प्यूठान : नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रिय महासचिव मोहन वैद्य (किरण) ले आउँदो उपनिर्वाचनमा पार्टीले भाग नलिने बताएका छन् । वुधवार नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले जुम्री प्यूठानमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले उपनिर्वाचनलाई वहिष्कार गर्ने बताएका हुन् ।
धेरै निर्वाचन उपयोग गर्दै आएपनी अहिलेको परिस्थिति जनविरोधी भएकोले यस अबस्थामा जनताको काम गर्न नसकिने भन्दै उपनिर्वाचन उपयोग गर्न नसकिने स्पष्ट पारे । ‘खासगरी अहिलेको सरकार जनविरोधी गतिविधिमा उद्धत रहेकोले यस्तो अवस्थामा पार्टीले निर्वाचनमा भाग लिँदैन ।’ उनले भने ।
वर्तमान सरकारले देश र जनाताका निम्ति काम नगरेरै बदनाम भएको समेत आरोप लगाए । गतल क्रियाकलापको विरोध गर्ने उदेश्यले उपनिर्वाचनलाई बहिष्कार गरेको उनको भनाइ छ । जनताको समस्या समाधान गर्नतर्फ सरकारले कुनै ध्यान नदिएको उनले बताए ।
उपनिर्वाचनको समयमा पार्टीले देश र जनताको हितमा कार्यक्रमहरु अगाडी वढाउने तर चुनाब जितेपछि सबै भुल्ने गरेको उनले आरोप लगाए । उपनिर्वाचनका समयमा संगठन विस्तार, कार्यकर्ता भेटघाटका कार्यक्रमहरु अगाडी वढाउने उनको भनाइ छ । किरणले नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिएको बताए ।
महासचिव किरणले विप्लव नेतृत्वको नेकपाको पछिललो गतिविधि ठिक नभएको समेत बताए । ‘विप्लव जीले सहि काम गर्नुभएको छैन’,उनले भने,‘रहस्यमय कार्यदिशा बनाएर युद्धमा गए केही काम छैन ।’ बन्दुक नबोकी क्रान्ति नहुने समेत उनले उल्लेख गरे ।
सरकारले विप्लव नेतृत्व पार्टीलाई प्रतिबन्ध लगाउन नहुनेमा जोड दिए । सरकार प्रतिबन्ध भन्दा समस्याको समाधान तर्फ लाग्नुपर्नेमा जोड दिए । ‘विप्लप जी लाई वार्तामा बोलाएर सल्लाह गर्नुपर्छ’,किरणले भने,‘गलत ढंगले अगाडी वढेका विप्लवलाई सुधार्नुपर्छ ।’
दश वर्षे सशस्त्र जनयुद्धको बेला एउटै धारमा उभिएर जनयुद्ध सफल पारेका नेताहरु अहिले फरक फरक ठाउँमा किन त ? भन्ने पत्रकारहरुको प्रश्नमा बैद्यले जवाफ फर्काए,‘प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव छ ।’ दुवै नेतामा कम्यूनिष्टको सिद्धान्त सकिएको समेत उनले आरोप लगाए । पार्टी कार्यकर्तासंग भेटघाटसंगै लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य परिषद् प्यूठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुन किरण गृहजिल्ला आएका हुन् ।