समयले निकै कोल्टे फे¥यो । विभिन्न व्यवस्था फेरिए । राणाशासनको कालरात्री हट्यो । पञ्चायती व्यवस्थाको पर्खाल गल्र्यामगुर्लुम्म ढल्यो । मियो गाडेर बसेको राजतन्त्र ढल्यो । गणतन्त्रको पिलर गाडियो । प्रगतिवादी भनाउँदाहरुको चुरिफुरि पनि देखियो । अग्रगामी कहलाउँदाहरुको शासन व्यवस्थाको स्वाद पनि मज्जाले चाखियो । मै हुँ भन्नेहरुको शासन व्यवस्थाको करामत पनि देखियो । युद्धको धक्काले छुत प्रथालाई रफ्फुचक्कर गर्छौ भन्ने ठेकेदारहरुको मनोवृति, जीवनशैली र व्यवहारलाई पनि मज्जाले नियालियो । न्यायलयका ढड्डाहरुमा कैयौं मसीहरु खुइलिए । खोलाहरुमा निकै पानी बग्यो । ठुलाठुला हावाका तुफानहरु पनि चले । भुकम्पले धरती क्षतविक्षत पा¥यो ।
थुप्रै नदीहरुले आफ्ना बहावहरु बदले । झुपडीहरु गगनचम्बी महलमा परिणत भए । मानिसको दैनिकीमा कायापलट भयो । कुना कन्दराहरु शहरमा परिणत भए । सञ्चार माध्यमले विश्व कोठामा सीमित भयो तर मानिसको जातीय मनोविज्ञान बदलिएन ; कथित दलितका समस्या ज्युँ का त्युँ नै छन् । विश्व आज मङ्गलग्रहमा बस्ती बसाउने होडबाजीमा छ; अर्को नयाँ संसारको खोजीमा तल्लीन छ । दिनहुँ आश्चर्यजनक आविष्कार भइरहेका छन् तर कठै ! हामी नेपाली र हाम्रो मनोविज्ञान । दलितका समस्या समाधानका लागि बार बार प्रयास गरिए झैं पनि नदेखिएको होइन ।
पटक पटकका संविधानका भित्रि कापमा छुत प्रथाको अन्त्यका लागि कानुनी खेस्रा पनि कोरिएकै हुन् । दण्ड सजायका मापदण्डको मञ्चन पनि गरिएकै हो । ठुलाठुला भाषणको वर्षा पनि सुनिएकै हो । बोक्नै नसकिने आश्वासन पनि पाएकै हो । विभिन्न एन.जिओ र आइएन. जिओको लस्करको रमिता पनि हेरेकै हो । तर के गर्नु खोक्रो आदर्शले मात्र समाजका दुषित तत्वहरु रफ्फुचक्कर हुँदा रहेनछन् । विश्वले कहाँबाट कहाँ अग्रगामी छलाङ्ग मारिसक्यो तर हाय ! हामी यो छुत ऊ छुत, यो धर्म र त्यो धर्म, यो पार्टी र त्यो पार्टी, यो समूदाय र त्यो समूदाय आदिआदि कुराहरुको भुमरीमै रुमल्लिरहेछौं । यो सतिले सरापेको देशमात्र होइन जातीय विभेदका कारण कथित दलितहरुले सरापेको देश पनि हो । मान्छेले मान्छेलाई अपपहेलना गर्ने जाति, धर्म, वर्ग र समूदायमा रुमल्लिएका हामी के साँच्चै मान्छै नै हौं त ? के मान्छेभित्रको मनुष्यत्व यस्तै हुन्छ त ?
हुन त बेला बेलामा केही परिवर्तनका झिल्का झिल्की पनि नदेखिएका होइनन् । नबद्लने समाजलाई धक्का दिएर बदल्ने प्रयास पनि भएकै हुन् । लामा लामा सिद्धान्त, व्यवहार र आदर्शका पाठ पनि पढिएकै हो तर ती सबै प्रयासहरु बालुवामा पानी खन्याए झैं छिद्रहरुमा कता विलाएर गए कता !
