‘प्यूठ’ : सिपाही
‘ठान’ : ठाउँ
प्यूठानको नामाकरणमा ‘प्यूठ’ शब्दले सिपाहीको अर्थ जनाँउछ । ‘ठान’ शब्दले ठाँउ । सिपाहीको ठाँउ नै प्यूठान शब्दको शाब्दिक अर्थ हो । नेपाल एकीकरणको समयमा प्यूठान एक महत्वपूर्ण दुर्ग थियो । जब, गोरखाको नेतृत्व गरी आएका जिब शाह र दामोदर पाण्डेले प्यूठान राज्य र अन्य साना ओखरकोट, नारीकोट जस्ता साना राज्यहरुलाई बिशाल नेपालमा मिलाए । त्यसपछि प्यूठानबाट धेरै सिपाहीहरु नेपाल एकीकरणमा लड्नको लागी गएको कारणले पनि प्यूठान रहन गएको इतिहास पाइन्छ ।
त्यही सिपाहीलाई ‘मरबट’ दिईएको भएर नै बाङ्गेमरोटको मरोट ‘मरबट’ बाट अपभ्रंश भएको हो । अर्काे अर्थमा नेपाल एकीकरणको समयमा प्यूठान पश्चिम नेपाल एकीकरण गर्ने महत्वपूर्ण दुर्ग थियो र त्यो बेलामा पश्चिमका शक्तिशाली राज्यहरु ईश्मा, गल्कोट, अर्घा, खाँची, रुकुम जस्ता शक्तिशाली राज्यहरुको बीचमा रहेको र प्यूठान राज्यको दुर्ग खलङ्गा हाल जिल्लाको सदरमुकाम खलङ्गा सुरक्षाको दृष्टिकोणले निकै महत्वपूर्ण रहेकोले यहाँ सिपाहीहरु तैनाथ रहने ठाँउ भएकोले पनि यसलाई प्यूठान भनिएको दृष्टान्त छन् ।
प्यूठान जिल्लाको सदरमुकाम मल्लरानी डाँडाको काखमा रहेको छ । मल्लरानी डाँडा जहाँ प्राचिन मल्ल राजाहरुको राजधानी थियो । यो ठाँउ अहिले प्रयटकीय ठाँउको रुपमा बिकसित हुदैँछ । यहाँको लालिगुराँसको सुन्दर जंगल, प्यूठान खलङ्गा र प्यूठान उपत्यकाको सुन्दर दृष्यालोकनका साथै धौलागिरी, अन्नपुर्ण र कोठिभिर जस्ता उच्च हिम श्रृखंलाको अबलोकन नजिकबाट गर्न सकिन्छ ।
खलङ्गा शब्दको पनि आफ्नै परिभाषा छ । नेपाल एकीकरणको समयमा हातहतियार, बमबारुद राख्ने स्थानलाई खलङ्गा भनिन्थ्यो । ९२ वर्षिय जिवित मेरा कान्छो जिजु हजुरबुबा कुल बहादुर जि.सी राजा महेन्द्र देश दर्शनको लागी प्यूठान आएको बेला घोडा बाध्ने तबेला बनाउन खलङ्गा गएको कुरा बताउनुहुन्छ । उहाँले त्यहाँ बारुद घर सफा गरेर बारुद फालेको र त्यहाँ बारुद राख्ने गरिएकोले त्यहाको माटो कालो भएको इतिहास अहिले पनि सुनाउनुहुन्छ ।
खलङ्गा नाम नेपालको अरु जिल्ला सदरमुकाम जाजरकोट, सल्यान र जुम्लाको पनि रहेको छ । प्यूठानका अन्तिम राजा मोतिचन्द गोरखाको फौजसँग पराजित भए । त्यसपछि प्यूठानको केन्द्र भित्रिकोटबाट खलङ्गा हुन पुग्यो । खलङ्गा अहिले जिल्ला सहरमुकाम भएपनि एउटा प्रशासनिक ठाँउबाहेक सोँच्नु सायदै बढी हुन्छ होला । यहाँका अधिकांश घरहरु पर्खाल उठाएर र भित्ता खोपेर बनाइएका, पुराना मौलिका खालका छन् ।
