दाङ : दाङको शान्तिनगर गाउँपालिकाले कोरोना संक्रमित विरामीहरुलाई बेलझुण्डीमा ल्याउनु दाङबासीको अपहेलना र अन्याय हुने ठहर गर्दै विरामी नल्याउन आग्रह गरेको छ । बुधवार गाउँपालिका अध्यक्ष कमानसिँह डाँगीले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । ‘बर्दियामा कोरोना पुष्टि भएका विरामीहरुलाई उपचारका लागि दाङको बेलझुण्डीमा ल्याउनु भनेको दाङ जिल्लाबासीको अपहेलना र अन्याय हुने कुरा सवैमा जानकारी गराउन चाहान्छु’,विज्ञप्तीमा भनिएको छ ।
कोरोनाबाट अहिलेसम्म सुरक्षित रहेको दाङमा संक्रमित विरामी उपचारका लागि लिएमा जिल्ला प्रभावित हुने उनले प्रष्ट पारे । बर्दियामा देखिएका कोरोना विरामीलाई नेपालगञ्जमै उपचार गराउन समेत उनले आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ,‘बर्दियाका कोभिड १९ का विरामी ल्याई उपचार गराउनु भनेको दाङमा कोरोना भित्र्याउने दुष्प्रयास हो ।’ गाउँपालिकाले विज्ञप्ती सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जालभरी विरोध शुरु भएको छ ।
आजको पोष्टसँगको टेलिफोन कुराकानीमा समेत गाउँपालिका अध्यक्ष डाँगीले विज्ञप्तीमा भनिएका कुरा दोहो¥याए । ‘बर्दियाका विरामीलाई नजिक नेपालगञ्ज पर्छ, दाङमा किन ल्याउने ?’,उनले भने,‘दाङ जिल्ला अहिलेसम्म सुरक्षित भएको खवर सुन्न पाइएको छ, संक्रमित विरामी लिएर जिल्लालाई किन जोखिममा पार्ने ?’
उपचार व्यवस्थापन सहजताका लागि क्षेत्रगत रुपमा कोरोना विशेष अस्पताल निर्माण गरिएको भएता पनि अर्को जिल्लाको बिरामीलाई उपचार गराउन नल्याउनु भन्न नमिल्ने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले प्रतिक्रिया दिए । ‘गाउँपालिकाले त्यस्तो भन्न हुन्थेन’,टेलिफोनमा कुरागर्दै उनले भने,‘दाङले नेपालगञ्जको विरामीको उपचार नगर्ने, नेपालगञ्जले दाङको विरामी उपचार नगर्ने हो भने त कसरी कोरोना नियन्त्रण हुन्छ र ?’ बेलझुण्डी अस्पताल व्यवस्थापन समितिको बैठकले जुनसुकै जिल्लाबाट आएका विरामीलाई उपचार गराउने निर्णय गरिसकेको समेत उनले सुनाए । प्रदेश ५ सरकारको झण्डै दुई करोड लगानीमा २५ शैयाको कोरोना विशेष अस्पताल दाङको बेलझुण्डीमा निर्माण गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ती :