म थकान मेट्न चौतारामा बसेर चारैतिर हेरिरहेकी थिएँ । अलि अग्लो डाँडाको चौतारो भएर होला कोलाहल शहरका अनेक रूप स्पष्ट देखिन्थ्यो । साँझ पर्न लागेको थियो दिनभरको कामपछि कोही घरतिर फर्कँदै थिए भने कोही रातकी रानीसँग रमाउन रमझमतिर लम्किँदै थिए ।
चराचुरुङ्गी चुच्चोमा आहार लिएर बचराको पेट भर्न हतारिँदै थिए । सबै आआफ्नै ध्यानमा व्यस्त थिए । म भने खै कुन्नि के कुराको सोचमा थिएँ । होइन तपाईं त गहिरो सोँचमा हुनुहुन्छ जस्तो लाग्यो नानी ? कसैको आवाजले म झस्किएँ र आफूलाई सम्हाल्दै यो जादुमय सहरको अवलोकन गरिरहेको नि आमा ! मैले आमा सम्बोधन गरेको भएर हो कि किन हो तिनी गम्भीर भइन् र मेरो नजिकै आएर बसिन्, म अलि पर सरेँ । मैले तिनीलाई राम्ररी हेरेँ, तिनी यति सुन्दर थिइन् कि भगवानले फूर्सद निकालेर आफ्नो सबै कला र सीप लगाएर बनाएको हुनुपर्छ भन्ने अनुभव गरेँ ।
म टोलाएको देखेर होला नानी तपाईंलाई सन्चो छैन कि कसो हो फेरि प्रश्न दोहोरियो । तपाईं अहिले त यति राम्री हुनुहुन्छ पहिले कस्तो हुनुहुन्थ्यो होला है ? मैले पनि प्रश्न तेर्साएँ । उनले आफ्नो मुख बिगारिन् र भन्न थालिन् तिमी अलि पढेलेखेकी महिलाजस्ती देखिन्छौ । मेरो कुरा सन्न सक्छौ ? मैले धार्नीको टाउको हल्लाउँदै हुन्छ भन्ने संकेत गरेँ ।
उनको आँखामा खुसी छचल्किएको देखिन्थ्यो । उनले आफ्नो कुरा सुरू गरिन् । धादिङ र गोरखाको सिमानाको त्रिशूली नदी किनारभन्दा अलि माथिको गाउँमा मेरो जन्म भएको थियो । म दुई भाइ र दुई बहिनीको जेठी दिदी थिएँ । म र मेरा दुई भाइ बाख्रा लिएर जङ्गलमा जान्थ्यौँ, खनायो(खनिउँ), ऐंसेलु, काफल ऋतु अनुसारका फलफूल खान्थ्यौँ अनि गर्मी भयो भने त्रिशूली नदीमा आएर पौडिन्थ्यौँ । चिसो पानीमा डुबुल्की मार्दा कहिलेकाहीँ साँझ पर्थ्यो हामी बाख्राभन्दा धेरैपछि घर पुग्थ्यौँ । आमाको गाली शुरू हुन्थ्यो भाइहरू आमालाई कुरा लगाउथे सबै यो गङ्गेले हो, हामीले त नदीमा जान हुँदैन भनेका थियौँ ।
आमाको गाली खुब खान्थेँ तर आफ्नो गल्ती भएकोले चुपचाप बस्थेँ रून्नथेँ । यसरी दिन रमाइलोसँग बित्न थाल्यो । आमाबा काम गर्न जानेहुनाले सानी बहिनीको हेरबिचार गर्ने जिम्मेवारी थपियो । वनमा जान एकजना साथी बढेकाले खुसी थिएँ । एकदिन आफ्नो दैनिकको काम गर्न भाइबहिनी लिएर वनमा गएँ, बाख्रा त्यहीँ छोडिदिएर नदी किनारमा आएर बालुवाको घर बनाइ बनाइ खेल्न भनेर भाइबहिनीलाई बालुवा जम्मा गर्न लगाएँ, जति जम्माा गरेपनि घर बन्दो रहेनछ । झमक्क साँझ प¥यो बाख्राको याद आयो । भाइबहिनीलाई अलि माथि बाटोमा छोडेर बाख्रा खोज्न गएँ तर कहीँ भेटिनँ ।
