गर्जेनी (प्यूठान) : १६ वर्षअघि प्यूठानलाई मात्र होइन सिंगो देशलाई नै स्तब्ध बनाउने गरि गर्जेनीमा जन्तीबस दुर्घटना भयो । बेहुला सहित ४१ जनाले ज्यान गुमाए । २०६१ माघ ८ गते दाङको देउखुरीबाट बेहुली लिएर प्यूठानस्थित टारीगाँउ फर्केको बस गर्जेनीमा दुर्घटनाग्रस्त भएको थियो । गाँउनै रित्तो हुने गरी भएको दुर्घटना सम्झदा टारीका स्थानीय त्रसित हुन्छन् ।
दुर्घटनाको कारण साँघुरो र घुम्टी सडक नै भएको धेरैको आँकलन छ । त्यसबेला घटनास्थलको साँघुरो घुम्टी सडक जस्तो थियो अहिले पनि उही अवस्थामै छ । यति धेरैको ज्यान जानेगरी भएको दुर्घटनाले सम्वन्धित निकायको ध्यान सडक सुधार गर्नतर्फ जान सकेको छैन् । एउटा पुस्ता हुर्किने समय भइसक्दा समेत यसतर्फ जिल्लाका सरोकारावाला निकाय बेखवरजस्तै गरेर बसेका छन् ।
गर्जेनी माण्डवी गाँउपालिका वडा नं.१ मा पर्दछ । साँघुरो सडककै कारण दुर्घटनाको जोखिम अझै पनि कायमै छ । दुर्घटनास्थलमा माण्डवी नदी किनार पट्टि वाल भत्कीएको, सडक छेउको डिभाइडर, ढुङ्गा जाली भत्किएको छ । प्यूठान प्रवेश गर्ने नयाँ सवारी चालकले गर्जेनीमा पुग्दा खाल्डाखुल्डी बचाउँने निहुँमा सवारी साधन खोलामै फाल्न सक्ने जोखिम उत्पन्न गराएको गाडी चालकहरु सुनाउँछन् । ‘सडकको छेउतिरको पक्की भाग समेत भत्किएको छ’,यात्रुवाहक बसका रात्री सेवाका चालक शुरेस नेपाली (टाईमपास) ले भने,‘मोड अनि खाल्डाखुल्डी त्यहाँ सचेततापूर्वक मोड काट्नुपर्दछ ।’ यथासिघ्र सडक मर्मत तथा छेउपट्टीको भागमा ठूलो वाल लगाउन समयमै ध्यान दिनुपर्ने उनले सुझाव दिए ।
घटना भएपछि मात्र तात्तीने संस्कारबाट माथि उठ्नुपर्ने नागरिक सरोकार समाज प्यूठानका संयोजक सुमन सुवेदीले बताए । ‘हृदयविदारक घटनालाई भुल्न खोज्दा र त्यहाँ पुग्दा पुनः ताजगीपन देखापर्दछ’,टारी गाँउका स्थानीय समेत रहेका सुवेदीले भने, ‘दुर्घटनास्थल सडकको अवस्था दयनिय छ ।’ सम्भवत् नेपालकै ठूलो जन्ती बस दुर्घटना भएको ठाँउमा सामान्यतया सडक चौडा बनाउने, खाल्डाखुल्डी पुर्ने लगाएत अन्य केहि नयाँ काम हुन नसकेकोमा सुवेदीले चिन्ता व्यक्त गरे ।
तत्कालिन जिल्ला विकास समितिले गर्जेनी बस दुर्घटना छानविन समिति समेत गठन गरेको थियो । हालका वरिष्ठ अधिवक्ता समेत रहेका रामेश्वर सुवेदी नेतृत्वको टोलीले दुर्घटनाको कारण तथा सुझाव सहितको छानविन प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनबारे हालसम्म सम्वन्धित तथा सरोकारवाला निकायले कुनै चासो एंव कार्यान्वयनमा ध्यान नदिएको सुवेदीले बताए । ‘राज्यनै बेखबर भएपछि ककले के गर्ने ?’,सुवेदीले भने, ‘दुर्घटनास्थल क्षेत्रमा कुनै बदलाब आउन सकेन यो बिडम्वना हो ।’
सडक डिभिजन कार्यालय प्यूठानका डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले पुरानै योजनाले निरन्तरता पाएको जिकिर गरेका छन् । ‘कोरोनाका कारण नयाँ ठेक्का खोल्न पाएका छैनौं’,सापकोटाले भने, ‘गर्जेनी दुर्घटना मैले सुनेको हुँ, अब ठेक्का खुलाउँदा मोड कटिङ गर्नेछौं ।’ सडकमा ‘क्रयास स्टिलबार’ लगाउने लगाएत अन्य आवश्यक कामहरु गर्दै सडक यात्रा सुरक्षित बनाउने तर्फ कार्यालयको ध्यान जाने उनको भनाई छ । भालुवाङ–प्यूठान सडकलाई नै मर्मत गर्नुपर्ने यातायात व्यवसायीहरुले बताएका छन् ।