प्यूठान : लकडाउनको बेला काठ बोक्ने दाङका ट्रक प्यूठानमा भित्रिएको भन्दै स्थानीयले विरोध गरेका छन् । दाङ भालुवाङहुँदै सात ठाउँका प्रहरी चौकी पारगर्दै ५ वटा ट्रक झिमरुक गाउँपालिका १ सौतामारेफेदी स्थित कोइलीखोलामा पुगेका हुन् । स्थानीयले विरोध गर्दागर्दै पनि ट्रकमा काठ ढुवानी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले गणपती भेनिएर तथा प्लाइउड उद्योग घोराहीलाई ‘काठ ढुवानीका लागि सवारीपास जारी गरिदिनका लागि जिल्ला प्रशासन कार्यालय प्यूठानलाई पत्र लेखेको थियो । प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थका अनुसार उक्त उद्योगलाई सवारीपास दिइएको छैन् । तर अनुमती विनानै ट्रकमा काठ ढुवानी भइरहेको छ । ‘उक्त उद्योगलाई सवारी पास दिएका छैनौ’,प्रमुख जिल्ला अधिकारी पन्थले भने,‘यो अत्यावश्यक सेवामा पनि पर्दैन् । यस्तो प्रकृतिको सवारी पास अहिलेसम्म कार्यालयबाट जारी भएको छैन् ।’
दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एमसीले प्यूठान प्रशासनलाई सवारी पास मिलाइदिन आग्रह गरिएको जानकारी दिए । ‘काठ ढुवानीका लागि सवारी पास दिने वा नदिने प्यूठानकै अधिकार हुन्छ’,उनले भने ।
जिल्ला बाहिरबाट आएका मजदुरहरुका कारण कोरोनाको जोखिम हुनसक्ने भन्दै झिमरुक गाउँपालिका क्षेत्रका स्थानीयले चर्को विरोध गरिरहेका छन् । ‘विरोध हुँदाहुँदै किन काठ लोड गरियो ?’,झिमरुक १ का स्थानीय लिला जिसीले प्रश्न गरे,‘३०÷४० जना मजदुरले काठ लोड गरिरहेको देखियो, सावधनी पनि गरिएको थिएन ।’ प्रहरी प्रशासनकै सेटिङमा काठ ढुवानी भएको हुनसक्ने झिमरुक क्षेत्रका स्थानीयले आरोप लगाएका छन् । आधिकरीक अनुमती प्राप्त पत्र बिना नै प्रहरीले किन पास दिएको भन्दै स्थानीयले प्रश्न गरेका छन् ।
सोही प्रकृतिको उद्योगलाई यसअघि जिल्लामा काठ ढुवानीका लागि अनुमति नपाइएको प्यूठानका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । ‘हामीले काठ लिन खोज्दा अनूमति दिइएन’,न्यू सुपादेउराली समिर तथा भेनियर उद्योग प्यूठान नगरपालिका ८ का संचालक खेम अधिकारीले भने,‘दाङका उद्योगलाई निर्वाध रुपमा चल्न दिइएको छ । यो विभेद भएन र ?’