हिजोअस्ति जस्तै बाख्रा गइसकेछ भनेर खुसी हुँदै घर पुग्यौँ । आमा त सिमलीको सिम्किनो लिएर तगारोमा उभिरहनुभएको रहेछ।आमाले मलाई कहिल्यै हात नउठाउनु भएकोले कुट्नुहुन्छ जस्तो त लागेको थिएन तर भाइबहिनीले हिजो अस्तिको जस्तै आफ्नो धर्म निर्वाह गरे कुरा लगाएर। उनीहरू तगारोभित्र गए तर मलाई आमाले त्यहीँ रोक्नुभयो र बोल्दै नबोली कुट्न थाल्नुभयो । म दुःखेरभन्दा नि डरले चिच्याइचिच्याइ रोएँ । बा आएर आमालाई रोक्नुभयो । बेलुका आमाले बासँग रूँदै भन्नुभयो,गङ्गा अब ठूली भइसकी अझ बुद्धि आएको छैन । बाख्रा लिएर गएपछि राम्ररी हेर्न पर्दैन अरूको बाली खाइदिएपछि रीस उठ्दैन त धन्न आज एकपटक भनेर माफ गरिदिए । बल्ल मलाई मेरो गल्ती थाहा भयो मलाई बेसरी रून मन लाग्यो।बाले आमालाई सम्झाउँँदेैै भन्नुभयो,“यिनीहरू नै हाम्रा सम्पत्ति हुन्, दिनभरि वनपाखा डुल्छन्, वनखाजा खान्छन् रमाउँछन् । यिनीहरू खुसी छन् र त हामी खुसी छौँ नत्र हाम्रो गरिबीले हामीलाई कति खिल्ली उडाउँछ होला सोच् त । आज दुःख र गरिब भइयो भनेर पनि चित्त नदुखा, छोराछोरी ठूला हुन्छन्, सुखको दिन आउँछ भोलि कसले देखेको छ र ?’’ आमाले पनि चित्त बुझाउनुभयो ।
आमाले हामी सुतेनौँ भने राति कहिले भूतको कथा सुनाउनुहुन्थ्यो त कहिले महाभारत, रामायणको कथा सुनाउनुहुन्थ्यो । म अलिअलि बुझ्थेँ तर भाइबहिनी बुझ्थे कि बुझ्दैनथे मलाई थाहा हुँदैनथ्यो । आमाले भन्नुभएको कथा महाभारतमा द्रौपदीले सहनु परेको अपमान, दुर्योधनमा राजा बन्ने मोहले निम्त्याएको युद्ध , रामायणमा सीताले भोग्नुपरेको पीडा, राधाले सहनुपरेको कृण्णसँगको वियोग यी चाहिँ मेरो बाल मस्तिष्कमा घुमिरहन्थ्यो।कहिलेकाहीँ आमाले नेपालको (हालको काठमाडौं ) दरबारमा हुने सुख सुविधा अनि महिलाप्रति हुने दुव्र्यवहारको कथा सुनाउनुहुन्थ्यो म चाहिँ आमाले त्यस्तो केही सहन नपरेको गरिब भएर हो भन्ने सोच्दै आफ्नो गरिबीमा मनमनै खुसी व्यक्त गर्थें । चाडबाड आउँथ्यो नयाँ लुगा लगाउन र मीठो खान पाइन्छ भनेर खुसी हुन्थ्यौँ तर बाआमाको अनुहार मलीन हुन्थ्यो मानौँ दसैँतिहार होइन दसा आउँदै छ। मलाई गरिबको घरमा चाडबाड पनि किन यति खल्लो भन्ने लाग्थ्यो। उनले व्यक्त गरेको भावनालाई मैले कवितात्मक बनाएको :
