अहिले विश्व नै कोरोना महामारीले आक्रान्त भइरहेको छ । बाँच्नु नै ठूलो रहेछ भनी आफ्नो जीवनका सबै कुरा विर्सिएर विश्वका मानिसहरू जस्तै नेपालीहरू पनि लगभग साँढे दुई महिनादेखि घरभित्र बन्दी जीवन बिताइरहेको कुरा त सर्वविदित नै छ । यस्तो अवस्थामा आफ्ना परिवारको सुरक्षा गर्नु सबैको जिम्मेवारी हो र हुनुपर्छ यसमा कसैको दुईमत नै छैन । लाखौँ विद्यार्थीहरूको पठनपाठन ठप्प छ । अभिभावकलाई आफ्ना बालबालिकाको भविष्यको चिन्ता हुनु स्वभाविक हो । सबैभन्दा बढी मानिसको भेला हुने ठाउँमा शैक्षिक संस्थाहरु पर्छन् र सजिलैसँग समुदायमा यो रोग फैलिन सक्ने भएकाले नेपाल सरकारले महामारी नियन्त्रण पछि सबैभन्दा पछि खोल्ने कार्यलयको सूचिमा पनि विद्यालय राखेको छ र राख्नुपर्ने आवश्यकता पनि रहेको छ ।
यस्तो अवस्था नेपालमा मात्र होइन विश्वमा नै देखिएको छ । अहिले हाम्रो नयाँ शैक्षिक शत्र सुरू भइ सरकारी र नीजि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान चलाएर विद्यार्थी भर्ना गरि शैक्षिक गतिविधि सञ्चालन गर्न सकिएको अवस्था छैन । कतिपय नीजि विद्यालय र सरकारी विद्यालयले सामाजिक दूरी कायम गर्दै पुस्तक वितरण गरेका तस्बिरहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।
केही दिन अगाडिको कुरा हो एउटा कुनै गाउँको सामुदायिक विद्यालयले सामाजिक दूरी कायम गरी पाठ्यपुस्तक वितरण गरेको र छुटेका विद्यार्थीले यही महिनाको अन्त्ससम्ममा विद्यालयमा सम्पर्क गर्नु भनी सूचना सहितको केही तस्बिरहरू सार्वजनिक गरेको रहेछ । मैले एकजना सामुदायिक विद्यालयको शुभचिन्तकको प्रतिक्रिया पढेँ जसलाई यहाँ जस्ताको तस्तै साभार गर्छु ,“गाउँघरमा न त कोरोना लागेको मान्छे छ, न त बाहिरबाट आएको छ, विद्यालय सुचारू गरे नि हुन्छ । किन शिक्षकहरूलाई त्यत्तिकै तलव खान दिनु र ?’’
यो प्रतिक्रिया पढिसकेपछि मलाई सोँच्न बाध्य बनायो । के सरकारी शिक्षक राष्ट्रको ढुकुटी सकेर कर्तव्य पूरा नगरी आफ्नो र परिवारको पेट मात्र भरिरहेका छन् त ? हाम्रा अभिभावकको सरकारी शिक्षकप्रति हेर्ने दृष्टिकोण र गरिने टीकाटिप्पणी सही हुन् त ? वास्तवमै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नहुनुमा शिक्षक नै कारक तत्व हो ? यो प्रश्नको उत्तर खोज्नु आवश्यक छ ।
