प्यूठान : स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लिले कोरोना नियन्त्रणमा क्रियाशिल जिल्लाका विभिन्न संघ, संस्था र कार्यालयहरुलाई दुई लाख रुपैयाँ बरावरको मास्क र सेनिटाइजर वितरण गरेको छ । कोरोना नियन्त्रणको अग्रभागमा रहेर काम गर्ने कार्यालयहरुलाई मंगलवार सामग्री हस्तान्तरण गरिएको प्रालिका अध्यक्ष शुनिल बस्नेतले जानकारी दिए । ‘लकडाउनले यातायात व्यवसायी धरासायी बन्दै गएका छन्’,बस्नेतले भने,‘तर विपत्को समयमा हामी केही नगरी बस्न सकेनौँ । सामाजिक उत्तरदायित्व पुरा गरेका हौँ ।’
प्रालिद्धारा नेपाल पत्रकार महासंघ प्यूठान, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, अदालत, सरकारी वकिल कार्यालय, प्यूठान अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला ट्राफिक कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र खलंगा, भिंगृ, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगाएतका कार्यालयमा मास्क सेनिटाइजर हस्तान्तरण गरिएको छ ।
पत्रकार महासंघ प्यूठानको सूचना केन्द्र विजुवारमा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै यातायात व्यवसायीहरुले लकडाउनमा सवैभन्दा मारमा परेकाले सरकारले आफूहरुको मागलाई सुनुवाई गरिदिन आग्रह गरेका छन् । विपत्को समयमा सवै पक्ष एकाकर भएर लाग्न आग्रह गर्दै पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानाले आग्रह गरे । ‘तपाईहरु आफैँ समस्यामा हुनुहुन्छ’,यातायात व्यवसायीप्रति लक्षित गर्दै रानाले भने,‘आफ्नो पीडा भुलेर जिल्लाबासीप्रति देखाउनुभएको सद्भाव अनुकरणीय छ ।’
संचारकर्मीहरुसँग समस्या राख्दै यातायात व्यवसायीहरुले सरकारले बीमा बापत लिने शुल्क र करमा छुट दिन सरकारसँग माग राखेका छन् । तत्काल लकडाउन खुलेमा बीमा लगाएत राज्यको विभिन्न निकायमा कागजपत्र नवीकरण गर्न ३५ लाख खर्च लाग्ने अध्यक्ष बस्नेतले जानकारी गराए ।