“गरिबको घरमा कहिल्यै चाडबाड आउँदैन
मखमली, सयपत्री फूलले पनि बास्ना छर्दैन
नयाँ लाऊँ मीठो खाऊँ केटाकेटी भन्छन्
बा आमा रिन कहाँ माग्ने सल्लाह गर्छन’’
बाआमाले रिन गरेर नयाँ लुगा ल्याइदिनुहुन्थ्यो । हामी घरमा लुगा सिलाउन सूचीकार आउँदा पहिले कसको सिलाउने भनेर झगडा गर्थ्यौँ । त्यसमा पनि म ठूली भएकीले गाली खान्थेँ र मनमनै सोच्थेँ बाआमाले मलाई छोरी भनेर त होइन् जहिले पनि गाली गर्ने? एकछिनमै यस्तो विचार हराएर जान्थे। हामी मीठो खाएर नयाँ लगाएर खुसी हुन्थ्यौँ तर बाआमा एक वर्षसम्म रिन तिर्नका लागि अरूको काम गरिदिन जानुहुन्थ्यो मैले अलिअलि बुझ्न थालेकी थिएँ। यसरी हाम्रा दिनचर्या बितेका थिए।छ,आठ, दस, बाह्र र चौध वर्षमा प्रवेश गर्ने तरखरमा थियौँ । आजका दिनसम्म हामी खुसी र सुखी थियौँ ।
एकदिन बाले आमासँग मेरो बिहेको कुरा गरेको सुनेँ। केटो राम्रो छ रे, धनी पनि छन् रे त्यसमाथि दुईभाइमा कान्छो रे । बिहेको कुरा सुन्ने बित्तिकै मेरी छिमेकी दिदीको बिहेको कुरा सम्झिएँ । राम्राराम्रा लुगा, गहना लगाउँदा कती राम्री देखिएकी थिइन् आहा! म पनि त्यस्तै...कल्पना गर्न थालेँ तर बिहे के हो, किन गरिन्छ र बिहेपछिको जीवन के हो ? मलाई थाहा थिएन । बाले कुरा गरेपछि सकियो केटो हेर्ने चलन थिएन । बिहे फागुन महिनाको काठमाडौंको गुहेश्वरी मन्दिरबाट रातिको समयमा भयो। बिहेमा म आमाबा, लमी र केटा पक्षबाट बाआमा, केटो, केटाको दाजुभाउजू र पुरोहित मात्र थियौँ । बिहे पूरै विधि विधानअनुरूप नै सम्पन्न भयो। छोरीको जायजन्म नभइ हामी छोरीको घरमा खाँदैनौँ भनेर बाआमा त्यहीबाट फर्किनुभयो म रूँदैरूँदै घर आएँ ।
घर यति सुन्दर र भव्य रहेछ आमाले सुत्नेबेलामा सुनाउनुभएको दरबारभन्दा पनि सुन्दर। आधुनिकशैलीको घर, वरिपरि बगैँचा, बिचमा पोखरी, पोखरीमा डुबुल्की मार्ने हाँसहरू, धुपीका साना साना चारवटा रूख। ढोकामा चाँदीका दुईवटा गाग्रीमा पानी भरेर अनेकथरी फूल सजाइएको। ढोकाको छेउमा एउटा पहेँलो पिँजडामा राम्रो सुगा। घरका कोठाहरू राम्ररी सजाइएको,वर्णन गरी साध्य थिएन। मलाई त सपनामा हो कि विपना हो जस्तो लागिरहेको थियो ।
