चीनका महामहिम राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा आयोजित रात्रिभोजमा स्पष्ट शब्दमा उल्लेख गर्नुभयो, ‘हामी चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने छौं। अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्ने छौं। केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई अगाडि बढाउन सक्रिय हुनेछौं। बढीभन्दा बढी नाका खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्नेछौं। र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्ने छौं।’
राष्ट्रपति सीको यस कथनले नेपालको पर्यटन बजारमा चिनियाँ पर्यटकको बढोत्तरीको नेपाली अपेक्षालाई सम्बोधन गरेको छ, ‘लुम्बिनी बुद्धको जन्मस्थल हो। चीनमा बुद्धधर्म मान्ने मान्छेहरूको संख्या संसारमा सबैभन्दा बढी छ। नेपालमाजस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ। मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँ मान्छेहरू नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदानप्रदानका लागि पनि आउनेछन्।’ लुम्बिनीकेन्द्रित गरी चिनियाँ नेतृत्व यसरी स्पष्ट शब्दमा बोलेको सम्भवतः यो पहिलोपटक नै हुनुपर्छ।
‘नेपाली जनताले केरुङ-काठमाडौं-लुम्बिनी रेल सञ्चालन भएको हेर्न चाहेका छन्।’ राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षी चिनियाँ पाहुनासमक्ष राख्नुभएको नेपाली जनताको अपेक्षा सुनिसकेपछि २५ असोज २०७६ को विशेष रात्रिभोजमा राष्ट्रपति सीले खुलेर प्रत्युत्तर सम्बोधन गर्नुभएको थियो। दुई देशबीचको बीसबुँदे सम्झौता, समझदारी र सहमतिको आधारसमेत राष्ट्रपति सीको यही सम्बोधन नै बन्न पुग्यो।
मित्रताको ऐतिहासिक परिप्रेक्ष्य
नेपाल-चीनबीच ऐतिहासिक सम्बन्धको निरन्तरता रहिआएको छ। चीनको उथाइसान पर्वत शृंखलाबाट मञ्जु श्रीको नेपाल आगमन भएको, उनैले चोभारको गल्छी काटेर पानी निकास गरी उपत्यकालाई बसोवासयोग्य बनाएको भन्ने किम्वदन्ती छ। नेपाली बुद्ध भिक्षु बुद्धभद्रको चीन भ्रमणले बुद्ध धर्मलाई चीनमा प्रचार गर्न महत्वपूर्ण योगदान गरेको थियो। चीनबाट फा सियानको नेपाल भ्रमण, राजकुमारी भृकुटीको तिब्बतमा बिहे, अरनिकोको तिब्बत, बेइजिङ र उथाइसान यात्रा र दुईवटा श्वेतचैत्यको निर्माण अनि स्यवियान चाङले गरेको लुम्बिनी भ्रमण आदि यस सन्दर्भका महत्वपूर्ण भ्रमण आदानप्रदान थिए। नेपाल, चीन र तिब्बतबीच पुरानो समयमा थुप्रै युद्ध र सम्झौतासमेत भएको इतिहास पाइन्छ। तर बेत्रावती सम्झौतापछि दुई देशबीच हालसम्म कुनै समस्या छैन। अर्थात्, यो समस्यारहित मित्रताको सम्बन्धका रूपमा निरन्तर रहिआएको छ।
उच्चस्तरीय भ्रमण आदानप्रदानले यसको पुष्टि गर्छन्, जो असल छिमेकीको अटुट सम्बन्धका रूपमा चलिआएको छ। जस्तो- बितेका ७० वर्षहरूमा चिनियाँ पक्षका तर्फबाट प्रधानमन्त्री चाउ एन लाई, उपप्रधानमन्त्री एवं विदेशमन्त्री तङ सियाओ पिङ, राष्ट्रपति जियाङ जमिन, प्रधानमन्त्री झु रोङजी, प्रधानमन्त्री वेन जियाबाओ र राष्ट्रपति सीका भ्रमण इतिहासमा उल्लेखनीय छन्।
नेपाली पक्षबाट श्री ५ महेन्द्र, प्रधानमन्त्री टंकप्रसाद आचार्य, प्रधानमन्त्री बीपी कोइराला, प्रधानमन्त्री कीर्तिनिधि विष्ट, राजा वीरेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रधानमन्त्री मनमोहन अधिकारी, पूर्वराजा ज्ञानेन्द्र, प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रपति डा. रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका भ्रमणहरूको महत्व उल्लेखनीय रहेको भन्न सकिन्छ।