शहरीकरण हुने किसिमको यहाँको भुगोल देखिदैन । आखिर धेरै बिकल्प हुदाँहुदै पनि किन यहाँ सदरमुकाम बनाईयो त ? धेरैलाई जिज्ञासा हुन सक्छ । खलंगालाई नै सदरमुकामलाई रोज्नु खास कारण यहाँको शुरक्षाको स्थिति नै हो । पहिला शुरक्षाको हिसाबले यहाँ राजधानी बनाईयो । पछि झिमरुक उपत्यकाको बिजुबारमा झार्ने कुरा थियो तर माओबादी द्धन्द्धको समयमा यसलाई झार्नु ठिक ठानिएन । छिमेकी जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क ध्वस्त हुँदा पनि खलंगालाई पटकपटक त्यसबेलाको विद्रोही माओबादीले प्रयास गर्दा पनि हान्न सकेनन् । पछि त्यही कारण नै सदरमुकाम खलंगाबा सार्नु उपयूक्त ठानिएन ।
शुरुमा सदरमुकामको लागी लुङको गाँउलाई छनोट गरिए पनि सबै जिल्लालाई केन्द्र नपर्ने भएपछि सबै जिल्लाको केन्द्र यहाँ पर्ने भएकोले खलङ्गा नै सदरमुकाम बनाइयो । खलङ्गाको बिकल्पको रुपमा प्यूठान उपत्यका, प्यूठानको मधेश भनेर चिनिने समतल भूभाग बाङ्गेशाल, माडी उपत्यका क्षेत्र हुन सक्थे तर ती मध्ये बाङ्गेशाल र माडी क्षेत्र जिल्लालाई समेट्नेगरी टाढा परे भने प्यूठान उपत्यका सदरमुकाम नहुनको पछाडी एउटा कुरालाई पनि आधार मानिन्छ ।
उहीले शाहबंशिय राजारानी देश दर्शनको बेला प्यूठान आएको बेला झिमरुक फाँटको सुन्दरता र यहाँको लहलाउँदो खेतीलाई देखेर यो फाँटलाई नमास्नु भनि हुकुम दिएको भएर पनि झिमरुक फाँटलाई बस्तिका रुपमा बिस्तार नगरेको पाईन्छ । समतल प्यूठान उपत्यका सदरमुकाम नहुनुमा त्यो बेला यो भूमी औँलो प्रभावित क्षेत्र साथै झिमरुक नदिको जोखिम क्षेत्र भएकोले पनि सदरमुकामको लागी उपयुक्त नहुन सक्ने आँकलन गर्न सकिन्छ । हालैका बर्षहरुमा पनि झिमरुक नदिको दोहन बढेसंगै यहाँको धेरै खेतियोग्य भूमी नदिले कटान गरेको छ । प्यूठान उपत्यकामा जिल्लामा कुल उत्पादनको ६०५ हेक्टर क्षेत्रफलमा उत्पादन हुन्छ । यसलाई प्यूठानको अन्नको भन्डार पनि भनिन्छ । अर्काे अर्थमा यसलाई झिमरुक नदिको बरदान भन्दा पनि भन्ने गरिन्छ ।
पहिला प्यूठान कृषिमा आत्मनिर्भर थियो । जसको प्रमुख जस यही झिमरुक फाँटलाई जान्छ । तर, हाल यो क्षेत्र भूमाफियाको चंगुलमा फसेर दिनरात प्लटिङ भईरहेको छ । २०६७ सालतिर मैले एसएलसी दिदाँ एउटा सानो बजार रहेको जुम्री क्षेत्र अहिले जिल्लाकै घना बजारको रुपमा बिकास भएको देखिएको छ । दाखाक्वाडी, जुम्री, बिजुबार, बाग्दुला र दम्ती जोडिने क्रममा छन् । यसरी अलौकिक सुन्दर तथा उब्जाउ भूमी आज कंक्रिटको छडले दिनदिनै कुरुप हुदैँ गएको छ । यो अत्यन्तै चिन्ताको विषय हो ।
झिमरुकको स्वरुप विगार्न नदिनका लागि सरोकारवाला निकायले धेरै ध्यान दिनुपर्छ । यसमा पनि अझ बढी प्यूठान नगरपालिकाले नै मुल नेतृत्व लिएर यसको बचाउँमा लाग्नुपर्ने देखिन्छ । झिमरुक फाँटले नै समग्र प्यूठानको पहिचानमा नेतृत्व गरिरहेको छ । जसरी काठमान्डौलाई नेपाल भनेर चिनिन्छ त्यस्तै खलङ्गा र प्यूठान उपत्यका क्षेत्रलाई प्यूठान भनेर चिनिन्छ । बिगतदेखी आगतसम्म प्यूठान भित्रको प्यूठानको आफ्नै महत्व रहेको छ । यो क्षेत्रको महत्वलाई कसैले नजरअन्दाज नगरी सबै जुट्नु जरुरी छ ।
- लेखक : मल्लरानी गाउँपालिका ३ का वडा सचिव हुन् ।