नयाँ घर नयाँ परिवेश सबै अनौठो लाग्ने । मलाई त यहाँ भाइबहिनी ल्याएर राख्न पाए कति खुसी हुन्थे होलान् भन्ने लाग्यो तर अचम्म बिहे घरमा मानिसको कुनै चहलपहल थिएन। हाम्रो गाउँमा त बिहे घरमा धेरै मानिसहरूको भिडभाड हुन्थ्यो तर यहाँ थिएन। दिनहरू बित्दै जना थाले। नयाँ भाषा सिक्नुपर्ने रहेछ। सासुलाई मुमा, ससुरालाई बुबा, जेठाजुलाई दाजु, जेठानीलाई दिज्यू, भातलाई भुजा यस्तै यस्तै शब्दहरू। घरमा काम गर्ने अरू नै आउथे केही काम गर्नुपर्दैनथ्यो। ससुरा र जेठाजु कार्यलय जानुहुन्थ्यो । ममा केटाकेटीपन नै थियो । बिहे भएको पाँच दिनमा सासुले मलाई एकजनाको साथ लगाएर माइत पठाइदिनुभयो तर मेरो श्रीमान् मसँग जानुभएन ।
काठमाडौंबाट नारायणगढ जाने बसमा चढ्यौँ । सासुले पैसा दिए मलाई र झोलामा केही कोसेली पनि थियो। मलाई कहिले भाइबहिनीसँग खेल्न पाउँलाजस्तो भइरहेको थियो । घर पुगेर झोला फालेर भाइबहिनीसँग खेल्न थालेँ । बेलुका सबैजना वरिपरि बसेर कुराकानी गर्न थाल्यौँ। मेरो घरको बारेमा आमाबाले सोध्नुभयो मैले जस्तो थियो सबै त्यस्तै बताइदिएँ । गङ्गा तँ खुसी छस् नि, ठूलो घरमा परिस्, भाग्यमानी छस् आमाबाले भन्नुभयो, मैले टाउको हल्लाएँ ।आमाबाले मेरो टाउको हात राखेर सधैँ खुसी हुनु, राम्ररी घर गरेर खानू , भाइबहिनीलाई पनि हेर्नू भनी आशीर्वाद दिनुभयो। झोलामा सबैजनालाई लुगा र मिठाई पनि रहेछ। भाइबहिनी खुसी भए तर आमाबाले भने नरमाइलो मान्नुभयो । मलाई किन नरमाइलो मान्नुभयो भन्ने कुरा थाहा पाइन। भोलिपल्ट मलाई पुर्याउन गएका मान्छे फर्किए उनले फर्कने बेलामा आमाबासँग केही कुरा गरे। के कुरा भयो थाहा पाइनँ। म करिब छ महिना माइत बसेँ। भाइबहिनीहरूसँग रमाएँ। आमाबालाई काम पनि सघाएँ। छ महिनापछि मलाई मान्छे लिन गए।आमाबाले रूँदै मलाई बिदा गर्नुभयो । म कोसेली लिएर घर फर्किएँ ।
त्यसपछि धेरै म माइत गइन टाढा भएकोले । गाउँमा हुर्केेको,अनपढ, सिधासाधा, केही नदेखेकी म सबै देख्दा खुसी नै थिएँ । भाइबहिनी, बाआमाको धेरै याद आउथ्यो । जेठानीको माइती काठमाडौं नै भएकाले गइरहन्थिन्, मलाई पनि जाऊ हिँड भन्थिन् तर म जाँदैनथेँ। मेरो श्रीमान् सुन्न र बोल्न नसक्ने अपाङ्ग भन्ने मलाई बिस्तारै थाहा भयो। एकदिन जेठानीले सासू नभएको बेलामा मेरो श्रीमानको विषयमा सबै कुरा भनिन्। सानैमा ज्वरो आइ मेनेनजाइटिस भएर उनको,सुन्ने,बोल्ने शक्ति हराएछ।
