जीवनमा पहिलोपल्ट आएजस्तो भाछ मलाई
दुईतोला छड्के तिलहरी,नेकलेस,हिराकाऔँठीहरू
त्यसै दराजमा थन्किएर खिस्सी गरिरहेका छन् मलाई ।।१।।
एकदर्जन बनारसी साडीहरू भित्रिन्थे घरमा
गहना सुहाउँदा सबै फेरि जोडिन्थे त्यसमा
आज यसको घरमा त भोलि उसको घरमा
श्रीमानको कमाइ र माइतीको धाकसँगै भरिन्थे वाइन गिलासमा ।।२।।
दुईमहिना देखि घरमा भात पकाउनुपर्दैनथ्यो
श्रीमान,छोराछोरी,बूढाबूढी कसैको झन्झट हुँदैनथ्यो
वरिपरि गरिब झुपडीमा बसेका जेठी,माईली पनि
मलाई हेरी गरिबीको आँसु झारेको देख्न पाइन्थ्यो ।।३।।
व्रत बस्नु त के थ्यो र फलफूल,पानी,दूध पेटभरि खाइन्थ्यो
झलमल झल्किने साडीमा हिराका हार लगाइ खान्दान देखाइन्थ्यो
गरिबीको रेखैरेखा कोरिइ धसिएका फरिया लाउनेका बीचमा
आफ्नो कूलघरानको थोत्रो र खोक्रो छाप छोड्न पाइन्थ्यो।।४।।
उफ्,यसपालिको तीजमा कताबाट आयो यो महामारी
हुनेखानेलाई पनि आउन सक्ने अवस्था भयो भोकमरी
कतै त्यही मेरा शान हिराका हार,नेकलेस, तिलहरीहरू
बेचेर बाटाघरे साईली जस्तै भिखारी पो हुनुपर्ने हो कि मलाई ।।५।।
उफ्, यसपालिको तीज !
मेरो खोक्रो आडम्बरलाई ढाकछोप गरेन कत्ति पनि
ठूलीकान्छीले पनि त मनाउँछे नि यस्तो तीज त भनी
छाती पोल्छ, छट्पटी हुन्छ मलाई लाग्दैन निद्रा रत्ति पनि।।६।।
उफ्, यसपालीको तीजले१ मेरा घमण्ड,अहङ्कार
सबै कुरा स्वाहा बनाइदिई घरमै सीमित बनाइदियो
दराजमा बन्द भएर मलाई मेरो धरातल देखाइदियो
देखासिकी बनावटी सबै चकनाचुर बनाइदियो ।।७।
00000