सेतो सर्ट, निलो पाइन्ट र छालाका जुत्ता लगाएर हिडिरहँदा
धेरै मानिस सेतो सर्टमा हिलो छ्यापिरहन्छन् र भन्छन् –
कालो मन छ सेतो सर्ट भित्र यिनीहरुको
दिमागमा सेवा भाव होइन मात्र धन छ
यी भ्रष्टाचारी हुन्, काममा ढिला सुस्ती गर्नेहरु हुन्
के को राष्ट्र सेवक हुनु, राष्ट्रघाती पो हुन् ।
लोकसेवामा असफल भएपछि राजनीतिमा सफल नेता
करोडौ खर्च गर्छ र चुनाव जित्छ, मन्त्री बन्छ
दर्जनौं कार्यकर्ताको सूची ल्याएर
नियुक्तिको लागि कर्मचारीलाई उठाउन लगाउँछ टिप्पणी
अनि भन्छ–समृद्धिको लागि कर्मचारी बाधक बने ।
ठेकेदारले बनाएको बाटो गाडि नगुड्दै भत्कन्छ, अनी उसैले भन्छ–
कर्मचारीहरु भ्रष्ट भए, देश बिगारे ।
व्यापारी भन्सार ठगीको योजना बनाउँदा बनाउँदै रातभर निदाउदैन
बिहान उठेपछि उसले भन्न थाल्छ–
देश बिगार्ने कर्मचारी हुन्, काम नै गर्दैनन् ।
आइ. एन्. जि. ओ., एन्. जि. ओ. वालाहरु
लाख तलव खाँदा हजारको काम गर्दैनन्
तैपनि भन्छन्– कर्मचारीतन्त्र भ्रष्ट छ, यही जागिर ठिक ।
दलहरुलाई उपभोक्ता समितिमा समेत भागवण्डा गर्नुपर्छ
तिनै सारा मानिसहरु आफुलाई साधु ठान्दछन्
कर्मचारीलाई भ्रष्ट र चोर मान्दछन् ।
गाह्रो छ हजुर सेतो सर्टको इज्जत धान्न, बहुत गाह्रो छ
सरकारले दिएको खानुपर्छ, भनेको मान्नु पर्छ
अलिकति चल्दो फुर्दो हुन नेताको लंगौटी बन्नु पर्छ
कहाँ सजिलो छ र मासिक तलव खान पनि
नेता कलाकारले जस्तो कहाँ ताली खान पाउनु
दुनियाको गालि खाए पछि मात्र तलव खान पाइन्छ
तलवले पनि खान पुगे पो खाने भन्नु चाख्न पाइन्छ ।
गाह्रो छ हजुर सेतो सर्टको इज्जत जोगाउन
दायाँ बायाँ नगर्ने इमान्दारहरुलई परिवारदेखि समाज सबैले हुतिहारा भन्न थाल्दछन्
तिनै कलंकहरुले समाज र राजनीतिको गोटी चाल्दछन् ।
सेतो सर्ट भित्र सेतो मन भएका मान्छेहरु पनि छन्
सबै कालै मन भएकाहरु छैनन्
विलासी महल र चिल्ला गाडिका
सपना नदेख्नेहरु पनि छन्
सेतो सर्टको इज्जत जोगाउँ
ढिलासुस्ती र भ्रष्टाचार हटाउँ भन्ने मन्त्र बोकेका मानिसहरु पनि छन्
आफुलाई जनताको सेवक मान्नेहरु पनि छन्
आफुलाई जनताको मालिक मान्नेहरु पनि छन्
सेतो सर्ट शान र मानको प्रतिक बन्नु पर्ने हो
कर्मचारीले जनताका सेवक हौ भन्नु पर्ने हो
लोकसेवा पास गर्न भन्दा जागिर खान झने गाह्रो छ हजुर
नाक जोगाउन र शिर ठाडो पार्न महाभारतको युद्ध लड्नु पर्छ
ठर्रा र जागिर उस्तै उस्तै हो हजुर
हरेक घुड्कामा मुख विगार्नु पर्छ,
तैपनि खान मन लागिरहन्छ ।