- भाई हिमालले मृगौला दिन तयार छन् तर प्रत्यारोपण गर्ने उपाय छैन् ।
प्यूठान : घरका मात्र होइन्, गाउँकै टाठाबाठा । सहयोगी मन भएका । दुःखी पीडितलाई जहिल्यै दयालु मनले हेर्ने । भोका नांगा देख्यो की दुई चार पैसा सहयोग गरिहाल्ने । तर, यो सबै आफू स्वस्थ्य र हिडडुल गर्न सक्दासम्म मात्र हो रहेछ । जव आफू कमजोर र रोगले थला पर्दै गइन्छ त्यसपछि सवै विरानो बन्दै जाने रहेछ । प्रकाशको जिन्दगीमा पनि यस्तै हुनगयो ।
झिमरुक गाउँपालिका ४ बांगमेरोठ प्यूठानका ३५ वर्षिय प्रकाश जिसीले दुई वर्ष अघि ३३ वर्षकै उमेरमा जव अस्पतालबाट दुवै मृगौला फेल भएको रिपोर्ट थाहाँ पाए त्यसपछि उनका सवै सपना अस्पतालकै बेडबाट चकनाचुर बने । लाउँलाउँ र खाउँखाउँको उमेर छ । जीवनमा गर्नुपर्ने धेरै छ । घर परिवारलाई राम्रोसँग ‘सेटलमेन्ट’ गरेपछि समाज सेवामा लाग्ने उनको सपना सपनामै सिमित रहयो ।
अहिले उनी दुई वर्षकी छोरी र श्रीमतीको मलिन अनुहार हेरेरै दिन भुलाउन बाध्य छन् । हप्तामा दुई दिन मृगौलाको डायलासिस गर्नुपर्ने छ । कम्तीमा पनि पाँच÷सात हजार हप्तामा खर्च हुन्छ । ‘नियमित डायलसिस गर्नै गाह्रो हुनथाल्यो’,प्रकाशले भने,‘ऋण खोज्ने ठाउँ पनि छैन्, डाक्टरले बाँचुन्जेल डायलसिस गर्नुपर्छ भनेका छन् कसरी गर्नेहोला ?’ बुटवलस्थित सिद्धार्थ सिटी हस्पिटलमा उनले डायलसिस गरिरहेका छन् ।
पैसा हुनेले मृगौला प्रत्यारोपण गरेर पनि नयाँ जीवन पाएका छन् । तर, उनको जीवनमा यो पैसाकै कारण सम्भव देखिएन् । भाई हिमाल जिसीले मृगौला दिन तयार भएपनि प्रत्यारोपण गर्न पैसा नभएपछि उनी दुई वर्षदेखि ओछ्यानमै थलिएका छन् । जिसीले भेट्न आउने जो कसैलाई आफूलाई बचाउँन हारगुहार गरिरहेका छन् । सामाजिक सञ्जालमा आफूजस्तै पीडामा परेकाहरुले नयाँ जीवन पाएको खवर सुन्दा थोरै भएपनि उनमा बाँच्ने आशा पलाएको छ । तर, यसको अगुवाई गर्ने कोही नभेटिदा उनले जीवनबाट आशा मारेका छन् ।
आफूले नयाँ जीवन पाउनसके के कारणले मृगौला फेल हुन्छन्, भन्ने जनचेतना चिकित्सकहरुको सल्लाहमा गाउँगाउँमा फैलाउँदै हिड्ने उनको चाहना छ । ‘डाक्टरहरुले मृगौला फेल खानपान नमिल्दा हुने बताउनुभएको छ’,जिसीले भने,‘यदि नयाँ जीवन पाएछु र हिड्डुल गर्न सक्ने भएछु भने मलाई जस्तो अरुलाई नहोस् भन्नका लागि चेतना फैलाउने मन छ ।’ तर, यी सवै चाहना मनमै सिमित रहने देखिएपछि निराशामा उनले दैनिकी भुलाइरहेका छन् ।
दुई वर्षसम्म जसोतसो डायलसिस गर्दै आएपनि अव नियमित डायलसिस गर्न संभव नदेखिएको उनले बिलौना पोखे । ‘नसोँचेकै रोगले भेटायो’,जिसी भन्छन्,‘अवको जीन्दगी भगवान भरोसामा वित्ने त होला ।’ मृगौला प्रत्यारोपण गर्दा सरकारले शल्यक्रियाको खर्च निःशुल्क गरिदिने भएपनि बाँकी लाग्ने १२ देखि १५ लाख रुपैयाँ जुटाउने कुरा उनलाई सपनाजस्तै लागेको छ । प्रत्यारोपण गर्ने पैसा जुटाउन सके जिसीले नयाँ जीवन पाउनेछन् ।
आमाको पाँच वर्ष अघि क्यान्सर भएर मृत्यु भएको जिसीले बताए । जीवनबाट हरेश खाइसकेका जिसीलाई हुँर्कदै गरेकी दुई वर्षकी छोरी, बृद्ध बुवा, भाई र श्रीमतीको भविष्यको चिन्ताले झनै पिरोलेको छ । २७ वर्षिय श्रीमती उमा जिसीले श्रीमानलाई बचाइदिन आग्रह गरेकी छन् । उनी हाल शिवपुर नगरपालिका ५ चन्द्रौटामा बस्दै आएका छन् ।