त्यसपछि दाजुलाई असर पर्छ भनेर उनलाई अपाङ्ग हेर्ने ठाउँमा राखिएको रहेछ । दाजुको बिहे भएपछि मात्र आफ्नो घरमा ल्याइएको रहेछ। जेठानीले सबै कुरा भन्दै जाँदा एउटा कुरा बताइन् जसले गर्दा मेरो जीवन सदाको लागि जिउँदो लास सरह भयो। कान्छाको बिहे गरिदिनु हुँदैन भनेर ससुराले पटकपटक सासुलाई सम्झाएका रहेछन् तर सासुको जिद्दीले बिहे भएकाले कसैलाई नबोलाई सुटुक्क बिहे गरिएको रहेछ। बिहे हुँदा उनी बीस वर्षका रहेछन्। बिहेपछि मलाई छोरो बिरामी भयो तिमीमात्र जाऊ भनेर मलाई माइत पठाएका थिए। सबै थाहा पाई भने यहाँ बस्दिन भनेर त्यसो गरेका रहेछन् ।
पछि म बीस वर्षको हुँदा माइत गएँ र बाआमालाई सबै कुरा गरेँ र म घर जान्न भनेर रोएँ। बाले लमीले धोका दियो मात्र भन्नुभयो। छ दिन बसेपछि आमाबाले मलाई हेर नानी! तिमी त्यो घरमा बसेको छ वर्ष भयो । अब बस्दिनँ नभन। हामी आमाबा र भाइबहिनीको मुख हेरेर भए पनि तिमी घर जानुपर्छ, छैटौं दिनमा भावीले त्यस्तै लेखिदिएको रहेछ भनेर चित्त बुझाऊ। छोरीलाई माइतमा स्थान हुँदैन। जस्तोसुकै भए पनि त्यो तिम्रो घर हो, तिमी जानुपर्छ भन्नुभयो । म सातदिन बसेर फर्किएँ।त्यसपछि कहिल्यै फर्किएर माइत गइनँँ । रूने र पीडा पोख्ने ठाउँ बन्द भयो यसरी :
“उडेर जाऊ कहाँ म मेरो कुनै गन्तव्य थिएन
वेदना पोखूँ कोसँग आफ्नो भन्ने कोही भएन
बोल्न खोजेँ कयौंपटक सुनिदिन कोही आएन
बुझ्दथ्यो पिँजडाको सुगा तर ऊ मान्छे थिएन’’
चाँदीको पिँजडा (पिजरा)मा काँसको कचौरामा अनेकथरी खाना, राम्राराम्रा खुर्सानी, पानी उसलाई जे मन पर्छ सबै कुरा थियो। गोपी कृष्ण गाऊ, गङ्गा यता आऊ मैले सिकाएको कुरा भन्दै मलाई बोलाउँथ्यो र भन्थ्यो गङ्गा तिमी र म एउटै हौँ। म पिँजडामा थुनिएकी छु। एउटा युवक सुगासँग घरजम गरी बचरा हुर्काई स्वतन्त्र रूपमा वनमा घुम्ने रहर यही बगैँचामा आएका भँगेरा भँगेरी आपसमा जिस्किँदै, मायाप्रेम साटेर आफ्ना बचराका लागि आहारा बटुल्दै गरेको हेरेर पूरा गर्दै छु । तिमी पनि त्यही हो, गङ्गाजस्तै पवित्र, स्वतन्त्र छौँ तर मुखमा ताल्चा लगाइएको छ। हेर यो मेरो सुनकै पिँजडा भए पनि के काम र ?
