बुटवल : घर लेवन गर्ने पहेँलो माटो लिनका लागि नौवहिनी गाउँपालिका ८ लुप्लुङ प्यूठानकी नौ वर्षिय सुस्मिता विक घर नजिकैको सिर्से भन्ने स्थानमा गइन् । माटो खन्दै गर्दा उनलाई ढिस्कोले पु¥यो । टाउँकोदेखि तलको भाग पुरिएकी उनको दुवै खुट्टा भाँचिए । उनीसँगै गाउँकी एक महिला पनि पुरिइन् । शुक्रवार दिउँसो ढिस्कोले पुरेपछि दुवैजना घाइते भए । ढिस्कोले पुरिएर घाइते भएका सुस्मिता र छिमेकी रामकली उपचारका लागि जिल्ला अस्पताल विजुवार पुगे । सामान्य उपचारपछि दुवै जनालाई प्यूठान अस्पतालले बुटवल रिफर ग¥यो ।
रामकली गाडीको बन्दोवस्त गरेर थप उपचारका लागि बुटवल पुगिन् । तर, गरिबीको झुपडीमा जन्मेकी अस्मिता प्यूठान अस्पतालमै छटपटिएर एकरात कटाउन बाध्य भइन् । उनी दुई वर्षकी हुँदा आमाले छाडेर दोस्रो विवाह गरेकी थिइन् । बुवाले पनि दोस्रो विवाह गरेर भारततिर लागे । त्यसपछि उनी बेसहारा बनिन् । जेनतेन हजुरबुवा र हजुरआमाले उनको पालनपोषण र हेरचाह गर्दै आएका छन् । बाल्यकालमै जन्मदिने बुवा आमाको मायाँ पाउनबाट बञ्चित भइन अस्मिता ।
विहान बेलुकाको छाक जुटाउनै मुश्किल पर्ने यो परिवारलाई लाखौँ खर्च गरेर उपचार गर्नेकुरा ‘सपना’ जस्तै थियो । थप उपचार गर्नका लागि होटल व्यवसायी संघ प्यूठानको उम्वुलेन्सले उनलाई निःशुल्क प्रादेशिक अस्पताल बुटवलसम्म पु¥याएपनि उपचार गर्न उनीहरुलाई हम्मेहम्मे भयो । विरानो शहरमा उनीहरुलाई अझ सकस पर्दै गयो ।
‘शनिवार राती नौ बजे बुटवल आइपुगेका थियौँ’,५१ वर्षिय हजुरआमा मुसी विकले आजको पोष्टसँग भनिन्,‘डाक्टरले खुट्टाको अप्रेशन गर्नुपर्छ भन्नुभएको छ, साथमा पैसा छैन् कसरी गराउने होला ?’ घरबाट ठूलो गोरु बेचेर ल्याएको ५ हजार रुपैयाँ मात्र आफूसँग भएको विकले सुनाइन् । ‘सानोठूलो गरी दुईवटा गोरु पालेका थियौँ’,उनले भनिन्,‘सानो गोरु जोत्नसक्ने थिएन् र बेचेनौ, ठूलो गोरु बेचेर नातिनीको उपचार गर्न आएकी हुँ ।’ पैसा खर्च गरेर उपचार गर्न संभवनै नदेखिएपछि बुटवल आएका उनीहरु अस्पतालमै निराश बनेर बसेका थिए । सुस्मिता लुप्लुङ मावीमा कक्षा दुईमा पढ्दै छिन् ।
लुम्विनी सिटीले गर्नेभयो निःशुल्क उपचार
आर्थिक अभावले उपचार नपाएर छटपटिएकी सुस्मिताको पुरै उपचार बुटवलमा रहेको लुम्विनी अस्पतालले गर्नेभएको छ । अस्पतालका व्यवस्थापक बसन्त जिसीको पहलमा उनी सहित अस्पतालले खर्च व्यहोर्ने भएको हो । ‘जन्मभूमिका गरिव, दुःखीहरुको उपचार नभएको देख्दा मन पोल्छ’,प्यूठान निवासी जिसीले भने,‘सामाजिक उत्तरदायित्व सम्झेर सुस्मिताको उपचारमा पहल गरेको हुँँ ।’ उनले गाउँघरमा भएका बास्तविक गरिवहरुको उपचारमा आफूले सक्दो पहल गर्ने समेत बताए । सुस्मिताको उपचार शुरु भएको छ । उपचारमा संलग्न अर्थोपेडिक सर्जन डा.राहुल श्रेष्ठले चार÷पाँच दिनमै उनी पूर्ण निको भएर घर फर्किने बताए । अस्पतालका व्यवस्थापक बसन्त जिसीका अनुसार उनको उपचारमा झण्डै ढाई लाख रुपैयाँ खर्च हुनेछ । नातीनिको सवै खर्च अस्पतालले व्यहोर्ने गरी निःशुल्क उपचार हुनेभएपछि विकको गुमेको खुसी फर्किएको छ ।