बेला बेलामा हाम्रो समाजमा मानव हुनुका नाताले मानवीय व्यवहार भएका मानिसहरुको जन्म पनि नभएको होइन । त्यस्तै एक अनुकरणीय आदर्श हेडमास्टर हुन् कुम्बीर डाँगी क्षेत्री । हिजोका दिनभन्दा आजका दिनमा कथित दलित समूदायको कालरात्रीमा मिरमिरे उज्यालोको सङ्केत ल्याउनमा यी र यस्तै व्यक्तिको अह्म भूमिका छ । असल सामाजिक योगदानको मुल्यको लेखाजोखा ठुलाबडाको मात्र होइन सानाको पनि गरिनु जरुरी छ । रुकुम चुन्बाङको चोरबाटोमा हर्कबहादुर डाँगीको जेष्ठ पुत्रकारुपमा जन्म पाएका कुम्बीर डाँगीको आँफुलाई चित्त नबुझेको कुरामा सदैव विद्रोह गर्ने स्वाभाव छ ।
२०३३ सालदेखि २०४९ सम्म विभिन्न विद्यालयमा सफल हेडमास्टरको भूमिका निभाएका कुम्बीर डाँगीले आफ्नो क्षेत्र र विशेष गरेर विद्यालयहरुमा बुलन्दरुपमा छुत प्रथाको विरुद्धमा आवाज उठाउने र व्यवहारमा लागू गर्ने कार्य गरेका थिए । उनलाई यस्तो चिन्तनको विकास एकजना पुलिस जागिर गर्ने रुकुम चौखाबाङ्गको दमाई बाट भएको थियो । ती पुलिस दमाइको नाम थाहा नभए पनि उनको जातथर र पेशाका बारेमा डाँगीलाई मोटामोटी थाहा थियो । रोल्पाको राङ्कोट गा.वि.स को भालुकोट (२०३३–२०३७)मा प्रअका रुपमा रहँदा बारम्बार लिबाङ्ग गइरहनुपथ्र्यो । यस्तै शिलशिलामा रोल्पा लिवाङ्गबाट फर्कदै गर्दा जङ्कोटको तत्कालीन जिल्ला सभापति हेमजङ्गको गाउँमा आफुँ सदैब खाना खाने, बस्ने र सुत्ने एक होटेलको चुल्होमा बसेर ती दमाईले मज्जाले आगो तापिरहेका थिए । डाँगीलाई देख्ने वित्तिकै ती दमाई निकै कालो नीलो भए तर कुम्बीर डाँगीले उनका बारेमा केही बताएनन् ।
उनलाई दमाई हुन् भन्नु जातीय मर्यादा र मानवता मात्र नभएर कानुनी अफ्ठ्यारो पनि थियो । त्यस समयमा कानुन बनिसकेको थियो र यदि कोही कसैले यो दलित हो भन्यो भने त्यसलाई छुतप्रथाको विरोधी भनेर एकहजार देखि तीन हजारसम्म जरिवाना लाग्ने गरेको डाँगीले देखेबुझेका थिए । त्यसदिन ती दमाईसँग एउटै कोठामा वास बसेको बेलामा ती दमाई पुलिसले डाँगीलाई निकै हार्दिकता व्यक्त गरे । मलाई ठुलो सङ्कटबाट बचाउनुभयो, मैले तपाईंको गुण कहिल्यै विर्सने छैन भनेर निकै गुनगान गरे । त्यहाँ खाएको खानाको पैसा पनि दमाईले सबै तिरिदिए । अर्कोदिन धाङ्धुङ्गगारसम्म निकै आत्मीय साथीकोरुपमा सँगसँगै यात्रा गरे ।
दमाई पुसिले बाटोमा भाले काटेर पनि खुवाए । ती दमाईसँग भएको सङ्गतले कुम्बीर डाँगीको मनमा निकै हलचल ल्यायो । उनले बाटोभरि यसै विषयमा खुब गम खाए । डाँगीको स्कुलमा छुतको समस्याले निकै सताएको थियो । त्यस विद्यालयमा थुप्रै कामीका बच्चाबच्ची पनि पढ्न आउँथे । स्कुलमा ल्याएको नास्ता छोइयो भनेर सरहरुसँग खुब गुनासो आउँथ्यो । कामी जातका विद्यार्थीलाई सम्झाइबुझाइ र कार्वाही गर्दा गर्दा उनी अवाक्क भएका थिए । दमाईसँगको आत्मीयताले ल्याएको उत्प्रेरणाले उनी त्यस स्कुलमा छुतप्रथाको अत्य गर्ने योजना बनाए ।
सहकर्मी स्टाफ कोरलका मनप्रसाद घर्तीलाई सहमत गराउन सफल भए । तत्पश्चात शुक्रबारको दिनमा सबै विद्यार्थीलाई लाइन लगाएर एकजना कामी थरको विद्यार्थीलाई पानी ल्याउन लगाए र पहिले दुबै शिक्षकले खाए अनि पालै पालो सबै विद्यार्थीहरुलाई खुवाए । यो घटनाले गाउँ निकै तात्यो । अछुत भनिनेका सबै अभिभावक आइतबारका दिन स्कुल घेरा मार्न आए । झण्डै हातहालाहालको स्थिति सिर्जना भयो । डाँगीले कडारुपमा प्रतिाद गरे । डाँगीले मुलुकी ऐनमा छुवाछुत बारे भए गरेको कानुनी कुरा पढेर सुनाए तैपनि अछुत भनाउँदा अभिभावकहरु मान्न तयार भएनन् ।
