गुल्मी : मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी–पुर्कोटदह सडक खण्ड अन्तर्गत द्धानेटा नजिकै गएको पहिरो एक महिना वितिसक्दा समेत हटाइएको छैन् । सडक अवरुद्ध भएको लामो समयहुँदा पनि यसतर्फ सम्वन्धित निकायले चासो देखाएका छैनन् । सडक अवरुद्ध हुँदा मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका सहित छिमेकी जिल्ला अर्घाखाँची र प्यूठान पुग्ने यात्रुहरुले हैरानी खेपेका छन् । महिनादिनदेखि यातायातका साधन संचालन हुन सकेका छैनन् ।
‘पहिरो गएको यतिका दिन भइसक्यो’,सिमलटारीका स्थानीय डम्वर बहादुर जिसीले भने,‘सरोकारवाला निकायले चासो दिनुपर्ने हो, तर गैरजिम्मेवार जवाफ दिएर बसेका छन् ।’ पुर्कोटदहदेखि तम्घास पुग्नका लागि उक्त सडक धेरैका लागि सजिलो बनेको थियो । मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माणधिन अवस्थामा रहेकाले यस क्षेत्रका स्थनीय उत्साहित भएका थिए । तर, महिनौदिनसम्म पहिरो हटाएर सडक सूचारु नगर्दा स्थानीय निराश बनेका छन् ।
मदन भण्डारी राजमार्ग, परियोजना कार्यालय तम्घासका प्रमुख इञ्जिनियर सुनित केसीले हाललाई सडक निर्माण र अवरुद्ध सडक सुचारु गर्नका लागि मन्त्रालयबाट अख्तियारी नआएको प्रतिक्रिया दिए । ‘चालु आवमा अहिलेसम्म तम्घास–सिमलटारी–पुर्कोटदह खण्डका लागि काम गर्ने अख्तियारी आएको छैन्’,उनले भने,‘मन्त्रालयले केही नभन्दा काम गर्न अन्यौलता छाएको छ ।’ उनले स्थानीय तहसँग सम्वन्य गरेर अवरुद्ध सडक सूचारु गर्न पहल गर्ने समेत बताए ।
पाँच÷छ पटकसम्म रोकिएको सडक खोल्दा समेत पटक पटक अवरुद्ध भइरहँदा समस्या परेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । ‘सडक खोल्ने दायित्व हामीलाई छैन्’,उनले भने,‘जसले कार्यान्वयन गरेको छ, उसैले खोल्नुपर्छ । तर हामी नैतिकताका आधारमा सडक सुचारु गर्न पहल गरेका छौ ।’ पानी रोकिदावित्तिकै सडक सुचारु गर्ने उनले बताए । पहिरो गएको स्थान द्धानेटामा सडकमुनिबाटै पर्खाल उठाउनुपर्ने अवस्था रहेको स्थानीयले बताए ।
मदन भण्डारी राजमार्गको ट्र¥याक कुन क्षेत्रबाट जाने भन्ने अन्यौलता हुँदा यस सडकले गति लिन सकेको छैन् । तम्घासदेखि सिमलटारीसम्म सडक कालोपत्रे सम्पन्न भएको छ । सिमलटारीदेखि सौतामारेसम्म सडक फराकिलो गर्ने काम भइरहेपनि हाललाई रोकिएको छ । चालु आर्थिक वर्षमा सिमलटारीदेखि सौतामारेसम्म २८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि रातो कितावमा परेपनि यसको कार्यान्वयनका लागि कुनै जानकारी नआएको आयोजना कार्यालय तम्घासले बताएको छ । यस क्षेत्रकै गौरवको रुपमा हेरिएको उक्त आयोजना वर्षदिनदेखि अन्यौल हुँदा स्थानीय निराश बनेका छन् ।