घर नै बालकको पहिलो पाठशाला हो । उसले घरमा हजुरबुबा, हजुरआमाबाट धर्म संस्कृति, परम्परा, आदर, सम्मान र संस्कार सम्बन्धि विविध कुरा सिक्ने अवसर पाउँछ भने आमाबुबाबाट आधुनिक कुराहरू सिक्न पाउँछ । आफूले घरमा र विद्यालयमा सिकेका कुराहरूलाई मिलाउँदै उसले धर्म, संस्कृति ,संस्कार, मूल्य मान्यता र परम्परालाई आत्मसात गर्दै आधुनिक यूगमा सभ्य र विकसित जीवन व्यतित गर्न सिक्दछ । यदि उसले घरमा राम्रो वातावरण र सिकाइ पाउन सकेन भने विद्यालयको भरमा मात्रैै पूर्ण सिकाइ हुन सक्दैन । बालबालिकाहरूले अभिभावकका सपना पूरा गरून् भन्ने चाहना सबैको हुन्छ ।
यसका लागि आफ्ना बालबालिका लागि सही मार्ग देखाउनु अभिभावकको कर्तव्य हो । गाउँका सामुदायिक विद्यालयमा अधिकांश विद्यार्थी गरिब, असाहय, टुहुरा अध्ययनका लागि आउने गरेको पाइन्छ भने सहरी क्षेत्रको सामुदायिक विद्यालमा पढ्ने विद्यार्थी करिब ४० प्रतिशत अरूको घरमा काम गर्न बसेका घरेलु कामदार रहेका छन् भने केही प्रतिशत बालबालिका अनाथाश्रममा बस्नेहरू छन् र अरू बाँकी गाउँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी जस्तै गरिब, असहाय,टुहुरा आदि रहेका छन् ।
बिहान बेलुका मजदुरी गरेर अलिअलि कमाइ भयो भने छोरालाई निजी विद्यालयमा र छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेको पाइन्छ । एउटै आमाका सन्तान छोरो निजी विद्यालयमा जान्छ । उसलाई विद्यालयको पोशाक स्त्री गरेर, चटक्क पालिस गरेको कालो छालाको जुत्ता, टाइ, कपालमा तेल राखेर कोरी, झोलामा किताब, विषयपिच्छे फरकफरक कापी, सीसाकलम, मेट्ने (इरेजर) सीसा तिखार्ने (कटर), रूमाल, बोतलमा पानी, खाजा वा खाजा खानका लागि पैसा राखिदिएर समाउँदै विद्यालयको ढोकासम्म पु¥यउन जाने, महिनामा शुल्क तिर्न जाँदा छोरोको पढाइको बारेमा सबै विषय शिक्षकसँग छलफल गर्ने अनि घरमा आफूलाई सिकाउन नआए पनि अगाडि बसेर पढ्न लगाउने तर सरकारी विद्यालयमा जाने छोरी घरमै लगाउने लुगा, चप्पल, हातमा किताब, सबै विषयका लागि एउटा कापी, न खाजा, न खाजा खाने पैसा, न शुद्ध पिउने पानी त्यसैै जान्छे। अधिकांश सामुदायिक विद्यालयमा छात्राको संख्या बढी र छात्रको संख्या कम हुने गर्दछ ।
सामुदायिक विद्यालयले वर्षमा तीनवटा परीक्षा लिन्छ र त्यसको नतिजा प्रकाशन गर्छ। आफ्ना बालबालिकाको नतिजा लिन आउनुहोला भनी विद्यालयले सूचना सबै बालबालिका मार्फत सम्भव भएसम्म लिखित र सम्भव नभए मौखिक जानकारी गराउँछ । अझ पछिल्लो समयमा त वार्षिक भित्तेपात्रो बनाएर सबै अभिभावकलाई दिने व्यवस्था पनि गरेको छ। विद्यालयले विद्यार्थीले गृहकार्य नगरेमा, नराम्रो व्यवहार देखाएमा वा अन्य कुनै जानकारी लिन अभिभावक बोलाउने गर्छ तर अभिभावक आउँदैनन् ।
