प्यूठान : झिमरुक गाउँपालिका ४ हरिय भुल्के र वडा नम्वर ५ फड्के फाँट जोड्ने झोलुंगे पुल जिर्ण भएको वर्षौ वितिसक्दा समेत मर्मत हुन सकेको छैन् । चुडिनै लागेको पुलबाट स्थानीय ओहोरदोहोर गर्दै आएका छन् ।
स्थानीयको दैनिक जिविकासँग जोडिएको उक्त पुल जिर्ण भएको दश वर्ष वितिसक्यो । तर, हालसम्म मर्मत वा नयाँ निर्माण गर्नतर्फ सम्वन्धित निकायले चासो देखाएका छैनन् । झिमरुक गाउँपालिका ४ मा पर्ने हरिय, टिमिलडाँडा, च्यापाँटा, पोखरीडाँडा, बादीकोट लगाएतका स्थानीय पुल जिर्ण हुँदा प्रत्यक्ष मारमा परेका छन् ।
बालवालिका र बृद्धबृद्धाहरु जोखिम मोलेरे वारपार गर्छन् । हरिय र टिमिलडाँडाका स्थानीयको कुटानीपिसानी गर्न पानी घट्ट मिलमा जाने यो नै एकमात्र पुल हो । ‘पुल जिर्ण भएको दश वर्ष भइसक्यो’,हरियका स्थानीय मनोज कुमार जिसीले भने,‘अहिलेसम्म मर्मत गर्नका लागि कसैले चासो देखाएनन् ।’ ०४३ सालमा उक्त पुल निर्माण गरिएको थियो । पुलका धेरैजसो काठ र तार चुडिएका छन् ।
पछिल्लो समय काठका पुल विस्थापित गरी फलामका निर्माण गर्ने अभियान चलेपनि यस पुलमा कसैको नजर पुग्न नसकेको स्थानीयले गुनासो गरे । ‘घाँस दाउरा र अन्न पिसाउन आउजाउ गर्ने पुल चुडिन लागेको यतिका वर्ष भयो’,पानी घट्ट मिलका संचालक शंकर केसीले भने,‘जताततैका पुल बने । तर यहाँ कसैले पनि चासो देखाएनन् ।’
पुल नबन्दा यस क्षेत्रका करिव पाँच सय घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । बर्षातमा खोला बढ्दा यस क्षेत्रका स्थानीयलाइ सँधै त्रास हुने गरेको छ । हिजोआज स्थानीय जोखिम मोलेरै आउजाउ गर्दै आएका छन् । गर्तङखोलामा रहेका पुराना पुलहरु जिर्ण हुँदासमेत सम्वन्धित निकाय बेखवर बनिरहेका छन् । झिमरुक गाउँपालिकाकै वडा नम्वर ५ स्थित चुँधारामा समेत पुल जिर्ण भएको वर्षौ वितिसकेको छ । स्थानीय जनप्रतिनिधीले समेत यसतर्फ चासो नदेखाएको गाउँलेले गुनासो गरेका छन् ।