गुल्मी : प्राविधिकहरुको व्यस्तता र थप उपकरण जडानका लागि गुल्मी ल्याइएको पिसिआर मेशिन काठमाण्डौँ लगिएको छ । मेशिनका लागि आवश्यक पर्ने थप उपकरण जिल्लामै जडान गर्न सम्भव नदेखिएपछि काठमाण्डौँ लगिएको गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पाच्याले जानकारी दिए । मेशिन केही दिनभित्रै उपकरण जडान सकाएर जिल्ला ल्याइने उनले बताए । ‘मेशिन नचलाउने गरी फिर्ता पठाइएको होइन्’,पाच्याले भने,‘अपुग भएका उपकरण जडानका लागि मात्र पठाएका हौँ ।’
उनले मेशिन जडानका लागि काठमाण्डौँबाट प्राविधिकहरुको टोली आएपनि थप उपकरण नहुँदा सहज जडानका लागि पठाइएको बताए । केही समय ढिला भएतापनि जिल्लामै पिसिआर परिक्षण हुनेमा विश्वस्त रहन उनले जिल्लावासीलाई आग्रह समेत गरे ।
परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधीसभा सदस्य प्रदिप ज्ञवालीको पहलमा गत साउन ३ गते पिसिआर मेशिन गुल्मी ल्याइएको थियो । मन्त्री ज्ञवाली नै उपस्थित भएर रेसुंगा नगरपालिकालाई उक्त मेशिन हस्तान्तरण गरेका हुन् ।
मेशिन संचालनका लागि जिल्लाका सवै स्थानीय तहले आर्थिक सहयोग जुटाउने सहमती भएको छ । रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले पिसिआर मेशिन संचालनका लागि भौतिक संरचना निर्माणको काम तिव्र रुपमा अघि बढिरहेको बताए । उपल्लो तम्घासमा रहेको साविकको महिला तथा बालवालिका कार्यालयको भवनलाई आइशोलेसन बनाइएको छ । आइशोलेसनलाई चिदीचौरमा रहेको महेन्द्र मावीमा स्थानान्तरण गरी सोही भवनमा पिसिआर मेशिन राख्ने तयारी भइरहेको समेत गौतमले बताए । पिसिआर मेशिन खरिद बाहेक अन्य उपकरण खरिद गर्न करिव ४० लाख रुपैयाँ खर्च लाग्ने उनको भनाई छ ।
जिल्लाबासीको सेवाका लागि ल्याइएको मेशिन संचालन भएरै छाड्ने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका प्रमुख स्वकिय सचिव जंग नेपालीले बताए । ‘मेशिन जडान गर्न काठमाडौँबाट प्राविधिक सहतिको टोली लिएर गृह जिल्ला आएको थिए’,उनले भने,‘जडान गर्ने क्रममा सफ्टवेयरमा समस्या देखिएपछि प्राविधिकको सल्लाहमा काठमाण्डौँमै लैजानुपर्ने अवस्था आएको हो ।’ केही दिनमै जडानको काम सकेर जिल्लामा मेशिन लैजाने उनले बताए ।
जिल्लामै पिसिआर परिक्षण भएपछि गुल्मी सहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, प्यूठान र स्याङजाका नागरीक लाभांवित हुनेछन् । हाल पिसिआर परिक्षणका लागि जिल्लाबाट प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव पठाउने गरिएको छ ।