बडरा (प्यूठान) : प्यूठान नगरपालिका वडा नम्वर १० स्थित बडरा नजिकैको गौचरन बनिरहेको जमिन बाँझै रहेको १५ वर्ष भइसकेको थियो । वर्षौ अघिदेखिको बाँझो जमिनमा कसैले खेती गरेका थिएनन् । न घरका नत, आफन्त कसैले खेती नगरेको जमिन यसपाली फोरिएको छ । बाँझो जमिनमा खेती गर्नका लागि लकडाउन पर्खिएजस्तै भएको छ ।
कोरोनाको त्रासमा मुलुक लकडाउन भएपछि सवै क्षेत्र प्रभावित छ । यूवाहरु बेरोजगार बनेर बसेका छन् । तर, यही समयलाई सदुपयोग गर्नेगरी स्थानीय चार जना यूवाहरु मिलेर यही बाँझो जमिनमा खेती थालेका छन् । स्थानीय धिरज पण्डित, पशुपति पण्डित, राजन पण्डित र निरञ्जन जिएमले सामूहिक लगानी गरेर खेती थालेका हुन् ।
कृषि प्राविधिकका अनुसार जमिन खेतीयोग्य भएपनि यत्तिकै खेर गइरहेको थियो । उक्त खेतीयोग्य जमिनमा मकै, भटमास, बोडी, अडहरको दाल, तिल, सेतो भटमास, कालो भटमास, अर्खाली भटमास लगाइएको छ । चरन क्षेत्र नजिकै भएकाले छाडा पशु चौपायाबाट खेती जोगाउन चुनौती देखिएको यूवाहरुले बताएका छन् ।
‘घरकै जग्गा त होइन’,धिरजले भने,‘आफन्तको जग्गा वर्षौ अघिदेखि बाँझो थियो । लकडाउन हाम्रो लागि उपयूक्त अवसर पनि बन्यो । अब हामी व्यवसायिक कृषिमा लागेर केही गरेर देखाउँने सोँचमा छौ ।’ करिब ८५ मुरी अन्न फल्ने बाँझो जमिनमा तत्कालका लागि ५० हजार रुपैयाँ लगानी गरिएको उनले सुनाए । उनीहरुले मौसम अनुसारको खेती गर्ने योजना बनाएका छन् ।