प्यूठान : प्यूठानमा आइसोलेसन बनाउन ढिलासुस्ती गरिएको छ । आइसोलेसन बनाउन कागजमा निर्णय गरेपनि यसले मूर्तरुप लिन सकेको छैन् । कोरोना संक्रमित थपिने क्रम दिनप्रतिदिन बढ्दै जाँदा समेत यसतर्फ सरोकारवाला निकायले सक्रियता देखाएका छैनन् । सोमवारसम्म जिल्लाभर १२ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ । एकै दिन प्यूठान नगरपालिकाका २ र ३ नम्वर वडामा गरी ८ जनालाई कोरोना लागेको पुष्टि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले गरेको छ ।
यसअघि स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकामा एक÷एक जना र माण्डवी गाउँपालिकामा दुई जना संक्रमित भइसकेका छन् । माण्डवीका संक्रमित दुई जना वडा नम्वर २ मर्कावाङका भएपनि उनीहरु छिमेकी बंगलाचुली गाउँपालिका दाङको क्वारेन्टाइनमा बसेका थिए ।
सरुमारानीका संक्रमित १९ वर्षिय पुरुषलाई उपचारका लागि दाङको बेलझुण्डीमा लगिएको छ । माण्डवी र स्वर्गद्धारीका संक्रमित सम्वन्धित स्थानीय तहकै आइसोलेसनमा राखेर उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक हेर्दा अझै ४ हजार ८ सय व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । तीन सय बढी व्यक्तिको पिसिआर परिक्षण हुनै बाँकी छ । सयौँको आरडिटी पोजेटिभ देखिएको छ ।
आरडिटी र कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको अवस्था हेर्दा जिल्लामा संक्रमित अझै बढ्ने खतरा देखिएको छ । ठूलो संख्यामा संक्रमित थपिए भने जिल्लामा उपचार गर्ने आइसोलेसन अझैपनि तयारी अवस्थामा छैनन् । धेरैजसो स्थानीय तह आइसोलेसनविहिन छन् । जिल्लाभरकै संक्रमितलाई राख्ने गरी प्यूठान नगरपालिका क्षेत्रमा आइसोलेसन बनाउने योजनाले मूर्तरुप नलिँदा जोखिम बढ्ने देखिएको छ ।
खरायो गतिमा संक्रमित बढेपनि, कछुवा गतिमा सरोकारावाल निकाय आइसोलेन बनाउन घस्रिरहेका छन् । जिल्लाकै अपनत्व हुने गरि आइसोलेसन सेण्टर बनाउने अभियान शुरु भएपनि यसले गति लिन नसकेको हो । जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाको संयोजकत्वमा आइसोलेसन व्यवस्थापन समिति समेत गठन गरिएको छ । उक्त समिति गठनमै सिमित भएको र जोखिम व्यवस्थापनमा चासो नदेखाएको नागरिकहरुले गुनासो गर्न थालेका छन् ।
जिल्ला स्तरिय आइसोलेसन सेन्टरको व्यवस्थापन एवं तयारीको लागी करिब ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको व्यवस्थापन समितिका सदस्य एवं प्यूठान नगरपालिका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताएका छन् । तर, उनले व्यवस्थापनमा प्रयोग हुने सबै सामान आइसकेको जानकारी दिए । पहिलो चरणमा चिकित्सक सहित १४ जना स्वास्थ्यकर्मी खटाउने योजना बनाएको उनी सुनाउँछन् । कोरोना संक्रमितमध्ये लक्षण देखिएका विरामी भएकाहरुलाई मात्र आईसोलेसन सेण्टरमा राखी उपचार गरिने उनको भनाई छ । कक्षपतीले आईसोलेसन संचालनमा जिल्ला विपद् व्यवस्थापन समितिले समन्वय गर्नुपर्ने बताएका छन् ।
प्रदेस सरकारले समेत पहाडी जिल्लामा ५० बेड क्षमताको आइसोलेसन सेण्टर निर्माण गर्न यसअघि नै परिपत्र गरिसकेको छ । कोरोना त्रासको तीन महिना हुन लाग्दा समेत रोकथाम तथा उपचारमा ठोस कार्यान्वयन नहुनु तयारी सुस्त भएको जुम्रिका स्थानीय व्यवसायी मनोज कुमार श्रेष्ठले गुनासो गरे । उनले सरोकारवाला निकायले जिल्लामा पूर्वतयारीलाई चुस्त बनाउन समेत सुझाव दिए ।
संक्रमितलाई छुट्टै राखेर प्रारम्भिक उपचारका लागि स्वर्गद्वारी नगरपालिकाले २६ र माण्डवी गाउँपालिकाले १० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरेका छन् । आइसोलेन सेण्टर बनाउन सवै स्थानीय तहले सहयोग गर्ने समेत बताएका छन् । जिल्लाकै नेतृत्वले ढिलासुस्ती गर्दा यसले गति नलिएको तहकै जनप्रतिनिधि बताउँछन् । ‘हामी सबैले सहयोग गर्ने भनेका छौँ,’ सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले भने,‘जिल्लामा बस्नेहरु अलि बढी लाग्नुप¥यो ।’ जिल्ला समन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समिति अलिबढि सक्रिय हुन उनले आग्रह गरे ।