- प्रकृतिले दिएको खलंगालाइ उपहार
- मल्लरानीसँग जोडेर पर्यटन विकास
- बसीरहौँ लाग्ने गर्मीमा त्यो शितलता
- शान्त र सुन्दर खलंगा
खलंगा (प्यूठान) : कार्यक्रम ‘साझा सवाल’ का लागि विविसीका पत्रकार सुमन खरेल २०६४ सालमा प्यूठान आए । प्यूठान भ्रमण उनका लागि पहिलो थियो । जिल्लाको प्रमुख बजारकेन्द्र बाग्दुलाबाट पक्कीपुल तरेपछि सदरमुकाम खलंगाका लागि उनी साथीहरुसँगै उकालो चढे । उकालो चढ्दै गर्दा खरेलले भनेका थिए,‘कता कता स्वीजरल्याडको झल्को दिने जस्तो रहेछ प्यूठानको खलंगा ।’ खरेलजस्तै पहिलोपटक पुग्नेहरुले खलंगालाइ हरेक दृष्टिकोणबाट प्रशंसा गर्छन् । प्राकृतिक सौन्दर्यता, हावापानी र बसोवासका हिसावले प्यूठान सदरमुकाम खलंगा धेरैको आँखामा विजाउने गर्दछ ।
मुलुक संघीय संरचनामा गएसँगै खलंगाको चहलपहलमा संख्यात्मक रुपमा कमी आयो । शुरुमा खलंगा प्यूठान नगरपालिका थियो । पछि मल्लरानी गाउँपालिका भयो । जिल्ला सदरमुकाम पहिले नगरपालिका भएर पछि गाउँपालिकामा खुम्चिएको यो नै नेपालकै पहिलो उदाहरण हो । त्यसपछि धेरैले भन्नथाले खलंगाको गरिमा शुरुको जस्तो छैन् । अहिले खलंगा पुग्नेहरु सवैले भन्छन्,‘कति सुनसान भएछ ।’ शुरुको तुलनामा मानिसहरुको संख्यामा केही कमी भएपनि यसलाइ पहिलेकै लयमा फर्काउन सकिने प्रशस्त संभावना जिवितै छन् । जनताको चाँप घटेपनि खलंगाको शान छदैछ ।
प्रकृतिले खलंगालाइ बेग्लै उपहार दिएको छ, ‘हावापानी’ । शहर, बजारमा बसोवास गर्नेहरुलाइ चर्को गर्मीले सताउँदा सवैले खलंगालाइ सम्झन्छन् । उही चर्को गर्मीमा खलंगाबासी शितलतासँगै रमाउछन् । उनीहरुलाइ कहिल्यै गर्मीको समयमा गर्मी महशुस हुँदैन् । मल्लरानीबाट बग्ने शिरशिर हावाले नै खलंगाका नागरीकहरुलाइ शितला दिलाउछ । ‘अहिलेसम्म गर्मीमा पंखा र सुत्नेबेला झुल लगाएको अनुभव छैन्’,खलंगाका स्थानीयबासी एवं संचार उद्यमी इमानसिँह भारती भन्छन्,‘अव खलंगा सुनसान भयो भनेर बस्ने होइन, घुम्नलायक ठाउँ बनाउन जुट्नुपर्छ ।’ खलंगाले जिल्लालाइ नै समृद्ध बनाउने प्रशस्त संभावना देखाएको उनी सुनाउँछन् ।
खलंगा बजार क्षेत्रमा बहुसंख्यक नागरीक नेवारी समुदायका छन् । नेवारी समुदायको संस्कृति, नेवारी खानाको परिकार र कलात्मक घरहरुको संरक्षण गर्नसके प्रशस्त पर्यटकहरुलाइ लोभ्याउन सकिन्छ । मल्लराजाका पालामा ‘रानी’ आएर बसेको क्षेत्र मल्लरानीलाइ जोडेर पर्यटकीय हवको रुपमा विकास गर्न सकिने संभावना छ । केवुलकार, प्याराग्लाइडिङको व्यवस्था हुनसके यहाँको गरिमा अझ उचाइमा पुग्न सक्दछ । मल्लरानी डाँडामा बुद्धकुम्वा, हिन्दुधर्महरुका विभिन्न मठ मन्दिर, बाल उद्यानको निर्माणसहित विस्तृत गुरुयोजना बनाएर काम गर्नसके खलंगाको पुरानो साख फर्किने संभावना निश्चित छ ।
पछिल्लो समय हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द बनिरहेको झाक्रिस्थान मन्दिर खलंगा बजारदेखि नजिकै पर्छ । यससँग जोडेर पनि पर्यटकीय विकास गर्न सकिन्छ । सयौँ नेता र खेलाडी जन्माएको खलंगाको टुडिखेल पनि यहाँको गौरवपूर्ण स्थान हो । चेरनेटा–खैराहुँदै खलंगालाइ चक्रपथ सडकले जोडेको छ । उक्त सडक फराकिलो हुने क्रम तिव्र छ । भालुवाङहुँदै प्यूठान प्रवेश गर्नेहरु विजुवार, बाग्दुला बजार नपुगेर पनि झिमरुक जलविद्युत्त केन्द्रको अवलोकन गर्दै खैराको डाँडाबाट शितला खाएर खलंगा पुग्नसक्छन् । नगरपालिकाबाट गाउँपालिकामा झरेको सदरमुकाम खलंगालाइ चिनाउने यो पनि एउटा माध्यम बन्न सक्छ । संख्यात्मक रुपमा सेवाग्राही कम आएपनि खलंगाको शान तुलनात्मक रुपमा घटेको छैन् ।
सरकारी कार्यालयमा कार्यरत निजामती कर्मचारीहरुले मन पराउने भनेकै यहाँको सुन्दर हावापनी हो । कार्यालय समयसम्म चहलपहल हने र त्यसपछि सुनसान बन्ने खलंगा बजारलाइ गतिलो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सम्वन्धित निकाय लाग्नुपर्ने देखिन्छ । खलंगाबाट प्यूठान उपत्यका प्रष्टसँग नियाल्न सकिन्छ । झिमरुक उपत्यकाको समतल फाँट, ती फाँटमा अव्यवस्थित रुपमा बढ्दै गएको बसोवासलाइ सवैले फोटोमा कैद गरेर फर्कन्छन् । र, भन्छन्,‘झिमरुक फाँट मासिँदै गएछ ।’
खलंगालाइ कस्तो बनाउँदै छ स्थानीय सरकार ?
मल्लरानी डाँडालाइ जोडेर गाउँपालिकाले खलंगालाइ पर्यटन विकासको रुपमा अघि बढाउने प्रक्रियाको थालनी गरेको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमागरी विस्तृत अध्ययन प्रतिवेदन सहितको मल्लरानी पर्यटन गुरुयोजना बनाइएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी गराए । ‘खलंगालाइ घुम्नलायक ठाउँको रुपमा विकास गर्न नीति तथा कार्यक्रम बनेका छन्’,उनले भने,‘कार्यक्रमको कार्यान्वयन चरणमा गाउँपालिका लागेको छ ।’ उनले आगामी आर्थिक वर्षभित्र झाक्रिस्थानको विस्तृत अध्ययन प्रतिवेदन समेत निर्माण गर्ने तयारी भएको सुनाए । मल्लरानीको खानेपानी समस्यालाइ झिमरुक लिफ्ट आयोजना संचालनपछि समाधान हुने उनले जानकारी गराए । यसैवर्ष मल्लरानीसम्म पुग्ने सडक सहज हुने रिजालले बताए ।