उनीहरुलाई जिल्लाप्रशासन, जिशिका वा अन्य ठाउँमा जहाँ जहाँ मेरो नाममा मुद्दा हाल्छौ हाल, मुद्दा तिमीहरुले होइन मैले जित्छु, तिमीहरु उल्टै जेलमा जान्छौ भनेर चुनौति दिए । केही समय पछि तत्कालीन रोल्पा जिल्लाका जिशिअ अम्बिकाप्रसाद (रेग्मी)? त्यस विद्यालयमा आए । त्यहीं बेलामा अछुत भनाउँदाहरुले समस्या प्रस्तुत गरे । सुरुमा त जिशिअ अम्बिकाप्रसादले कुम्बीर डाँगीको सातो खाए भैmं गरे त्यस पछि डाँगीको मुक्तकण्ठले निकै प्रशंसा गरे ।
उनले कुम्बीर डाँगीले चालेका समाजसुधारका कदमहरु निकै उचित भएको बताउँदै उपस्थित अछुत भनाउँदाहरुलाई ‘भालुकोटका बासिन्दाहरु भालुजस्तै दिमाग भएका रहेछौ’ भन्दै हकार्नु हकारे अनि कानुनी व्यवस्था र मानवीय कर्तव्यबारे सम्झाउने कार्य गरे साथै निज कुम्बीर डाँगीलाई जिशिकाबाट यथोचित सम्मान र पुरस्कार दिने जानकारी समेत गराए । तत्पचात प्रअ डाँगीले स्कुलहाताभित्र छुतप्रथा लागू नहुने गरी विभिन्न बुँदाहरु बनाएर तत्काल विव्यसको वैठकबाट अनुमोदन समेत गराए फलतः त्यस विद्यालयमा विद्यार्थीका बीचमा छुतको समस्या हराएर गयो ।
कुम्बीर डाँगीले २०३९ देखि २०४९ सम्म अर्को विद्यालय चुन्वाङ्ग गैरिगाउँ, रुकुममा प्रअको रुपमा रहेर कार्यकुशलता प्रस्तुत गरे । त्यस विद्यालयमा पनि छुत प्रथाको समस्या उत्तिकै थियो । मैले पनि त्यसै विद्यालयमा गुरु कुम्बीर डाँगीको चेलो भएर पढ्ने अवसर पाएको थिएँ । मैले २०४७ सालमा कक्षा ६ मा पढ्दा करिव करिव ५०÷६० जना विद्यार्थी थियौं । हाम्रो कलासमा एक जना खर्कबहादुर टोमटा पनि सँगै पढ्थे । क्लासमा उनी बस्ने बेन्च अलग्गै थियो । कक्षा कोठामा यताउता गर्दा कहिले काहीं अनजानमा खर्कबहादुरले हाम्रो किताब र नास्ता राखिएको झोला छुन पुग्थे ।
अछुतले छोएको नास्ता खानुहुँदैन भन्ने सामाजिक पाठका कारण भोकै बस्नु पर्दाको पीडाले खर्कबहादुरले बारम्बार पिटाइ खाइरहन्थे । एक दिन एकजना साथीको नास्ता राखेको झोला छोइदिएको निहुँमा साथी खर्कबहादुरले निकै कुटाइ खाए । यो कुरा हेडमास्टर कुम्बीर डाँगीले थाहा पाए पछि एउटा गतिलो लट्ठी लिएर कोठामा प्रवेश गरे र सबैसँग पालैपालो दलितले छोएको पानी खान्छौ कि खाँदैनौं भनेर सोधे । प्रायः विद्यार्थीहरुबाट नखाने उत्तर आयो । त्यसपछि निज खर्कबहादुर टोमटालाई पानी दिन लगाएर नमान्नेहरुलाई लट्ठीले हिर्काउँदै सबैलाई कथित दलितको हातबाट पानी खुवाए । यस घटनाले पनि समाजमा तरङ्ग नै ल्यायो । अर्को दिन कतिपयका अभिभावकले गुनासो राखे पनि र केही अभिभावक भित्रभित्रै रिसले मुर्मुरिए पनि त्यति ठुलो समस्या देखा नपरेको साथै शिक्षकहरुको बैठकमा सबै शिक्षकहरु सहजै सहमतिमा आएको कुरा हेडमास्टर डाँगीले बताउँछन् ।
परिवर्तन कुराले हुँदैन; व्यवहारमा हुन्छ । नीतिमा हुँदैन; न्यायमा हुन्छ । कानुनले हुँदैन; कार्यान्वयनमा हुन्छ । कठोरतामा हुँदैन; लचकतामा हुन्छ । सिद्धान्तले हुँदैन; शिलन्यासमा हुन्छ । धर्ममा हुँदैन; कर्ममा हुन्छ । जातमा हुँदैन; साथमा हुन्छ । भाषणले हुँदैन; रासन र आसनमा हुन्छ । छुत प्रथाको विरुद्धमा अन्तर्मनबाट एक्लै सतिसाल भएर उभिएका कुम्बीर डाँगीलाई नेपाल आमाको सलाम । अछुतको सामाजिक पाठ सिकेका विद्यार्थीलाई क्षणरभरमै सङ्लो पानीमा परिवर्तन गरिदिएकोमा मेरो अन्तरआत्माको सलाम । आवाजहीनको आवाज, निमुखाको आवाज बनेर दलितका समस्या सुल्झाउन गरेको कुम्बीर डाँगीको सत्प्रयासलाई विश्वका समग्र कथित दलित समूदायको तर्फबाट सलाम ।
- (लेखक महेन्द्र बहुमुखी क्याम्पस भरतपुर, दाङका उपप्राध्यापक हुन् ।)
प्रतिक्रियाका लागि : [email protected]