सत्य, त्रेता, द्वापर, कली पुराणमा चार युग
एकाएक कसरी थपियो पाँचौं यो घोप्टे युग ? त्यसमा धर्म, कर्म, संस्कृति आदि उल्लेख थियो
पाँचौं युग केवल मोबाइल मात्र उल्लेख भयो !! (१)
केटाकेटी, बुढाबुढी जम्मा भएर घरमा साँझ
कथा भन्न लगाउँथे हजुरबालाई राखेर माझ
कथा, श्लोक भन्थे बाजे जुँगामा ताउ लाउँदै
पुर्खाको धरोहर बचाउने जिम्मेवारी तिम्रो भन्दै !! (२)
बुढापाकाको कुरा सुनिदिने घरमा कोही छैन
बुढी आमालाई के भयो सोधिदिने कोही छैन
छोराछोरी कसैको पनि काम हेर्दा केही छैन
चौबीस घण्टामा तिनलाई चारघण्टा फूर्सद छैन !! (३)
घोप्टिरहेको थियो छोरो पुलुक्क हेरेर फर्कियो
को भनी सोधेको बाबाको आमा जवाफ दियो
थाहा छैन विचरा हजुरबा आमा, फुपू ,सानीमा
साइनो, संस्कार बगाइ लग्यो घोप्टेले पानीमा !! (४)
देउडा,भजन,बालुन के हो उसलाई थाहा छैन
आजभोलि त जोईपोइमा नि बोलचाल हुनेहैन
चारयुग त ठिकै थियो पाँचौं युग किन आयो ?
मानवता खोसेर मानिसलाई दानव बनाइदियो !!(५)
घोप्टे युगले छपक्क छोप्दा मानिस पशु हुन थाले
आमा छोरी,नातिनी,भान्जी केही नभनी निमोठ्न थाले
स्वार्थी र पापी बढे धर्मात्मा घटे घोप्टे युगमा अस्मिता जोगाउन नै मुश्किल भयो नारीलाई धर्तीमा !!(६)
चटक्क सहरी पहिरन कोदालो लिएर हातमा
तस्बिर लिएर राख्यो लाइक आयो फेसबुकमा
थचक्क बस्यो घोप्टिएर के कति आए प्रतिक्रिया ?
मस्किँदै लेख्यो त्यहीँ बसी कसैको छैन वास्ता !! (७)
साथी कोही नचाहिने लौन कस्तो युग आयो ?
घोप्टी परी ढाड दुख्दा नि यो कति प्यारो भयो
जो आए नि घोप्टे पर्ने ठाडो कोही देखिँदैनन्
एक अर्काको भावना बुझ्न खोज्ने कोही होइनन !! (८)
घरमा हुँदा मन नपर्ने श्रीमान श्रीमतीलाई पनि
फेसबुकमा प्रतिक्रिया दिने आहा सुन्दर भनी
सामाजिक दुरी होइन मनको दुरी बढाइदियो
पारिवारिक अवस्थालाई क्षतविक्षत बनाइदियो !! (९)
कर्तव्य भुलेर हामी घोप्टी मात्र रहयौँ भने
मलामी नि हुने छैनन् मरिजाँदा हाम्रो रूने
डोजरले खाडल खनी पुर्नु परेजस्तै लाश
ठूलो खाडल खन्दै छ है घोप्टेयुगले आज !! (१०)
प्रविधिको प्रयोग गरौँ नबिर्सौँ मानव हौँ भनी
सर्वश्रेष्ठ प्राणी हो देखाऔँ विवेकशील बनी सभ्य, आधुनिक बनौँ हामी परम्परा जोगाएर
घोप्टे युगलाई हामी भन्दा अलि पर पठाएर !! (११)