पिँजडा त आखिर पिँजडा नै हो, तिमी दरबारमा बसेर के भयो र आखिर असहाय कैदी बन्दी न हौ। त्यसैले भव्य महलमा बसेर सारा रहर यिनैलाई हेरेर पूरा गर भनेर ऊ मलाई आफ्नो भाषामा सम्झाउँथ्यो । म अब आफ्नो श्रीमान र उसका भाषा बुझ्न थालेकी थिएँ तर फर्काउन दुवैलाई असमर्थ थिएँ। मेरो उमेर अनि सौन्दर्यता बढ्दो थियो। न श्रीमानको हात समातेर रून सक्थेँ न वेदना पोख्न न गाली नै गर्न। उनी मेरो मानसिक घाउमा मलम लगाउन सक्दैनथे मात्र एकोहोरो हेरेर हाँसिरहन्थे। म विवश थिएँ उनको हाँसोमा हाँसो मिसाइ स्याहारसुसार गरेर साथी बन्न । म मानसिक रूपमा यति आहात भएँ कि कहिले रून्थे, कहिले हाँसिरहन्थेँ। जेठानीले तिम्रो रूप र यौवन देखेर यो गल्लीमा हिँड्ने केटाहरू लोभिन्छन् र कामै नपरे पनि यताउता हिँडिरहन्छन् तर के गर्नु बाबुलाई यसको पत्तो छैन भन्थिन् ।
तिमी त वनकी सुन्दर चरी हौँ, वनमा रमाएर हिँड्न पाउनु पर्ने हो तर हाम्रो मुमाले गल्ती गर्नुभयो। यो घरमा महिलाको सम्मान छैन गङ्गा, म कसरी बाँचेकी छु तिमीलाई थाहा छैन जेठानीले भन्दा म रून्थेँ । जेठानीका दुई छोरीहरू थिए। मेरो बिहे भएको एकवर्ष पछि जेठी छोरी र तीन वर्ष पछि कान्छी छोरी जन्मिएका थिए। लगातार छोरी पाई भनेर सासुले छोराको अर्को बिहे गरिदिने धम्की दिन्छिन् भनेर जेठानी आँसु झार्थिन्। दिनभरि यताउता गरेर समय बित्थ्यो। रात परेपछि पीर लाग्थ्यो, निद्रा लाग्दैनथ्यो अनि सुगाको छेउमा गएर धेरै बेर रून्थेँ र कोठामा आएर सुत्थेँ। मेरा श्रीमान निदाइसकेका हुन्थे। यसरी मैले चौबीसौँ वसन्त पार गरेँ। त्यो घरमा आएको दस वर्ष पूरा भयो। म त्यो दिनसम्म कुमारी नै थिएँ। एक दिन मुमा(सासू) ले जेठाजुले तिमीलाई असाध्यै माया गर्छ, उसको पनि ख्याल गरे, यसैमा तिम्रो भलाइ छ। म सासुको अन्तिम शब्दमा अड्किएँ, “यसैमा तिम्रो भलाइ छ“ बुझ्न गाह्रो पर्यो ।
सासुले भलाइको कुरा गरेको एकहप्तापछि जेठानी दुईवटी नै छोरी लिएर माइत गइन्। म त्यसघरमा एक्लो जन्तु भएँ। सासुको मुख अलि अँध्यारो थियो। बेलुकाको खाना खाएपछि थाहा भयो दाजु( जेठाजु)लाई सन्चो नभएको कुरा । जठानी माइत गएकी छे तिमीले औषधि र तातोपानी कोठामा लगिदिनु सासुले भनिन्। जेठाजु कति सम्माननीय हुन्छन् भन्ने त मेरी आमाले जेठाजुलाई गर्ने आदर, सम्मान र नमस्कारबाट बुझेकी थिएँ तर पनि कहिल्यै अगाडि परेर नबोलेकोले मलाई अलि डर लाग्यो। सासुससुरा आफ्नो कोठामा गएँ, श्रीमान् पनि। म सासुले ठिक पारिदिएको औषधि, तातोपानी, एक गिलास दूध पुर्याउन जेठाजुको कोठामा गएँ। बिस्तारै बोलाएँ जेठाजुले गङ्गा मलाई पहिले पानी देऊ भने मैले भुँइमा राखिदिएँ ।