राजतन्त्रप्रधान पुरानो युगको अन्त्य र गणतन्त्रात्मक नयाँ युगको आरम्भले दुवै देशलाई नयाँ ढंगले सोचेर अघि बढ्ने धरातल र क्षितिज उपलब्ध भएको छ।
सन् १९५५ मा चीनसँग कूटनीतिक सम्बन्ध कायम गर्ने श्रेय प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई जान्छ। त्यसपछि १९६० मा दूतावास स्थापना भएको पाइन्छ। पहिलो जननिर्वाचित सरकारको प्रधानमन्त्रीका रूपमा बीपी कोइरालाले नेपाल चीनबीच रहेको सगरमाथाको विवाद सुल्झाएर सम्बन्धलाई विवादरहित बनाउन ऐतिहासिक योगदान पुर्याउनुभयो। २०२७ अर्थात् सन् १९७० सम्म उत्तरमा अवस्थित भारतीय चेकपोस्टहरू हटाउने निर्णय खासमा चीनसँगको नयाँ सम्बन्धको परिणाम थियो भन्न सकिन्छ। यसको श्रेय प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई जान्छ। त्यतिञ्जेल चीनतर्फ आवागमन कठिन थियो। पहिलोपटक अरनिको राजमार्गको निर्माण थालनीको कार्यले ठूलै तरंग पैदा गरेको थियो र राजा महेन्द्रले ‘कम्युनिज्म ट्याक्सी चढेर नेपालमा नआउने’ वक्तव्य नै दिनुपरेको थियो। यसबीचको कथित खम्पा विद्रोहको सामना गर्न नेपालले चीनलाई सघाएको र नेपालको एक चीन नीतिको व्यवहारतः दृढ पक्षपोषण र अभ्यास भएको थियो।
खासमा उत्तरी करिडोरहरूको विकास र पारवहन सम्झौता गर्ने श्रेय भारतीय नाकाबन्दीको कहरबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुपर्छ। भूपरिवेष्ठित नेपालको अवस्थिति बदलेर भूजडित बनाउने सपनासमेत ओलीकै रहेको तथ्य निर्विवाद छ।
तीन विशेष चरण : निरन्तर मित्रता
नयाँ चीनको घोषणा र नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष पुगेको छ। अध्यक्ष माओकै नेतृत्व (१९२१-१९४९ र १९४९-१९७७) को अवधिमा चीन अघि बढेको थियो। त्यसको प्रभाव नेपालमा माओ विचारधारा÷माओवाद-सशस्त्र संघर्षका रूपमा झापा विद्रोह र दस वर्ष लामो हिंसात्मक संघर्ष आदि भएका थिए। सर्वहारा सांस्कृतिक क्रान्ति-माओकालीन चीनमा अलमलको अवधि थियो। चारजनाको गुटको वितण्डाका रूपमा १० वर्षसम्म चीन झण्डै सर्वनाश नै भएको थियो।
तङ सियाओ पिङले अलमल र द्विविधाको त्यस अवस्थाबाट चीनलाई स्पष्टता, खुलापन, सुुधार (१९७७) आधुनिकीकरणतर्फ अग्रसर बनाए। खासमा तङ नै चीनको आधुनिकीकरणका वास्तविक आर्किटेक्टका रूपमा स्थापित भए। उनले देखाएको बाटो तङ स्याओ पिङ सिद्धान्तका रूपमा स्थापित छ। अहिले सी नेतृत्वको चाइना ड्रिम नै सी विचारधाराका रूपमा संविधानतः स्वीकारिएको छ। यसमा जियाङ जमिन र हु जिन्ताओको नेतृत्वकालीन अनुभव र योगदानसमेत समेटिएको छ। अर्थात् इतिहास र योगदानको सम्मान तथा श्रेष्ठ र निपुण नेतृत्वको विकास गरिएको छ।
सी विचारधारामा समकालीन विश्वमा व्यापक बहस चलिरहेको छ। यो नयाँ युगमा चिनियाँ विशेषताको समाजवादको सुदृढीकरणको दृढ लक्ष र प्रक्रिया हो। चीनको आधुनिकीकरण, समृद्धि र जनताको जीवनस्तरमा वृद्धि यसको जोड रहेको छ। उत्पादन र बजारमा चीनको नेतृत्व अझ बढाउने, फजुल खर्च रोकेर मितव्ययिता कायम गर्ने, भ्रष्टाचारविरुद्ध कठोरता अपनाउने, आत्मानुशासनको अभ्यास गर्ने र निरन्तर अनुगमनबाट गुज्रने, बेल्ट एन्ड रोड इनिसियटिभ्समार्फत विश्वव्यापी नयाँ कनेक्टिभिटीमा आबद्ध हुने, सुपरपावरका हैसियतमा चिनियाँ स्वाभिमान उचो बनाउने, मानवीय र न्यायपूर्ण नयाँ विश्व व्यवस्था कायम गर्न जोड दिने यसका विशेषता रहेका छन्।
