नाकमा सिँगान, भोकै, नाङ्गै आएका बच्चाहरूलाई
लेख्ने कापी सीसा र पढ्ने पुस्तक नभएकाहरूलाई
सहयोगी हातहरू खोज्दै दयाको याचना गर्दै
खान लागेको खाजा असाहयलाई बाँड्दै
आफूलाई खुसी राख्न खोजेकै छन् !! (१)
आमाबा,परिवार नभएकाको परिवार बन्दै
पेट दुखेर छट्पटिएका लागि डाक्टर बन्दै
सधैँ विद्यालय आउन पर्छ भनी अनुरोध गर्दै
मोबाइलबाट फोन गरेर पनि बोलाएकै छन् !! (२)
अरूको घरमा बसेर काम गर्नेका पीडा बुझ्दै
पढ्ने वातावरण बनाइदिन अनुरोध गर्दै नतिजा प्रकाशनको जनकारी गराउँदै कहिले अभिभावकको त कहिले विद्यार्थीको पेटभरि गाली र थर्काइ खाँदै विद्यार्थीको सुनौलो भविष्य सोँचेकै छन् !! (३)
लठ्ठी समाउनु अघि सरकारी नियम सम्झिँदै
छाडा भए विद्यार्थी तह लगाउन नसक्ने लाञ्छना सहँदै
गालीलाई ताली सम्झी मुसुक्क हाँसी
चार महिनामा एकैचोटि परिवारको पेट भरिदिएकै छन !! (४)
ब्रह्ममाजीले प्रयोगशालामा मान्छे बनाउन हार नमानेझैँ
सिंहदरबारभित्र रहेको विज्ञान र कम्प्यूटर सामग्री बीनै
सेतोपाटीलाई प्रयोगशाला बनाइ चित्र कोरेर
वैज्ञानिक र प्राविधिक उत्पादन गर्न प्रयत्नरत नै छन !! (५)
शौचालय नै नभए पनि प्रयोग गर्ने तरिका चित्रमै भएपनि सिकाएकै छन
सरकारको खुला दिसापिसाब मुक्त राष्ट्रिय अभियानलाई सघाएकै छन्
अहिले पो देश गरिब छ पछि सम्पन्न हुन्छ भन्दै
सुखी नेपाली समृद्ध नेपालको सपना देखाएकै छन !! (६)
हातमा आइप्याड लिएर कारमा विद्यालय जानेलाई हेरी बनाएका नीतिलाई
कुहिरोभित्र स्कुल, हिउँले खाएको हातले होइन
खुट्टाले लेखी आत्मनिर्भर,स्वाभिमान बन्न हौसला दिएकै छन् !! (७)
ठूलो माछाले भुरा माछा खाइ थिचोमिचो गर्ने अनि
धनी गरिबी, जातपातले खनेको खाडल पुर्न
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भनी
मानवता,समानता,देशभक्तिको पाठ पढाएकै छन !! (८)
बालविकास, कर्मचारी छ हजारमा काम गरी
आफ्नो अधिकार नमागी स्वयमसेवी शिक्षकको स्वागत गर्न हतारिँदै गुणस्तरीय शिक्षाको आशामा बसेकैै छन !! (९)
विचरा ! सरकारी शिक्षकहरू
असक्षम र झोलेको उपनाममा पनि खुसी हुँदै
राज्यले गर्ने उपेक्षाको बेवास्ता गर्दै
आफ्नो संस्कार धर्म र संस्कृति जोगाउने खाका कोरी
तिनैै टुहुरा र हिउँ बच्चाले पूरा गर्नेछन् हाम्रो सपना भनी झोलामा खाका बोकी अनवरत कर्तव्य पथमा लम्किरहेकै छन्......
लम्किरहेकैै छन !!! (१०)
000000