प्यूठान : बगैचामा हाँगा छोपेर ढकमक्क फुलेका छन रङ्गिन फूलका थुंगाहरु । हेर्दा मनै लोभ्याउने बगैंचा । जहाँ थरी थरीका फूलहरु फूलिरहेका छन् । ती फूलको सुगन्ध परबाटै महशुस हुन्छ । ढकमक्क फूलेका फूललाई जसले जतनका साथ जोगाइराखेका छन् । चारैतिर झिलीमिली देखिने यस फूलबारी दुई महिलाहरुको हो । सामूहिक रुपमा उनीहरुले रोपेको फूल यतिबेला जुम्री क्षेत्रको विशेष शोभा नै बनेका छन् ।
केही बर्ष अघि सम्म गाउँ–गाउँमा सयपत्री ढकमक्क फूलेका देखिन्थे । बर्षेनी तिहारमा आफ्नै घर–आँगन, बारी, कान्लामा तिहारकै लागि भनेर फूल रोप्ने परम्परा थियो । त्यसयता सयपत्री यतिसम्म मासिएको थियो कि, तिहारमा प्राकृतिक फूलको माला नपाएर प्लाष्टिकको माला लगाउनु पर्ने बाध्यता प्यूठानबासीलाई थियो । तर, यसवर्षको तिहार अघि नै फूल तयार भयो । केही वर्ष यता प्यूठानमा फूलको व्यवसायीक खेती हुँदै आएको छ । भनिन्छ, ‘तिहार फूलै फूलको पर्व हो ।’
घर सजाउन मात्र होइन तिहारभर फूलै चाहिन्छ । यतिबेला जताजतै फूलकै माहोल छ । प्यूठान नगरपालिका ४ जुम्रीबजार निवासी राधा अधिकारी र रेखा खत्रीलाई अरु बेला जस्तो फूर्सद छैन । उनीहरुलाई फूलबारीका फूल टिप्न, माला बनाउन भ्याईनभ्याई छ । फूलको हेरचाहमै उनीहरुको दिन बित्यो । दुवै जनाले पुष्प व्यवसायलाई सम्भावनाको पेशाको रुपमा चिनाएका छन् ।
कम लगानीमा धेरै आम्दानी हुने भएकाले ब्यवसायीक फूलखेती गरेको अधिकारीले बताइन् । ‘प्यूठानमा यो ब्यवसायको सम्भाबना राम्रो छ’ उनले भनिन् । भाडामा लिएको पाँच रोपनी क्षेत्रफल जग्गामा ४०–४५ थरिका फूलहरु फूलेका छन् । घरको वरिपरि र बारीका कान्लामा फूल रोप्न जिल्ला बाहिरबाट विरुवा किन्न बाध्य भएका उपभोक्ता जिल्लामै पुष्प खेतीपछि हौसिएका छन् । उनीहरुलाइ यसपालीको तिहारमा फूलको चिन्ता भएन ।
कमाइ मासिक करिव ४५ हजार
हिजोआज प्यूठानका ठुला सभा समारोह एवं सार्वजनिक कार्यक्रमहरुमा बजारका खादा भन्दा मालाको माग बढ्दो छ । पुष्पखेतीबाट समेत किसानहरुले बजार राम्रो पाएका छन् । ‘फूल खेतीबाट राम्रै आम्दानी भएको छ’, रेखाले भनिन,‘गत बर्ष फूल र बेर्ना बेचेर एक लाख आम्दानी गर्यौं ।’ यसपाली फूल बेचेर ४० देखि ४५ हजार रुपैयाँ सम्म कमाई हुने उनको भनाइ छ । खेतीलाई बिस्तार गर्न प्यूठान नगरपालिकाले एक लाख २५ हजार र प्रदेश सरकारले चार लाख रुपैयाँ उनीहरुलाइ अनुदान दिएको छ । गत बर्ष फूलको माग धान्न नसकेपछि व्यवसाय बिस्तार गरेर उनीहरुले यसको व्यवसायीक यात्रा थालेका हुन् । तिहारका लागि चाहिने माला तयार गर्न उनीहरु असारदेखि नै फूलको बिउ रोप्न थाल्दछन् ।