यतिसम्म कि पहिलो त्रैमासिक परीक्षाको नतिजा वार्षिक परीक्षा सुरू हुने बेलामा लिन आउँछन् भने कतिले त विद्यार्थीलाई नै पठाइदिन अनुरोध गर्छन्। सामुदायिक विद्यालयले वार्षिकोत्सब गरी अभिभावक भेला गराउँछ तर अभिभावकको उपस्थिति न्यून रहन्छ। विद्यालयले बोलाएको समयमा आइहालेछन् भने पनि कोही अभिभावकले उल्टो शिक्षकलाई नै तपाईंको काम के हो? तपाईंहरू नपढाउने अनि बच्चाले पढेन भनेर गाली गर्ने? पढ्न जा भनेकै छौँ ।
पढाउने काम तपाईंहरूको हो, तलब मात्र खाने नपढाउने तपाईंहरू अनि सामुदायिक विद्यालय कसरी राम्रो हुन्छ ? रिसाउँदै यसको भाइ बोर्डिङमा पढ्छ, कहिल्यै शिक्षकहरूले नराम्रो भन्नुहुन्न ? आफूले छोरालाई गरेको रेखदेख, शुल्क तिर्न जाँदा शिक्षकहरूसँग गरेको छलफल सबै भुलेर उल्टो शिक्षकसँग रन्किन्छन् भने कोही अभिभावक आफ्नो दुुुुः ख पीडा पोखेर तपाईंले जे गर्नुहुन्छ गर्नुहोस म केही भन्दिनँ भनेर जान्छन्। काम गरेर जस पाउनुको सट्टा गाली खानुपर्दा शिक्षकमा नैराश्यता आउनु स्वभाविक हो। सरकारी विद्यालय अति विकट ठाउँमा पनि छन्, जहाँ विद्यालयको भवन छैन, खेल्ने मैदान छैन, कम्प्युटर शिक्षाका लागि कम्प्यूटरको त कुरै छोडौँ,विजुली बत्ती पनि छैन । विज्ञान प्रयोगशाला छैन, शुद्ध पिउनेपानी छैन, सफा खाजा खानका लागि खाजाघर छैन, कतिपय ठाउँमा आजका दिनसम्म पनि शौचालयका लागि बालबालिकालाई झाडी देखाउनुपर्ने लज्जास्पद अवस्था छ ।
भवन भएका ठाउँमा झ्यालढोका छैनन्।कक्षाकोठामा दैनिक प्रयोगमा आउने सामग्री शिक्षकले झोलामा बोकेर दैनिक ल्याउनेलाने गर्नुपर्ने अवस्था छ । शिक्षक दरबन्दी रिक्त छन् । कहीँ विद्यार्थी अनुपातमा शिक्षक नै छैन।अझ भन्ने हो भने प्रयाप्त विषयगत शिक्षकको व्यवस्था नै छैन। एउटै शिक्षकले सबै विषय पढाउनुपर्ने अवस्था हामी माझमा स्पष्ट नै छ । यो सामुदायिक विद्यालयको तीतो यथार्थ हो र यसलाई हाम्रा अभिभावक, सरोकारवाला निकाय, शिक्षा हेर्ने सरकारी निकाय सबैले देखेकै कुरा हो ।
यस्तो अवस्थामा शिक्षकले पढाएन, तलव मात्र किन खान दिने, झोले र असक्षम, राजनीतिक कार्यकर्ता उपमा दिएर मात्र शिक्षामा गुणस्तरीयता आउँछ होला त ? हो केही शिक्षकले राजनीति गरेर आफ्नो कर्तव्य भुलेर विद्यार्थीको भविष्यमा खेलबाड गरेका छन् ,कुनैमा विद्यालय प्रशासन कमजोर वा अन्य समस्या भएका कुरा विभिन्न समयमा विभिन्न सञ्चार माध्यमबाट आइरहेका छन् । यदि त्यस्तो भएको छ भने सत्यतथ्य बुझेर त्यस्ता शिक्षकमाथि कानुनी कार्वाही किन हुँदैन ? विद्यालय प्रशासनलाई सुधार्न किन कदम चालिँदैन ? शिक्षकलाई कार्वाही गर्न, विद्यालयका अन्य बेथिति वा समस्यालाई समाधान गर्ने अभिभावक, समुदाय, शिक्षाको सरोकारवाला निकाय, शिक्षा हेर्ने सरकारी निकाय र अधिकार प्राप्त अधिकारीको कर्तव्य होइन ?