नेपालमा पार्टीगत तहमा विचारधारात्मक आदानप्रदानको कार्य औपचारिक रूपमै भइसकेको छ र नेकपा र चीनको पार्टीबीच लिखित सहमतिसमेत गरिएको छ। कूटनीतिक तहमा पनि सी विचारधाराको बेग्लै आयाम देखा परेको छ। नेपालको राजकीय भ्रमणमा आउनुअघि दुई दिन नै भारतको अनौपचारिक भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफललाई कतिपयले सी+डिप्लोमेसी =सिप्लोमेसी भन्ने गरेको समेत पाइन्छ।
नयाँ चीन : नयाँ नेपाल
नेपाल र चीनबीच नयाँ युगको नयाँ सम्बन्धको उचाइ कायम भएको छ। राजतन्त्रप्रधान पुरानो युगको अन्त्य र गणतन्त्रात्मक नयाँ युगको आरम्भले दुवै देशलाई नयाँ ढंगले सोचेर अघि बढ्ने धरातल र क्षितिज उपलब्ध भएको छ।
विकास, समृद्धि र पारस्परिक लाभमा यो सम्बन्ध अभिव्यक्त हुनुपर्छ। पूर्वाधार विकास, प्रविधिको प्रयोग र नयाँ उत्पादन सम्बन्ध कायम गर्न नेपालले विश्व महाशक्तिसँगको यस सम्बन्धलाई महत्व दिएर सदुपयोग गर्न सक्नुपर्छ। यो दर्शन, सिद्धान्त, पार्टी, विचारधारा र सरकारको तहमा जारी बहुआयामिक सम्बन्धका रूपमा रहेको छ।
राष्ट्रपति सीद्वारा दुई देशबीचको यो सम्बन्धलाई ‘हिमालय वारिपारिको मैत्री’ का रूपमा परिभाषित गरिएको छ। यसलाई हिमालय सीमा वारपार कनेक्टिभिटीमार्फत नयाँ उचाइमा पुर्याउनु जरुरी बनेको छ। चीनले सन् २०२० सम्म गरिबी निवारणयुक्त समृद्ध चीन निर्माणको संकल्प गरेर त्यसलाई साकार पार्न कठोर मेहनत गरिरहेको छ। सन् २०२१ पार्टी स्थापनाको एक शताब्दी एवं सन् २०४९ मा नयाँ चीन स्थापनाको एक शताब्दी पूरा गरेको सन्दर्भमा चीनले ३२ वर्षपछिको लक्ष्यसमेत तय गरी कार्यसम्पादन तदनुरूप गरेर अघि बढिरहेको स्पष्ट देखिन्छ।
नेपाल ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यका साथ अघि बढेको छ। सन् २०२२ भित्र विकासशील राष्ट्रमा स्तरोन्नति र सन् २०३० सम्म मध्य आय भएको राष्ट्र बन्ने नेपालको संकल्प छ। विश्व समुदाय न्यायपूर्ण र मानवताआधारित सन्तुलित सम्बन्धका साथ अघि बढ्नुपर्ने चीन र नेपालको रणनीतिक साझेदारीको आधारशिला हो।
निष्कर्ष
२३ वर्षपछि सम्पन्न चीनका राष्ट्रप्रमुखको यो भ्रमणले नेपालमा पूर्वाधार विकासको चलनचल्तीको बहसको धार बदलिदिएको छ। हिमालय सीमापार रेलवे नेटवर्क विकासलाई चीनले प्राथमिकतामा समावेश गरेको र अध्ययन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ। यसबाट नेपालमा रेल वे नेटवर्क भविष्यको मूर्तयोजना बन्न पुगेको छ। यो फगत बहस र विवादमा सीमित नभएर ठोस कार्यान्वयन प्रक्रियामा अघि बढेको छ। हिमालय वारपार भूजडित कनेक्टिभिटीमार्फत नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट नयाँ अवस्थामा पुर्याउन राष्ट्रपति सीको राजकीय नेपाल भ्रमण कोसेढुंगा बनेको छ। यसनिम्ति दुई देशबीच भएका सम्झौताको छिटो र प्रभावकारी कार्यान्वयनमा जोड लगाउनुपर्छ।
भ्रमणअघि र पछि उत्पन्न तरंगहरूलाई नकारात्मक आकार र सन्देश प्रवाह हुन नदिएरै समस्यारहित मित्रतालाई अझ फराकिलो बनाउन सकिन्छ। यसमा दुवै देश र दुवै सरकार संवेदनशील भएर क्रियाशील हुन सक्नुपर्छ। नेपालमा बलियो सरकार कार्यरत रहेको सन्दर्भमा छिमेकी र मित्रराष्ट्रहरूको सद्भाव हासिल गरेर अघि बढ्न सकेको अर्थमा समेत यस भ्रमणले बहुआयामिक अर्थ र महत्व पाएको छ। यसै हिसाबले अरूअरू मित्रराष्ट्रका सरकार र राष्ट्रप्रमुखको समेत भ्रमण सम्पन्न गराउने तथा सद्भाव र सहयोग बढाउने कार्य गर्न सरकारले आफ्नो सामथ्र्य लगाउन सक्नुपर्छ। किनभने, यतिबेला सिंगो संसारले नेपाललाई हेरिरहेको छ।-अन्नपूर्णबाट
(थापा नेकपाका केन्द्रिय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग उपप्रमुख हुन्)