सौतामारे (प्यूठान) : झिमरुक क्षेत्रमा पर्ने तत्कालिन दर्जन गाविसहरुको सुरक्षाका लागि बांगेमरोठको सौतामारे लाँकुरीरुखमा प्रहरीचौकी स्थापना थियो । स्थानीय बुढापाकाका अनुसार दुइवटा खरका छानाको झुपडीमा एक हवल्दार र तीन प्रहरी जवान गरी चार जना सुरक्षाकर्मी कार्यरत थिए । स्थानीय सामुदायिक वनको सल्लेरीमा गोठालाले दिउँसै आगो लगाए ।
सल्लेरी वनमा लागेको आगो अनियन्त्रि भइ गाउ पस्यो । खरको झुपडीमा रहेको प्रहरीचौकी जलेर ध्वस्त भयो । त्यसलगत्तै सुरक्षाकर्मीले आफैँ असुरक्षाको महशुस गरेपछि चौकी विस्थापित भयो । २०११ सालमा स्थापित प्रहरीचौकी २०१३ सालमा विस्थापित भएको सौतामारेकी स्थानीय ७६ वर्षिय बृद्धा खिमा थापाले जानकारी दिइन् । प्रहरीचौकी चल्नेबेला देख्ने उनी प्रत्यक्षदर्शी हुन् ।
प्यूठान, गुल्मी र अर्घाखाँचीको सिमाक्षेत्रमा पर्ने झिमरुक गाउँपालिका १ सौतामारे प्यूठानका स्थानीयले विस्थापित प्रहरीचौकी स्थापना गर्न माग राखेका छन् । यस क्षेत्रकै पहिलो स्थापित चौकी हटेपछि आफूहरु निराश हुनुपरेको स्थानीयको दुःखेसो छ । यस क्षेत्रमा दिनप्रतिदिन हिंसाजन्य घटनाहरु बढ्दै गएकाले चौकी स्थापनाको आवश्यकता देखिएको स्थानीय बताउँछन् ।
छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीको प्रहरीचौकी नजिकै भएपनि प्यूठानको भूगोगलमा घटना भएमा सम्वन्धित जिल्लाबाटै प्रहरी आउनुपर्ने बाध्यताले समस्या भइरहेको वडा अध्यक्ष धुर्वराज खनालले बताए । ‘मानवीय हिसावले प्रहरी आउनु कुरा फरक हो’,उनले भने,‘तर जुन जिल्लामा घटना घटछ उही जिल्लाकै प्रहरीले मुचुल्का उठाउनुपर्ने बाध्यता रहेछ ।’
गाउँमा पछिल्ला केही वर्षदेखि घरेलु हिंसा, झै–झगडा, आगलागी, चोरी लगाएतका हिंसाजन्य घटनाहरु बढ्दै जान थालेकाले चौकी स्थापना हुनुपर्ने उनले बताए । सिमानाको क्षेत्रमा विभिन्न जिल्लाका पर्यटकहरु घुम्न आउने गरेको उनको भनाइ छ सौतामारे सालझण्डी–ढोरपाटन र मदान भण्डारी राजमार्ग सडक खण्डमा पर्दछ ।
सौतामारे पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरुको घुम्नजाने ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा विकास हुँदै छ । पर्यटकहरुको सुरक्षाका लागि समेत गाउँमा प्रहरीचौकीको स्थापना आवश्यक रहेको स्थानीय काशीराम विकले बताए । बाहिरी जिल्लाबाट आएका पर्यटकहरुले सुरक्षित महशुस हुने खालको वातावरण गाउँमा हुनुपर्ने उनको भनाइ छ । गाउँ आएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्त, प्रहरी नायव उपरिक्षक नरेन्द्र बहादुर कार्की सहितको सुरक्षा टोलीलाइ चौकी स्थापनामा पहल गरिदिन् माग राखेको विकले बताए ।
सौतामारेबाट गुल्मीको मदाने गाउँपालिका केन्द्र पुर्कोंटदह ६ किलोमिटर, अर्घाखाँचीको मालारानी गाउँपालिका केन्द्र खनदह सात र प्यूठानको झिमरुक गाउँपालिका केन्द्र मच्छिमा पुग्न १५ किलोमिटर यात्रा गर्नुपर्ने गर्नुपर्दछ । छिमेकी जिल्ला गाउँबाट नजिकै भएपनि सम्वन्धित जिल्लाकै सुरक्षा टोलीले घटनाको अध्ययन अनुसन्धान गर्नुपर्ने व्यवहारिक अभ्यास छ । स्वर्गद्धारी, सुपादेउराली र रेसुंगा लगाएत धार्मिक एवं पर्यटकीय स्थलहरुमा पुग्नका लागि समेत सौतामारे प्रमुख मार्ग बन्दै आएको छ । घनाबस्ती भएको यस गाउँमा प्रहरीचौकी सहित स्वास्थ्यचौकी समेत स्थापना आवश्यक देखिएको स्थानीय खिम बहादृुर जिसीले बताए ।
स्थानीयको माग र आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको निर्णय गरी पाँच नम्वर प्रदेश प्रहरी कार्यालय दाङमा चौकी स्थापनाको लागि सिफारिस पठाइएको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी गराए । उनका अनुसार शुरुवाती चरणमा सुरक्षाको संवेदनशिता अध्ययन गरी प्रहरीचौकी स्थापना गरिन्छ । उनका अनुसार चौकी स्थापना गर्न सुरक्षाको अवस्थालाइ मध्यनजर गर्दै कम्तीमा १० देखि १३ जनासम्म जनशक्ति आवश्यकता पर्दछ ।