रुपन्देही : कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै गएपछि रुपन्देहीमा ‘क्वीक रेस्क्यू टिम’ गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयोजकत्वमा आइतवार टिम गठन गरिएको हो । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उक्त टिम गठन गर्ने निर्णय गरेको हो । टिमले कोरोना संक्रमणको बेला आइपर्ने समस्या समाधान गर्न उक्त टिमले भूमिका खेल्ने उनको भनाई छ ।
टिममा स्थानीय तहका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका जिल्ला प्रमुखहरु, नेपाल पत्रकार महासंघको प्रतिनिधि, नेपाल रेडक्रसको प्रतिनिधि सदस्य रहनेछन् । यस्तै, विपद् व्यवस्थापन क्षेत्रमा काम गरेका संस्थाका दुई जना प्रतिनिधि सदस्य रहने भएका छन् ।
प्रजिअ महादेव पन्थको सभापतित्वमा सम्पन्न बैठकमा जिल्ला समन्वय समिति सभापति एकराज विश्वकर्मा, रेडक्रस रुपन्देही उपाध्यक्ष दीपक क्षेत्री न्यौपाने, विपत व्यवस्थापन समितिका जगन्नाथ कुर्मी, नमूना एकीकृत विकासको अध्यक्ष ज्ञानु पौड्याल, सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेल, नेपाल पत्रकार महासंघ सहसचिव कमल रायमाझी लगायतले कोरोना संक्रमण फैलिन नदिन समुदायमा सचेतना जरुरी रहेको बताए । उनीहरुले यसमा स्थानीय तहको भूमिका अझै प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले कोभिड १९ नियन्त्रणको लागि क्विक रेस्पोन्स टिमको योजनालाई आर्थिक तथा भौतिक सहयोग गर्न तयार भएको बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबै भन्दा बढी बुटवल उपमहानगरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिलोत्तमा नगरपालिकामा ११ जना, सिद्धार्थनगर नगरपालिकामा ११ जना, सियारी गाँउपालिकामा ४ जना, मायादेबी गाँउपालिकामा ३ जना तथा देवदह नगरपालिका र ओमसतिया गाँउपालिकामा एकरएक जना छन् ।
बुटवलमा एकैदिन ५६ संक्रमित
आइतवार मात्रै बुटवलमा ५६ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । बुटवल उपमहानगरपालिकाको वार्ड नम्बर ११ कालिकानगरमा ६ जना, १३ नम्बरमा १० जना, ८ मा २ जना र १, २, ३ मा एक÷एक जनामा कोरोना देखिएको हो ।