बुटवल : थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा कोरोना पुष्टि भएको हो।
उनका अनुसार सर्लाही धाकौल नगरपालिकाका ४५ वर्षीय पुरुष धनुषा, जनकपुर नगरपालिका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष, र २० वर्षीय युवती, महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुष रहेका छन्। यसअघि बिहीबार बिहान दुई जना संक्रमित भएका थिए। मन्त्रालयकाअनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय महिलालाई संक्रमण देखिएको हो।
त्यस्तै बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार बुधबार संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन्। त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन्। सँगै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।