प्यूठान : मल्लरानी गाउँपालिका ३ का एक यूवालाई प्रहरीले कुटेका छन् । क्वारेन्टाइनमा बसेकाहरुलाई खाना खुवाउने विषयमा सामान्य भनाभन हुँदा स्थानीय झविलाल खत्रीलाई प्रहरीले कुटेको हो । प्रहरी चौकी चुँजाठाटीका प्रहरी सहायक निरिक्षक (असई) भीम बहादुर वलीले यूवालाई कुट्दा दायाँ हात भाचिएको छ । यूवाको जिल्ला अस्पताल विजुवारमा उपचार गरिएको छ । प्रहरीकै कुटाईबाट अर्का स्थानीय फनबहादुर खत्री घाइते भएका छन् ।
स्थानीयबासीका अनुसार वडा अध्यक्ष गिरिराज पौडेल र कार्यपालिका सदस्य चन्द्र बहादुर सार्कीले गाउँमै मिलाउन सकिने विवादलाई पनि प्रहरी बोलाएर कुटाएका हुन् । जनकल्याण प्राथमिक विद्यालय चौथीलगाउनेमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई खाना नपुगेको विषयमा विवाद उत्पन्न भएको थियो । प्रहरी बोलाई बोलाई स्थानीयलाई कुटेको विषयमा गाउँलेले वडा अध्यक्ष सहित जनप्रतिनिधीको चर्को विरोध गरेका छन् ।
‘जनप्रतिनिधिले त विवादलाई समन्वय गरेर मिलाईदिने पो हो त’,स्थानीय एक यूवाले भने, ‘प्रहरी बोलाई बोलाई कुटेको हेर्न दर्शक बन्ने होइन् ।’ स्थानीयस्तरमा मिल्न सक्ने सामान्य विवादलाई वडा अध्यक्ष पौडेल र कार्यपालिका सदस्य सार्कीले प्रहरी बोलाएर कुट्नु अमानवीय व्यवहार भएको गाउँलेहरुले प्रतिक्रिया दिएका छन् ।
विवादलाई सहजीकरण गर्न शनिवार गाउँपालिका अध्यक्ष अमरध्वज राना, राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्ण बहादुर खड्का सहित सामाजिक अगुवाहरु मुनडाँडा पुगेका थिए । स्थानीय छलफलमा गाउँलेहरुले जनप्रतिनिधिहरुलेनै कुटाएको भन्दै तिब्र आक्रोश प्रकट गर्दै कारवाहीको माग समेत गरेका छन् । तर, वडा अध्यक्ष पौडेलले यूवाहरुलाई कुट्न नभई गाउँमा विवाद मिलाउनका लागि प्रहरी डाकेको प्रतिक्रिया दिएका छन् ।
यूवा कुट्ने असई जिल्ला तानिए
कुटपिटमा संलग्न चुँजाठाटी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) भिम बहादुर वलीलाई जिल्ला प्रहरी कार्यालय प्यूठान तानिएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिसकिएको प्यूठान प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।