प्यूठान : भारतबाट सिमानाकासम्म आइपुगेका प्यूठानीहरुको सहज यातायात व्यवस्थापनमा जिल्लाका सरोकारवाला निकायको ध्यान जान नसकेकोप्रति चौतर्फी विरोध भइरहेको छ । सामाजिक सञ्जालभरी नागरीकहरुले चासो, चिन्ता र विरोध जनाइरहेका छन् । जिल्लाका स्थानीय तह, यातायात व्यवसायी, प्रशासन र जिल्ला समन्वय समितिले अलपत्र यात्रुहरुको उद्दारमा हेलचक्रयाँइ गरिरहेको गुनासो छ ।
स्थानीय तहले आफूहरुले सकेजति उद्दारमा खटिरहेका छन् । तर जिल्ला सम्वन्य समितिको अरु कार्यालयको तुलनामा कामको चाप धेरै कम हुने भएकाले जिल्लाभरीको सम्वन्य गर्न धेरैले सुझाएका छन् । तर यसतर्फ सम्वन्य समिति बेखवरजस्तै बनेर बसेको आरोप नागरीकको छ । जनप्रतिनिधिहरुले जिल्लाका यातायात व्यवसायीहरुले सवारीसाधन संचालन गर्न नमानेको बताउँदै आएका छन् । तर यातायात व्यवसायीहरुले भने अहिलेसम्म यात्रु ल्याउन कही कतैबाट पनि खवर नपाएको प्रतिक्रिया दिइरहेका छन् । ‘कसैले जान मान्दैनन्’,नौबहिनि गाउँपालिका अध्यक्ष शिवप्रसाद रिजालले भने,‘बाध्य भएर टिप्पर र ट्याक्टरमा गाउँका नागरीकलाई ल्याइरहेका छौ ।’
‘मलाई अहिलेसम्म कहीँ कतैबाट फोन आएको छैन्’, स्वर्गद्वारी गौमुखी सार्वजनिक यातायात व्यवसायी प्रालि प्यूठानका अध्यक्ष सुनिल बस्नेतले भने, ‘हामीलाई संस्थागत रुपमा कुनै आधिकारिक सूचना छैन् ।’ टिप्परमा गराइएको असहज यात्रा प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
आफूहरु सेवा दिन तयार रहेको उनले जानकारी दिए । यसका लागि आधिकारिक पहल प्रशासनबाट हुनुपर्ने उनको माग छ । स्वर्गद्वारी समितिकै महासचिव एवं मल्लरानी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष समेत रहेका कुमार श्रेष्ठले अहिले सम्म आफ्नै गाउँपालिकाले कुनै समन्वय नगरेको समेत बताए । ‘म आँफै जनप्रतिनिधि हुँ’, श्रेष्ठले भने, ‘बस मार्फत उद्धार गरौं भन्ने कोही देखिनुभएको छैन् ।’
भारतबाट सिमा नाकामा आएका यात्रुहरुलाई बोक्न आफ्नो समिति प्रतिबद्ध रहेको नमस्ते प्यूठान यातायात सेवाका अध्यक्ष एवं प्यूठान नगरपालिका वडा नं ८ का अध्यक्ष लिलापसिंह केसीले बताए । ‘अहिलेसम्म कुनै स्थानीय तहले नभनेकै हो’, उनी भन्छन्,‘सामन्यतया छलफल भएको छ हामीले तीन वटा बस पठाएका छौं ।’ सवारी चालकलाई पिपिई सेट उपलब्ध गराई क्याबिन लक गरि बस पठाउन सकिने केसीको भनाई छ ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले पछिल्लो घटनाक्रमबारे ध्यानाकर्षण भएको बताउँदै छिट्टै निकास निकाल्ने प्रतिकृया दिएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले जिल्ला व्यापी रुपमा सम्वन्य गर्न नागरीकहरुले आग्रह गरेका छन् । हालसम्म जिल्लाभर भारतबाट २ हजार ४२ जना आइसकेको सम्वन्धित स्थानीय तहले जनाएका छन् ।