- दश करोड लगानी
- २५ वर्षलाइ सम्झौता
गुल्मी : गुल्मीको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल रेसुङ्गामा पौराणिक आकृतिले सजिएको अन्तराष्ट्रिय स्तरको रिसोर्ट निर्माण हुने भएको छ । सदरमुकाम तम्घास बजारदेखि शिरमा रहेको रेसुङ्गामा रिसोर्ट निर्माणका लागि रेसुङ्गा नगरपालिका र पौवा होटल प्रालि बिच सम्झौता भएको हो ।
पौवा होटल प्रा.लिले दश करोड रुपैया लगानीमो रिसोर्ट संचालन गर्ने सम्झौता भएको छ । रिसोर्ट संचालनमा आएपछि रेसुङ्गा पुग्ने पर्यटकको संख्यामा उत्साहजनक रुपमा बृद्धि हुने आशा गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाइ लक्षित गरी प्रालि र नगरपालिकाबीच सम्झौता गरियो । नगरप्रमुख डिल्लिराज भुसाल र होटल पौवा प्रालिको तर्फबाट प्रबन्ध निर्देशक बिष्णुप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
२०७६ साल कात्तिकबाट २१०१ असोज मसान्तसम्म २५ वर्षसम्मका लागि जग्गा ‘लिजमा’ लिनेगरी सम्झौता भएको नगर प्रमुख भुसालले बताए । पौवा होटल प्रालि लाई बिश्वास गरेर जग्गा लिजमा दिइएको उनको भनाइ छ । प्रालिले नगरपालिकाकै स्टिमेट तथा डिजाइनमा हाल भइरहेको संरचनामा तीन तलाको भवन निर्माण गर्ने सहमती भएको छ । प्रालिले रेसुङ्गा पोखरी क्षेत्र नजिकै करिब ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने भएको छ ।
प्रालिले रिसोर्ट निर्माण अवधिको पहिलो चार वर्ष नगरपालिकालाइ भाडा बुझाउनुपर्ने छैन् । त्यसपछि पाँच वर्षका लागि प्रति वर्ष ५० हजार, पूनः पाँच वर्षका लागि ७५ हजार र त्यसपछिको दश वर्ष अवधिका लागि वार्षिक एक लाखका दरले भाडा बुझाउने र पहिलो पक्षलाइ निर्माण गरिएका संरचना हस्तान्तण गर्ने सम्झौतामा उल्लेख छ ।
पौवा होटल प्रा.लिका प्रवन्ध निर्देशक बिष्णुप्रसाद ज्ञवालीले आफ्नो जन्मथलो गुल्मी भएकोले आफ्नै जन्मथलो र रेसुङ्गाको पुण्यभूमीमा लगानी गर्न पाउँदा खुसी लागेको बताए । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपश्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु समेत छन् । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु रेसुंगा संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेला लाग्ने गर्दछ । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यू टावर निर्माण गरिएको छ । रेसुंगामा सदरमुकाम तम्घासबाट करिब ३० मिनेट गाडिको यात्रापछि पुग्न सकिन्छ । विगतका वर्षदेखि रेसुंगामा गाडी पुग्न थालेका छन् । हाल तम्घास रेसुंगा सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।