बुटवल : प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना नियन्त्रणमा सरकारले गरेको खर्चका विषयमा अनावश्यक टिप्पणी भइरहेको बताएका छन् । उनले सडकमा उत्रिएर विरोध गर्नेहरुलाई तथ्यको जगमा उभिएर विश्लेषण गर्नसमेत सुझाएका छन् । ‘अहिले नै खर्च बढी भयो भनेर अविश्वास गर्ने अनि एकघर एक पिसिआर परिक्षण गर्नुपर्छ भन्ने माग आउनु विरोधाभाषणपूर्ण देखिन्छ’,उनले भने,‘एक घर एक पिसिआर परिक्षण गर्दा परिक्षणमा मात्रै न्यूनतम ५० देखि ६० अर्ब खर्च लाग्न सक्छ ।’
सामाजिक सञ्जालमा उनी यस्तो लेख्छन् :
कोरोना महामारीमा अहिलेसम्म भएको खर्चका वारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पंक्ति फराकिलो देखिदैछ । यसले परिक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको छ । हो, खर्च पारदर्शी र विधिसम्मत हुनु पर्दछ । त्यसका कुनै छुट हुन सक्दैन । संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रकृयामा अल्झने अवस्था पनि छैन । त्यसैले खर्च गर्नेहरु जिम्मेवार बन्ने र वाचडगको भुमिकामा रहेकाहरुले धैर्य गर्ने समय हो यो ।
अहिले जति खर्च भएको छ त्यो संकटको सापेक्षतामा निकै कम हो । सार्वजनिक भएको हिसाव पनि मोटामोटी अनुमान हो । कोरोना परिक्षण र उपचारमा खर्चहुने समय वल्ल सुरुहुँदैछ । यतिवेला सरकारले अझै ठूलो खरिद गरेर थप तयारी गर्नुपर्ने छ । अहिलेसम्म संघ, प्रदेश र स्थानिय तहले खर्चको व्यवस्थापन गरेका छन् । खर्च राज्यका स्थायी संरचनावाट हुने हो । वास्तविक खर्च त भुक्तानी भएसंगै सरकारी लेखामा देखिने नै छ । उपचार र परिक्षणमा संलग्नले पाउनुपर्ने जोखिम भत्ता सायद अहिले नै पाइसकेको अवस्था छैन । पछि त्यो जोडिदा अहिलेको खर्च वढ्न पनि सक्छ ।
अहिले नै खर्च वढि भयो भनेर अविश्वास गर्ने अनि एकघर एक पिसिआर परिक्षण गर्नुपर्छ भन्ने माग आउनु विरोधाभाषपूर्ण देखिन्छ । एक घर एक पिसिआर परिक्षण गर्दा परिक्षणमा मात्रै न्युनतम् ५० देखि ६० अर्व खर्च लाग्न सक्छ । अनि रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामर्थ्य हामीसंग छ र रु त्यो असम्भव र अव्यवहारिक कुरा गर्नुहुँदैन ।
खर्चको पारदर्शीताका नाममा उठाइएका यस्ता मागले जनसमुदायलाई नै भ्रमित बनाइरहेको छ । परिक्षण र उपचारमा प्रतिकुल असर पुर्याइरहेको छ । हो सम्भव भएसम्म परिक्षणको दायरा वढाउनु पर्छ । प्रदेश सरकारहरुले पनि प्रयास गरिरहेकै छन् । तर विरोध र असहमतीको यो तरिकाले त्यसमा सहयोग पुर्याउदैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।
यतिवेला त सचेत पंक्तिले तथ्यको जगमा उभिएर विश्लेषण गर्न सक्नु पर्दछ । हामी भन्दा शक्तिशाली देशहरुले हामीले चाहेजस्तो मात्रै होइन हामीले गरेजस्तो पनि गर्न किन सकिरहेका छैनन् ? नचाहेर वा गैरजिम्मेवार भएर त होइन होला । त्यसैले यो समय कसैलाई देखाइदिने र लकडाउनको उकुसमुकुसमा रमाइलो गर्ने समय होइन । सबै जिम्मेवार भएर कोरोना विरुद्ध मिलेर संघर्ष गर्ने समय हो ।
कोरोनाको सबैभन्दा ठूलो उपचार रोग लाग्न नदिनु नै हो । जसले वाहिरी मानिससंगको भेटघाटमा एक मिटरभन्दा वढिको दुरी निरन्तर कायम गर्नसक्छ उ सुरक्षित हुन्छ । घर वाहिर जानुपर्दा मास्क अनिवार्य लगाउने, सार्वजनिक ठाउँमा हातले नछुने, छुनुपरेमा सेनिटाइजर गर्नु र सावुनपानीले मिचिमिचि हातधुनु आवश्यक छ । यतिवेला सबैले जारीभएका स्वास्थ निर्देशनलाई अनिवार्य पालना गर्नसक्दा कोरोना विरुद्धको लडाइ लड्न धेरै सजिलो हुनेछ । सचेत पंक्ति सुरक्षित रह्यो भने विरामीका लागि परिक्षण र उपचार अहिलेकै अवस्थामा पनि सहज हुनेछ । सचेत तप्काले गर्ने सहयोग यो पनि हो ।