- पोखरेलको पहलमा जुट्यो ४ लाख
प्यूठान : नौवहिनी गाउँपालिका खवाङकी दुर्गा गिरीले प्यूठान नगरपालिका ८ बाग्दुलामा एउटा छाप्रो बनाएर दि गिरी होटल संचालन गर्दै आएकी थिइन् । जसोतसो जीवन धान्ने र सन्तानको पढाइलेखाइको जोहो गर्न उनी श्रीमानसँगै होटल संचालन गर्दै आइरहेकी थिइन् । पैसा कमाउन नसकेपनि छोराछोरीको पढाईलेखाइ र जीवन गुज्रिरहेकै थियो । तर, बिडम्वना असार २० गते उनको श्रीमानसँग झगडा प¥यो । सामान्य झगडामै श्रीमानले दुर्गालाई चक्कु प्रहार गरे । तरकारी काट्ने चक्कुले श्रीमतीलाई हानेपछि दुर्गालाई गहिरो चोट लाग्यो । फोक्सोमै असर पर्नेगरी चोट लागेपछि दुर्गालाई उपचार गर्न जिल्ला बाहिर लैजानुपर्ने बाध्यता भयो ।
जसोतसो छिमेकी र आफन्तले सहयोग गरेर उनलाई प्यूठान अस्पतालबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेज पु्याइयो । उपचारपछि केही दिनमा दुर्गा घर फर्किइन् । तर, फोक्सोलाई असर पर्नेगरी लागेको घाउ निको भएन् । झनपछि झन बल्झिदै गयो । भित्रभित्रै पाक्न थाल्यो । पिप आएन थालेपछि नाबालक छोराछोरी आमाको पीडा देखेर छट्पटिन थाले । श्रीमतीलाई चक्कु प्रहार गरेका श्रीमान ज्यानमार्ने मुद्दामा थुनामा छन् । दुर्गालाई उपचार गरी बचाउँनका लागि कम्तीमा पनि ८÷१० लाख रुपैयाँ खर्च गर्नुपर्ने छ । त्यतिधेरै पैसा उठाउने कसरी ? ती नाबालक छोराछोरीको आँखामा आँशु मात्र बग्छ । दिनहुँ आमाको अवस्था देखेर उनीहरु छटपटिन्छन् ।
दुर्गालाइ बचाउँने अभियानमा प्रमोद
दुर्गाले टहरोमा संचालन गरेको होटल नजिकै बाग्दुलामा प्रमोद पोखरेलको घर छ । दुर्गासँग पोखरेलको न त पारिवारिक न त अरु कुनै सम्वन्ध छैन् । तर असल छिमेकी र मानवता हुनुको नाताले उनमा दयाँ पलायो । र, अभियानै बनाएर लागे ‘दुर्गा बचाउँ अभियान’ । उनले सामाजिक सञ्जालमा जोडिएका साथीसँगी र भेटघाट हुने सवैसँग दुर्गा गिरीलाई बचाइदिन अपिल गरे ।
उनको आग्रहलाई सवैले नभएपनि धेरैले स्वीकार गरे । र, अहिलेसम्म चार लाख रुपैयाँ जुटेको छ । गिरीको अहिले मनमोहन मेडिकल कलेज काठमाण्डौँमा उपचार भइरहेको छ । उनमा बाँच्ने आशा थोरै भएपनि पलाएको छ । उपचारमा लाग्ने पुरै खर्च अझै जुटिसकेको छैन् । ‘मानवीय नाताले दुर्गाको जीवन बचाउने अभियानमा जुटेको हुँ’,अभियानकर्ता पोखरेलले भने,‘धन सम्पत्ति हुनेले थोरैधेरै जतिसक्नुहुन्छ सहयोग गर्नुहोस्, तपाइहरुको सानो सहयोगले उहाँको जीवन जोगिन सक्छ ।’ सामाजिक क्षेत्रमा क्रियाशिल पोखरेल व्यवसायी, राजनीतिकर्मी र पुराना पत्रकार पनि हुन् ।
आमाको अवस्थाले अध्याँरोतिर ढल्किदै गएको नाबालक छोराछोरीको भविष्यलाई उज्यालो बनाउनका लागि सवैले सहयोग गरिदिन पोखरेलले आग्रह गरेका छन् । छोरा डोरमान गिरीले आमालाई पुरानै अवस्थामा फर्काउनका लागि सहयोग गरिदिन अपिल गरे । दुर्र्गाको मनमोहन मेमोरियल अस्पतालको शैया नम्वर २०६ मा उपचार भइरहेको छ ।
सहयोगी मन भएकाहरुका लागि :
छोरा डोरमान गिरीको खाता नम्वर, ०६३००६००४८४७११०००००१ (महालक्ष्मी विकास बैंक, काठमाण्डौँ)