काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । शनिबार दिउँसो ३ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक साँझ ७ बजेपछि सकिएको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक संकटलाई सहमतिकै आधारमा समाधान गर्ने विषयमा छलफल भएको छ । ‘पार्टी भित्रको संकट समाधान गर्न सकिन्छ भन्ने विषयमा पार्टीका अध्यक्ष र साथीहरुले विचार राख्नुभयो’, प्रवक्ता श्रेष्ठले भने, ‘स्थायी कमिटी र पार्टीमा आएका विभिन्न विचारलाई सम्बोधन गर्नेगरी सहमति गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।’
शनिबारको सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिको आधारमा सम्बोधन र समाधान कसरी गर्ने भन्ने विषयमै छलफल केन्द्रित भएको प्रवक्ता श्रेष्ठको भनाइ छ । बैठकले पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेश अनुरूप अघि बढ्ने प्रस्ताव तयार गर्ने र छलफल जारी राखेर सहमतिमा निष्कर्षमा पुग्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
शनिबार राम्ररी छलफल भएको तर अझ व्यवस्थित बनाउने काम अब स्थायी कमिटीले गर्ने प्रवक्ता श्रेष्ठले बताए । पूर्व निर्धारित तालिका अनुसार आइतबार सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । स्थायी कमिटी बैठक आइतबार दिउँसो ३ बजेपछि बस्दैछ ।
सचिवालय बैठक अघि नेकपा शीर्ष नेता शनिबार बिहानैदेखि छलफलमा सक्रिय थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहानै दुई घण्टासम्म सचिवालयका पाँच सदस्य छलफलमा जुटेका थिए । खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । गृहमन्त्रीसमेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने उक्त छलफलमा गएनन् ।
त्यसैगरी सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मासमेत सहभागी थिए ।
खुमलटार र बालुवाटारका दुवै छलफल सचिवालय बैठकका एजेन्डामा केन्द्रित भएका थिए । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्को शक्ति संघर्ष देखिएपछि स्थायी कमिटी बैठक कसरी टुंग्याउने भन्ने विषयमा छलफलका लागि सचिवालय बैठक बोलाइएको थियो ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष प्रचण्ड समूहले चर्को दबाब दिइरहेको छ । प्रधानमन्त्री ओलीले भने तत्काल दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् । दुवै पक्षको अडानकै कारण लामो समयदेखि नेकपा विवादको निष्कर्ष निस्कन सकेको छैन । विवाद समाधानका प्रयास भइरहेको भन्दै नेकपाले शुक्रबार मात्र स्थायी समिति बैठक दुईपटक तोकेको थियो । -अन्नपूर्णबाट