हिन्दू महिलाहरूको महान् चाड तीज भाद्र शुक्ल तृतीयाका दिन आफ्नो सौभाग्यका लागि शिव र पार्वतीको उपासना गरी दिनभरि निराहार व्रत बसी मनाउने गरिन्छ । यसलाई महिलाहरू आफ्नो परिवारको सुख शान्ति र श्रीमानको दीर्घायुका लागि कामना गर्ने दिनको रूपमा लिन्छन् र लिइँदै पनि आइएको छ। यसैले त नेपाली धर्म संस्कृति परम्परा अनुकरणीय मानिन्छ ।
पहिले पहिले धेरै छोराछोरी हुने, अन्न उब्जनी कम हुने गर्दथ्यो भने छोरीलाई सानैमा कन्यादान गर्ने चलन रहेको थियो । चाडपर्व छोरीचेलीको माईतीसँग भेटघाट गरी आफ्ना दुुःख सुख बाँड्ने माध्यम थियो । अहिलेको जस्तो सूचना प्रविधिको विकास भएको थिएन त्यसकारण चाडपर्व परिवार भेटघाट गरी मीठोमसिनो खानेकुरा खाएर रमाइलो गर्ने गरिन्थ्यो । विशेषगरी तीजलाई नारी स्वतन्त्रताको दिनको रूपमा हेरिन्थ्यो। दाजुभाइ, बुबाले मीठामीठा खानेकुरा बनाउने, खेतीपाती, वस्तुभाउ सबैको जिम्मेवारी पनि लिइदिने हुनाले महिलाहरू आफ्नो स्वतन्त्रता दिवसजस्तो मान्थे र मादल बजाएर नाचगान गर्दै रमाइलो गरी मनाउँथे। गीतमा परम्परा, दुःख,पीडाहरू झल्किन्थे। एक वर्षभरिका सबै वेदना तीजका गीतमा व्यक्त हुन्थे। गीतकारहरूले पनि त्यस्तै मौलिक खालका गीतहरू रचना गर्थे जुन कालजयी भएका छन् ।
सानासाना छोरीहरूलाई पनि कठिन व्रत बस्न पर्ने बाध्यात्मक नियम थिए। कतैकतै त श्रीमती बिरामी भइन् भने श्रीमान् उनको सट्टामा व्रत बसिदिनुपर्ने नियम बनाएको पनि पाइन्थ्यो। व्रत कठोर थियो, दरखाने दिनको राति दर खाएपछि पर्सिपल्ट बिहान नुहाएर सूर्यनारायणको पूजा नगरी मुखमा पानी पनि राख्न पाइन्थ्यो। अझ बीचमा खाल्सा(खाली दिन) परेन भने पञ्चमी नुहाएर आएपछि मात्र खान खाने चलन थियो ।
विज्ञान र प्रविधिको विकासका कारण विश्व नै एउटै घरआँगन भइसकेको परिवेशमा हाम्रा बोलीचाली ,रहनसहन,भेषभुषा, धर्मसंस्कृति,परम्परा, चाडपर्व मनाउने शैलीमा परिवर्तन आएको छ । हो समयसँगसँगै विविध कुरामा परिवर्तन आउनु स्वभाविक हो र समयानुकूल परिमार्जन,परिष्कार हुँदै जानु पनि पर्छ तर पछिल्ला केही वर्ष यता हाम्रा चाडपर्वहरू देखावटी र भड्किलो हुँदै गएको पाइन्छ। विशेषगरी भाद्र शुक्ल द्वितीयाको राति दर खाने चलनको महत्व हराउँदै गएको छ। केही वर्षयता हिन्दू महिलाहरू असारको पहिलो हप्तादेखि नै गरगहनामा सजिएर आलोपालो घरमा वा पार्टीप्यालेसमा दर खाने र हिन्दी तथा अङ्ग्रेजी गीतमा दिनभरि नाच्ने गरेको पाइन्छ ।
दरमा खाइने परम्परागत खाना खीर, तरकारी,सेलरोटी, चाम्रे वा त्यस्तै अन्य खानेकुराका ठाउँमा मासु, पुलाउ, वाइनले प्रवेश पाएको देखिन्छ । अहिले यस्तो चलन शहरी परिवेशमा मात्र नभएर गाउँगाउँमा पनि चलिसकेको छ। गाउँका हुनेखाने महिलाहरूको दरमा पनि वाइनले प्रवेश पाइसकेको छ । यसले एकातिर यस्तो भड्किलो दरखाने चलनले नेपाली समाजमा संस्कृतिको नाममा विकृति भित्र्याइरहेको छ भने अर्कातिर धनी र गरिबको बीचमा रहेको भड्खारो झन् गहिरिँदै जानुका साथै पैसालाई बढी महत्त्व दिई तँभन्दा म के कमको भावना विकास भई आपराधिक गतिविधि, भ्रष्टाचार बढ्दै गएको पाइन्छ।
हुन त यसलाई पनि महिलाको स्वतन्त्रता र महिला अधिकारको रूपमा हेरिएको होला तर यो संस्कृतिको नाममा विकृति मात्रै हो भन्ने मलाई लाग्छ। यसलाई केही पुरूषहरूले आफ्नो धनसम्पत्ति, इज्जतको रूपमा हेर्दै यसलाई झन् बढवा दिइएको पनि पाइन्छ र यसका नाममा व्यापार पनि बढेको पाइन्छ तर मदिराजस्तो चिजले प्रवेश पाउनु र हिन्दी र अङ्ग्रेजी गीतमा नाचेर नेपाली संकृतिको संरक्षण र विकास हुन्छ जस्तो मलाई लाग्दैन। यसको अर्थ यो होइन कि पहिलेको जस्तो खानेकुरा खाने,निराहार व्रत बस्ने, त्यस्तै गीतमा नाचेर मात्र धर्म संस्कृतिको संरक्षण हुन्छ भन्ने। यस्ता संस्कृतिको नाममा भित्रिएका विकृतिले पक्कै पनि नेपालमा परिवारिक र सामाजिक दुर्घटना निम्त्याउँछ जुन राष्ट्रकालागि घातक पनि हुन सक्छ किनकि नेपाल सांस्कृतिक क्षेत्रमा पनि धनी छ भन्ने कुरा विश्व परिचित छ ।
विश्व महामारीको रूपमा फैलिएको कोरोनाका कारण नेपालमा सबै व्यवसाय र आर्थिक गतिविधि ठप्प छ। प्राय सबैजना घरमा बस्नुपरेको अवस्था छ। यसैले नेपाल सरकारले चाडपर्व कसरी मनाउने भनी केही कार्यविधि बनाइसकेको छ। यसपाली दर खान आफ्नै परिवार पनि भेट्न नपाइने अवस्था सिर्जना भएको छ। यस महामारीबाट मानवले धनसम्पत्तिभन्दा पनि बाँच्नु ठूलो रहेछ भन्ने कुरा राम्ररी बुझेको छ। त्यसैले हामीले अबका दिनहरूमा आउने तीज लगायत सबै चाडपर्वरूलाई भड्किलो र देखावटी नबनाई आपसी प्रेम, सम्मान, समानता र सद्भभाव कायम राखी मनाउनु पर्छ भन्ने महत्वपूर्ण सन्देश यस कोरोना कहरले दिएको छ ।