पोखरा : फराकिलो बाटोको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो सौर्य प्रणाली अटाइएको छ । ३० वर्षे सरकारी जागिर टुंग्याएका कोइराला अचेल समाजोपयोगी नौला कुरा खोजी गर्छन् ।
पोखरा–५ पर्स्याङका स्थानीयले उनलाई बोलाउने नाम हो, ‘वैज्ञानिक बा’ । खेर गएका सामग्रीको प्रयोगबाट विभिन्न सामान बनाउँदा उनको घर एउटा प्रयोगशालाजस्तै छ । त्यहाँ छन् दृष्टिविहीनलाई उपयोगी सामग्री । दृष्टिविहीनले छामेर बुझ्न सक्ने सौर्य प्रणाली, तारामण्डल, विश्वको नक्सा र लेख्न मिल्ने सजिलो बोर्डलगायत गणितीय सामग्री उनका प्रयोगशालामा छन् । यी सबै उनी आफैंले बनाएका हुन् ।
प्लाइउड, काठको धूलो, धागो, काठका टुक्रा, काँटी, कागज, फलाम र टिनलगायत सामान प्रयोग गरेर उनी दृष्टिविहीनका लागि शिक्षण सामग्री तयार पार्छन् । बनाएका सामान विभिन्न विद्यालयलाई दिन्छन् । विद्यार्थी ती सामान अवलोकन गर्न उनको घरैमा आइपुग्छन् ।
सूर्यबाट विभिन्न ग्रह कति टाढा छन् भन्ने थाहा पाउन दृष्टिविहीनलाई सहयोगी हाते उपकरण पनि उनी आफैंले बनाए । ग्रहहरू सूर्यका वरिपरि अनुपातिक रूपमा घुमेको प्रक्रिया छामेर बुझ्ने गरी तयार पारिएको सामग्रीमा उनी घोत्लिन्छन् र भन्छन्, ‘दृष्टिविहीनले यसलाई उपयोग गर्न सके शिक्षण प्रक्रिया सजिलो हुन्छ ।’ पृथ्वी आफ्नो कक्षमा घुम्दा कसरी उत्तरायण र दक्षिणायणको स्थिति पर्न आउँछ भन्ने बुझाउन तयार पारिएको बोर्ड, काठ र बाँसको टुक्राबाट बनाइएको अंग्रेजी लिपिका अंक, अक्षर टाँसिएको बोर्ड, छामेर हरफ सिधा लेख्न सकिने गरी बनाइएको बोर्डलगायत सामग्री उनले पोखराकै अमरसिंह नमुना माविलाई हस्तान्तरण गरेका छन् । अमरसिंहमा दृष्टिविहीन विद्यार्थीलाई उनले दुई वर्ष पढाए पनि ।
पोखराका रैथाने उनले ०१७ मै एसएलसी उत्तीर्ण गरेका हुन् । तत्कालीन सोल्जर्स बोर्ड भोकेसनल हाइस्कुल (हालको अमरसिंह) बाट एसएलसी उत्तीर्ण गर्दा उनी २४ वर्षका थिए । घरैमा बुबासँग पढेकाले विद्यालय भर्ना हुन ढिला भएको उनी सुनाउँछन् । मेथ्लाङको भीरमा बाबियो काट्न जाँदा नाम्लो बिर्सिए बाबियोकै नाम्लो बनाएर घाँसको भारी बोकेर उनी फर्कन्थे । डोको, स्याँखु, घुम आफैं बनाउँथे ।
एसएलसीपछि भूमि सुधारमा १० वर्ष जागिर खाए । लोक सेवा उत्तीर्ण गरी खाद्य संस्थानमा १८ वर्ष काम गरे । नायब सुब्बामा अवकाश लिए । ०४४/४५ सालतिर उनी स्याङ्जाबाट पोखरा फर्किंदै थिए । बसमा दृष्टिविहीन युवा उनीसँगैको सिटमा बसे । ती युवा बाटोमा गुड्ने बसको आवाज सुनेपछि कसैले एकपटक भनिदिएको नम्बर ठ्याक्कै मिलाउँथे । एकपल्ट चढेको बसको आवाज र सुनेको नम्बर उनलाई सम्झना हुन्थ्यो । अचम्मको खुबी देखेर चकित दीनबन्धुले उनलाई देख्ने भएको भए झनै तेजिलो हुन सक्ने प्रतिक्रिया दिए । ती युवकले भने, ‘म मेरो अवस्थामा ठीक छु । आँखा देख्ने भएको भए झन् चोर, गुन्डा पो हुन्थें कि !’
दृष्टिविहीन युवकको वाक्यले दीनबन्धुको मन छोयो । उनी जस्तैका लागि केही गर्ने अठोट मनमनै लिए । पोखरा फर्किएर उनले उपयोगी सामग्री बनाउन लागे । उपकरण लगेर अमरसिंहमा दृष्टिविहीन विद्यार्थीलाई पढाउन उपयोग गरिहेरे । जागिरबाट ०५२ मा विश्राम लिएपछि उनको सक्रियता यसैमा झन बढ्यो । दृष्टिविहीनलाई मात्र नभई अरूलाई पनि उपयोगी हुने सामग्री बनाउन थाले । सामान उठाउने क्रेनको नमुना बनाए । इनारमा खसेको सामान निकाल्ने प्रविधि बनाए । काँक्रो चोरी हुनबाट बचाउने उपकरण बनाए । एक ठाउँमा अचेट्दा ५ वटा ढिकी र ४ वटै जाँतो चल्ने प्रविधि बनाए । ‘म विज्ञान प्रदर्शनीहरूमा गएर हेर्थें,’ उनले भने, ‘त्योभन्दा राम्रो बनाउँछु भन्ने अठोट लिन्थें ।’
उनले बनाएका उपकरण कामसँग पनि जोडिन्छन् । दृष्टिविहीनले काम गर्न मिल्ने साधन भए सडकमा बस्नुपर्ने अवस्था नआउने उनी बताउँछन् । सडकमा गीत गाइरहेका दृष्टिविहीन देखेपछि उनले किला ठोक्दा हातमा नलाग्ने प्रविधिको हयाम्मर बनाए । दृष्टिविहीनले सियोमा धागो उन्न मिल्ने मेसिन बनाए । -दिपक परियार/इकान्तिपुरबाट