आफ्ना बालबालिकाको पढ्न पाउने अधिकार हनन गर्ने शिक्षकलाई प्रश्न उठाएर सुधार्ने वा कार्वाहीको माग गर्ने जिम्मेवारी अभिभावकको होइन ? शिक्षा हेर्ने सरकारका सम्बन्धि निकायका व्यक्तिहरू अनुगमन गर्न जाँदा यातायात सुलभ भएको ठाउँमा मात्र जाने, त्यहाँ गएर शिक्षकको हाजिरी पुस्तिका मात्र हेर्ने, न त विद्यालयको भौतिक पूर्वाधार, न त विद्यार्थीको हाजिरी पुस्तिका, न त विद्यार्थीको समस्या बुझ्ने प्रयास भएको पाइन्छ । दूरदराजका विद्यालय त त्यहीँ अध्यापन गर्ने शिक्षक ,त्यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र वरिपरिका समुदाय बाहेक अरूले देखेकै हुँदैनन्। उहीँ हो लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ...........।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास गर्ने ,आवश्यक विषय गत शिक्षकको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको होइन ? सामुदायिक विद्यालयको विकास गर्न सरकारको ढुकुटीबाट तलव खानेका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने कानुन बनाइ त्यसको कडाइका साथ लागू गरी धनी, गरिबका छोराछोरी एउटै कक्षामा बसेर पढ्ने वातावरण बनाउनु पर्नेमा सरकारले २०७७÷२०७८ को बजेट वक्तव्यमा उल्लेख गरिएको माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु, शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालय तथा गणित,अंग्रेजी र विज्ञान शिक्षक नपुग भएका विद्यालयमा थप ६ हजार स्वयंसेवक शिक्षक परिचालन गर्ने निर्णयले शिक्षामा देखिएको असमानको खाडल पुर्न सक्छ? सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर आउन सक्ला र? के यसमा शिक्षकको गल्ती छ ?
सरकारी विद्यालय नटेकेका केही शिक्षाविद्, आफ्नो जिम्मेवारी पूरा नगर्ने अभिभावक, शिक्षालाई बेवास्ता गर्ने सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्दैन ? कितपय ठाउँमा शिक्षकसेवा आयोगबाट नाम निकालेर नियुक्ति पत्र हातमा लिई जोश र जाँगर बोकेर गएका शिक्षकलाई राजनीति आस्था नबुझी हाजिर हुन नदिइएको तीतो सत्य सबैको सामु छँदै छ। हजारौँ शिक्षकमा दुईचार जनाले आफ्नो कर्तव्य पूूूरा गरेनन् भनेर विकट पहाड, हिमाल, तराई मधेश नभनी घरबार एकातिर कर्मथलो अर्काेतिर बनाइ आफ्नो सम्पूर्ण जीवन निःस्वार्थ सेवा गर्ने शिक्षकको आत्मा नरोला ? आजपनि खोलानाला, जङ्गल पार गरेर विद्यालय पुग्नुपर्ने ठाउँ छन्।
त्यहाँ कार्य गरि शिक्षा क्षेत्रमा पुर्याएको योगदनलाई विर्सिदिने ? यसरी शिक्षकलाई गाली मात्र गरिरहने हो भने त आफ्नो जीवनको लक्ष्य शिक्षक बनेर समाज परिवर्तन गर्ने सपना देखेर शिक्षा क्षेत्रमा प्रवेश गर्ने हजारौँ प्रतिभावान युवा यस क्षेत्रमा प्रवेश नै नगरी पलायन हुनेछन् र राष्ट्रको विकास सयौँ वर्ष पछाडि धकेलिने छ। त्यसैले शिक्षकलाई गाली होइन सम्मान र स्वतन्त्र भएर काम गर्ने वातावरण बनाऔँ ।
शिक्षकलाई त्यसै तलव खाने व्यक्तिको रूपमा नहेरौँ, खराब शिक्षकलाई प्रचलित कानुन बमोजिम कार्वाही गरौँ, इमानदार र कर्तव्य निष्ठ शिक्षकलाई सम्मान र पुरस्कृत गरौँ । सरकारले आफ्नो देशको माटो सुहाउँदो शिक्षाको योजना बनाउँदै भौतिक पूर्वाधारको विकास गरी धनी र गरिबका छोराछोरी एउटै कक्षामा बसेर पढ्ने वातावरण बनाउनुपर्छ । सरकारी शिक्षकका छोराछोरी सरकारीमा नपढाउने। उनीहरूलाई आफूमा विश्वास छैन भन्ने प्रश्न पनि उठ्ने गरेको । सरकारले शिक्षकका मात्रै होइन राष्ट्रको ढुकुटीबाट तलव खाने सबैका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने कानुन बनाउनु पर्छ। अभिभावकले सामुदायिक विद्यालयको विकासमा सहयोग गर्नुपर्छ अनि मात्र सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरआउँछ। खाली शिक्षकलाई गाली गरी उसको मनोबल घटाएर शिक्षाको विकास हुन सक्दैन भन्ने कुरा सोच्नु आवश्यक छ ।