चारैतिर हरिया फरिया बेरेका पहाड बस्ती झनै राम्रो
स्वर्गको एकटुक्रा आई खसेछ त्यही बीच हाम्रो
टल्किएका हिम कैलाश दृश्य,चल्ने शीतल पवन
खुसी हुन्छन् त्रिदेव देखि अनवरत हुने हवन !!१!!
राताराता गुराँस ढकमक्क फुली ढपक्कै ढाकेको
आफ्नो सुन्दरता र नृत्य देखाउन अप्सरालाई डाकेको
अलौकिक गुफाभित्र गई गूढ रहस्य बुझ्न सकिने
वैशाखपूर्णिमा,उभौली, बुद्धजयन्तीमा मेला लाग्ने !!२!!
पाण्डवहरू स्वर्ग जाँदा त्यही बाटो भएर
ब्रह्म स्वयम् तपस्या गरेथे स्वर्गद्वारी आएर
ऋषिमुनिहरूको पनि त्यहीँ पवित्र तपोभूमि
गौमाताहरू र बाच्छाबाच्छीका रमणीय क्रिडाभूमि !!३!!
अलि पर शिद्धबाबाको मन्दिर छ पुजन
वेद,रूद्री,चण्डी पढाइन्छ धर्म,संस्कार सिकाउन
अखण्ड दीपको प्रकाशमा ईश्वरको दर्शन गराउन
हर्दम तत्पर छन् अशक्तलाई घोडाचढाइ मन्दिर पुर्याउन !!४!!
जिउँदैमा स्वर्ग देख्न सकिने कस्तो रहेछ ठाउँ
उच्चारण गर्दैमा पाप नष्ट हुने कस्तो होला नाउँ
जानुपर्दैन है कहीँ कतै काशी वनारस चारधाम
आउँछन् विश्वका भक्तजन हेर्न लिँदै प्रभुको नाम !!५!!
हामी भौँतारी रहन्छौँ ईश्वरको स्वरूप देख्न
पाइन्न कतै पनि जिउँदैमा देवलोक,स्वर्ग देख्न
नजाऔँ है हामी अन्त कतै धेरै खर्च गरि गरि
जाऔँ न एकपटक सबै प्युठानको स्वर्गद्वारी !!६!!