हातमा देऊ न भनेपछि हातैमा राखिदिएँ तर सासू र जेठाजुको योजना रहेछ मैले आफू बर्बाद भएपछि सासुले कसैलाई भनिस् भने बगैँचामा गाडिदिन्छु भनेपछि थाहा पाएँ। म एकप्रकारले बहुलाही जस्ती भएकी थिएँ, पापको पोको फाल्न कहिले भोकै बसेँ त कहिले खुर्सानी मात्र खाएँ तर पनि छोरो जन्मियो । न्वारान धुमधामले गरे। म भने जिउँदो लाश थिएँ। जेठानीले कहिलेकाहीँ डाक्टर पनि झुटो हुँदो रहेछन् गङ्गा, बाबुमा सन्तान जन्माउन सक्ने क्षमता छैन भनेर मसँगै भनेका थिए र मैले तिमीलाई भनेकी हुँ। मलाई माफ गर है तिमीलाई कति पीडा भयो होला मेरो कुराले अहिले मलाई पछुतो लागेको छ। म सत्यकुरा बताउन असमर्थ थिएँ। मलाई जेलजस्तो लाग्न थाल्यो घर तर आमाको मन न हो छोराको माया असाध्यै लाग्न थाल्यो। अलि ठूलो भएपछि यी पापीहरूभन्दा टाढा लगेर छोरो हुर्काउँछु भनेर बसेँ। छोरो छ वर्षको भयो उसलाई पढाउन ठूलो विद्यालयमा राखिदिए।
छोरोलाई त्यहीँ बस्न पर्नेगरी राखेका रहेछन्। जसको सहारामा म बाँच्ने आशा राखेकी थिएँ, उसलाई मभन्दा टाढा लगिदिए। त्यसको एक महिनापछि मसँग बिहे भएर पनि कहिल्यै पतिपरमेश्वर बन्न नसकेका एउटा अमुक दर्शक तीनदिन लगातार ज्वरो आएर यो धरतीबाट सदाका लागि बिदा भए। बिबाहित पतिको काम सकिएपछि छोरो भेट्न उसको विद्यालयमा जाँदा हिँडेर जानेबाटो पनि हेर्दै हेर्दै गएको थिएँ।
अब छोरोलाई लिएर भाग्न सक्छु भन्ने ठानी जेठानीलाई सबै कुरा भनेर माफी माग्छु भनी उनको नजिकै गएर बोलाएकी मात्र के थिएँ, स्यालले कुखुरा झम्टेझैँ सासुले झम्टेर मलाई उनको कोठामा लगिन् र भनिन् तैँलै यो कुरा भनिस् भने फुटेको कौडी पनि नदिई घरबाट निकालिदिन्छु। मैले रिसले आँखा देखिन र यसलाई मार्छु भनेर घाँटी समातेँ । सासुले चिच्याइन्। जेठाजु र ससुराले मलाई तानेर ढोकाबाहिर फालिदिए। म जाँदाजाँदै सुगाको पिँजडाको ढोका खोलिदिन भ्याएछु। सुगा मलाई मनभरि आर्शिवाद दिएर सपना पूरा गर्न उडिगयो।। म रूँदैरूँदै छोरालाई लिन उसको विद्यालय गएँ तर वार्षिक परीक्षा सकिएपछि मात्र लैजान मिल्छ भनेर ल्याउन दिएनन् ।
म दुईपटक गएर भेटेँ तर वार्षिक परीक्षा सकिएकै दिन सासुले लगिसकिछन् । म घर अगाडि गएर रोएँ, कराएँ, छोराको भिख मागेँ तर मलाई दिएनन् । छोरोको अनुहार पनि हेर्न पाइनँ। म त्यसपछि छोरो भेट्ने आशमा पशुपतिको जङ्गलमा कुटी बनाएर एउटी भिक्षुणीको जीवन बाँचिरहेकी छु । म एक महिनामा दुईपटक यो ठाउँमा छोरोको खोजीमा आउँछु तर भेट्न पाएकी छैन। ऊ पनि मलाई सम्झिँदो हो नानी। ऊ मजस्तै छ, तिमीले देख्यौ भने चिन्छौ । भनिदेऊ है तिम्री आमा तिमीलाई झरी,बादल,हावाहरी,शीत,तुसारो केही नभनी खाली गोडाले वनपाखा,सडक नभनी भौँतारिएर खोज्दै हिँडेकी छिन् । एक पटक भेटेर कुरा गरेर यथार्थ भनिदिन पाए त्रिशूली गङ्गामा गएर प्राण त्याग गर्थें । नानी यति काम गरिदेऊ है, तिमीलाई आशीर्वाद लाग्छ यो अभागिनी आमाको। मैले बोल्न नभ्याउँदै उनी कता अलप भइन् ,मैले पत्तै पाइनँ। म निःशब्द भएँ । मेरा आँखाबाट आँसुका धारा बगिरहे, निरन्तर बगिरहे...........।