेताले सघाउने बचन दिए । त्यसकै आडमा राप्ती किनारको भालुवाङ राजधानी प्रस्तावित गरिएको छ । त्यसरी सघाउने एक नेता थिए, संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल ।
रुपन्देही क्षेत्र नम्बर ५ (क)बाट चुनाव जितेका ढकाल विवादास्पद नेता हुन् । आर्थिक विकृतिमा रमाइरहने उनको घरमा विप्लव नेकपाले बम आक्रमण गरेको थियो । उनी घरमा थिएनन्, उनी चढ्ने सरकारी गाडीमा क्षति पुग्यो । विप्लव नेकपाले भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध आक्रमण गरिएको जनाएको थियो ।
जग्गा व्यापारमा लागेका ढकालले टिकट पाएपछि कांग्रेसका कमजोर उम्मेदवार पन्छ्याउँदै विजयी बने । अनि मुख्यमन्त्री पोखरेलको नजिक रहेर प्रमुख सचेतकको पद् पड्काए । अहिले उनलाई मन्त्रीको प्रलोभन दिइएको र त्यसैमा राजधानी दाङ लैजान सहमत भएको बताइएको छ । उनी आफैले यसलाई अस्विकार गर्छन् । सुरुमा टिकट पाउन महासचिव विष्णु पौडेलको पक्षमा लागेका भूमिश्वर गुट परिवर्तन गर्दै पोखरेलको निकट पुगेका छन् ।
संसदीय दलको शनिबारको बैठकपछि पत्रकारसँग बोल्दै उनै ढकालले पहिले रुपन्देही भनेर मत मागे पनि अहिले दाङ राजधानी लैजानु सान्दर्भिक भएको तर्क दिए । रुपन्देहीमा राजधानी बनाउने प्रतिवद्धताले भोट पाए पनि उनले जनतालाई धोका नदिएको जिकिर गरे । नेकपाका असन्तुष्ट सांसदलाई पनि ढकालले नै विभिन्न आस्वासन दिएर राजधानी भालुवाङ कायम गर्ने निर्णयको विरोधमा नलाग्न मनाएका छन् ।
ढकाल पटक पटक विवादमा आएका छन् । ढकालकै कारण प्रदेश सरकार गाडी काण्डमा फस्यो । प्रदेश सरकार र प्रदेशसभाले दुई वर्षअघि १४ वटा टाटा स्ट्रोम गाडी खरिद गरे । त्यो गाडी खरिदमा ढकालले चलखेल गरेर आफ्नै कम्पनी सफल अटोबाट गाडी खरिद गराए । त्यो पनि बजार मूल्यभन्दा झण्डै ५ लाख बढी मूल्यमा । उनले त्यो बढी मूल्य कमिसनका रुपमा लिएको आरोप छ । सार्वजनिक लेखा समितिले छानबिन गरेर प्रदेश सभाका गाडीको बढी रकम नदिन निर्देशन दियो । ६८ लाख पर्ने गाडीलाई उनले ७२ लाखमा किनाएका थिए ।
टाटा स्ट्रोम गाडी नेपाली भूगोलमा फेलर भइसकेको थियो । बिक्री नभएर थन्किएका गाडी प्रदेश सरकारलाई खरिद गराउन उनी सफल भएका थिए । तीनै गाडी मर्मतमा प्रदेश सभाले मात्रै १८ महिनाको अवधिमा ६० लाखभन्दा बढी खर्च गरेको छ ।
भालुवाङ आसपासमा जग्गा कारोबार, अर्थ तथा योजनामन्त्री बन्ने लोभ
मुख्यमन्त्री पोखरेलले समितिको सिफारिविरुद्ध भालुवाङमा राजधानी बनाउनेगरी प्रस्ताव तयार पार्दाका सहयोगी ढकाल हुन् । संसदीय दलको प्रमुख सचेतक भएकाले पोखरेलले यो विषयमा धेरै पहिल्यै ढकालसँग छलफल गरेका थिए । एक सांसद भन्छन्, ‘मुख्यमन्त्रीजीले उहाँलाई पहिल्यै आफ्नो पक्षमा पार्नु भएको रहेछ । मुख्यमन्त्री आफैले राखेको अर्थ तथा योजना मन्त्रालय पाउने लोभका कारण आफ्नो चुनावी एजेण्डा उहाँले बिर्सनु भयो ।’
मुख्यमन्त्री पोखरेल पनि आफूलाई दार्शनिक नेताको रुपमा व्याख्या गर्ने र व्यवहार ठिक विपरित भएका नेता हुन् । पार्टी एकताका लागि आफूले मुख्यमन्त्री छाड्ने भन्दै समाचार लेख्न लगाएका पोखरेलले आफ्नै पार्टीका नेताहरुलाई विश्वास नगरेर अर्थ तथा योजना मन्त्रालयसमेत आफैसँग राखेका छन् । नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पद, परिवार र पैसा भनेपछि पोखरेलका सबै दर्शन आइहाल्छन् । श्रीमती संघीय सांसद, आफू मुख्यमन्त्री, पार्टीको प्रदेश इन्चार्ज, स्थायी कमिटी सदस्य भएर मात्र नभएर अर्थ तथा योजना मन्त्रालय पनि आफैसँग राखेर आदर्शको गफ राम्रोसँग उहाँलाई आउँछ । नेताहरुको कृपाले गर्दा उहाँको राजनीतिक व्यापार फलेकै छ ।’
पछिल्लो पटक ढकालले भालुवाङ राजधानी लैजानुका पछाडी आफ्नो जग्गाको मूल्य बढाउनु रहेको आरोप एक नेताले लगाएका छन् । ती नेता भन्छन्, ‘उहाँ पैसा भनेपछि जे पनि गर्न तयार नेता हो । पहिले पनि जग्गाको कारोबारी भएकाले उहाँलाई अहिले ठूलो मौका आयो । पहिल्यै सूचना पाउने ठाउँमा पुगेकाले उहाँले भालुवाङ आसपासमा अरुकै नाममा जग्गा किनेको भन्ने छ । त्यसैले उहाँ राजनीतिक व्यापारी हो । गाडीमा पनि उहाँले अनियमितता गर्नु भएकै हो ।’
भूमिश्वरको बाल्यकालदेखि संगत गरेका नेकपाकै एक नेता भन्छन्, ‘भूमिश्वरले नाम अनुसारको काम गरिरहेका छन् । नामै भूमिश्वर त्यसैले जग्गा जमिनमा आँखा लाग्ने नै भयो । उनले व्यापारका लागि जुनसुकै कुरा गर्न पछि पर्दैनन् । त्यसैले यो नयाँ कुरा भएन । फाइदा हुने अवस्थामा गुटमात्र होइन उनले पार्टी नै परिवर्तन गर्न सक्छन् ।’ -नागरिकखवर डटकमबाट साभार ।