कोरोना विशेष
हुने खानेले त खालान् हुँदा खानेले के खाने
बच्चो रून्छ भोक लाग्यो भनी मैले के दिने ?
रोगले धनी गरिब नभनी गरेको छ समानता
तिमी बेकार किन खाडल खन्छौ असमानता !!(१)
ठेलागाडा, निर्माण बन्द भयो आम्दानीको ढोका पनि
बस्ने घर छैन मेरो खेतीपाती गर्ने जग्गा पनि
अरूको घरमा सकिनसकी भाँडा माझेर खाने
कोरोना आउँछ नआऊभने अब म कहाँ जाने ? (२)
तनमात्र बस्ने कि मन पनि बस्ने घरभित्र
पानी बाहेक केही छैन घरमा के राख्ने पेटभित्र ?
खुलेका छन् ठूलाठूला पसल किन्ने पैसा छैन्
गरिब, टुहुरा, अशक्त यो देशका नागरिक होइन ? (३)
राहात हो कि आहत हो यो एक किलो चामल
कति दिन पकाउन पुग्छ यो मागेको सामल ?
घरभित्र होइन बाहिर निस्किने वातावरण बनाऊ
मौका छोपी राजनीति दाउँपेच अभिष्ट नबनाऊ !! (४)
छोडीदेऊ सरकार संक्रमितको टाउको गन्न अनि
सामाजिक दुरी कायम गरी सुरक्षित हुनु भनी
सामाजिक होइन यहाँ मनको दुरी बढिसक्यो
सबै भताभुङ्ग भई अब ऊ एक्लो बनिसक्यो !! (५)
बुझ्दैन भोको पेटले कहिल्यै एमसिसीको परिभाषा
भरिँदैन तिनका भोकोपेट देख्दैनन् जसले आँखा
मानसिक रोगी बढीसके निको पार्छौ कसो गरी ?
यो विक्षिप्तता नेता हो निर्मुल गर्छौ कसोगरी ? (६)
गर्मी भतभत पोल्ने जेठको मधेसमा विचरा
झुपडी, रूखमुनि कतिदिन चल्ला त गुजारा ?
घमौरा र भोको पेटले एक अर्कालाई गिज्याउँदै
डेंगु, मलेरियाबाट पनि बच्न लामखुट्टे धपाउँदै !! (७)
बर्खा लागिसक्यो अब पर्छ तराई मधेश डुबान
भोको पेट लिई तिनीहरू कसरी सक्लान भागन?
घरबाहिर गए कोरोना त्रास भित्र बसे बगिने
जहाँ गयो त्यहीँ नै हो पापीभोको पेट ठगिने !! (८)
गरिबको नाममा राजनीति गरी चौरासी व्यञ्जन खानेहरू
तिनैको टाउको गनीगनी डलर कुम्ल्याउनेहरू
पेटभर्न पाए पो कोरोना जित्ने आउला शक्ति
भोको पेटमा लात हानी नदेखाऊ खोक्रो राष्ट्रभक्ति !!(९)
0000000