कुसुम छ महिनाको थिइन् । एकजना बूढाबाले आश्रमकी सञ्चालिका सम्पदालाई लौ यी नानीकी आमाले आत्महत्या गरिन् । यी नानीलाई तपाईंले यहाँ राखिदिनुप¥यो भनी घटनाको सबै बेलिबिस्तार लगाउन थाले । यिनको आमाको विवाह सानै उमेरमा भएको थिथो वारिपारि गाउँमा । श्रीमान र श्रीमतीको उमेर धेरै फरक थियो । मेरो छोरो बुहारीभन्दा पन्ध्र वर्ष जेठो थियो । पहिलेदेखि नै कुलतमा फसेको, जाँडरक्सी खाने,जुवा खेल्ने गर्दथ्यो । चिनेजानेकाले केटी दिएनन् र पारि गाउँकी केटी खोजेर विवाह गरिदिएँ ।
सानै उमेरमा बुहारीले पहिलो सन्तान जन्माई, छोरी । सन्तान जन्मेपछि पनि छोरोको बानी सुुध्रिएन झन उग्र हुँदै गयो । बुहारीलाई कुट्न थाल्थ्यो । हामी छुट्टयाउन जाँदा हामीलाई पनि कुट्थ्यो । बुहारीले एक वर्षपछि फेरि छोरी जन्माई । छोरो रक्सी खाएपछि बौलाहा हुन्थ्यो, बुहारीलाई चितर्थयो । छोरीलाई टिपेर फालिदिन्थ्यो । एकदिन त्यसरी नै बुहारीलाई कुट्न थाल्यो म छट्टयाउन गएँ । मेरी जहान तरकारी पकाउँदै थिई । आगो बेसरी बलेको थियो । छोरोले मलाई र ठूली नानीलाई फालिदियो ।
म भित्तामा बजारिन पुगेँ तर नानी अगेनामा परी । उसको शरीर पूरै जल्यो । गाउँलेहरू जिल्ला अस्पताल लैजान तरखर गर्दै थिए तर नानीले अन्तिम श्वास आँगनमै फेरी । छोरो बेपत्ता भयो । मेरी जहान बेहोस भई । पछि होस आउँदा मानसिक सन्तुलन गुमाई । दुई महिनापछि म काम गर्न बारीमा गएको समयमा बुहारीले नातिनीलाई आँगनमा राखिदिएर घरभित्र पासो लगाएर आत्महत्या गरिछे । म बूढो भएँ जहानको अवस्था त्यस्तो छ । यस्तो सानो बच्चाको स्याहारसुसार कसरी गरूँ ? बिहानबेलुका काम नगरे हातमुख जोड्न मुश्किल पर्छ कसरी हेरूँ नानी ?
यसको रक्षा गरिदिनुहोस् भगवानले तपाईंलाई सधैं आशीर्वाद दिनेछन् । यति भनेर बूढा बेसरी रोए । यसलाई बचाउँनका लागि म तीन दिन हिँडेर यहाँ आइपुगेँ । तपाईंले यसलाई पालिदिनु प¥यो नानी र यो ठूली भएपछि तिम्रा आमा बुबा दुर्घटनामा बितेका थिए भनिदिनुहोला । म तपाईं कहाँ ठूलो आशा लिएर आएको छु बूढाले थपे । सम्पदाले यति सानो बच्चालाई कसरी राख्न सकिन्छ र भनिन् । ती व्यक्तिले तपाईं यसलाई यहाँ राख्नुहुन्न भने म जंगलमा लगेर छोडिदिन्छु तर घर फर्काएर लैजान्न भनी आफ्नो अन्तिम निर्णय सुनाए । सम्पदालाई धर्मसंकट प¥यो । उनी एकछिन चुपचाप बसिन् र जिल्ला प्रशासनमा फोन गरिन् । प्रमुख जिल्ला अधिकारीको सल्लाह अनुसार सबै कुरा बुझेर कानुनअनुसार रीत पुर्याइ तिनको नाम कुसुम राखेर कागजात बनाइ आश्रममा ल्याइन् । आश्रमको धेरै आम्दनी थिएन कोही सहयोगी मन भएको दाताले दान दिएको भरमा चलिरहेको थियो। त्यहाँ कुसुम बाहेक अरू दशजना बालिका थिए । ती छ महिने नाबालिका घरिघरि आमाको दूध सम्झिएर होला बेसरी रून्थिन् । उनलाई लिटो र दूध खुवाउने व्यवस्था गरिएको थियो ।
आश्रम नजिकै एउटी महिला थिइन् जो भर्खर सुत्केरी भएकी थिइन् र उनको बच्चालाई दूध धेरै हुने भएकाले कुसुमलाई दूध खुवाउन अनुमति मागिन् । ती महिलाले आफ्नो बच्चालाई कपडा किन्दा कुसुमलाई पनि किनेर ल्याइदिन्थिन्। यसरी कुसुम हुर्कँदै गइन् । हुने बिरूवाको चिल्लो पात भनेझैँ सानैदेखि मिहिनेती थिइन्। आश्रमको अनेक समस्या भएपनि आश्रममा भएका सबै बालिकाको आधारभूत आवश्यकता पूरा गरिदिने कोसिस गरेको थियो । कुसुमलाई अरू बालिकाले अध्ययन गर्ने नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिइन् । कुसुम लगायत सबै बालिकाहरू विद्यालय जान्थे । उनी पढ्नप्रति अत्यन्तै रूचि राख्थिन् ।
विद्यालय भर्ना गर्न गाह्रो भएन । उनले सम्बन्धित ठाउँमा गएर आफूसँग भएको कागजपत्रका आधारमा अन्य आवश्यक कागजात बनाइन् । पढ्नमा अत्यन्तै ध्यान दिने र अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै चासो लिन थालिन् । आश्रमका सबै बालिकाहरू राम्रो पढ्थे । राम्रो पढाइ र ज्ञानी भएकीले होला शिक्षकहरूले कुसुमलाई धेरै माया गर्थे। शिक्षकहरूको सहयोग र उनको मिहिनेतले दिनप्रतिदिन प्रगति गर्दै जान थालिन्। उनी आफू पढ्न बस्थिन् र दिदीहरूलाई पनि पढ्न अनुरोध गर्थिन् । आफूलाई नआएका कुराहरू आश्रममा बेलुका एक घण्टा पढाउन आउने शिक्षकलाई सोध्थिन् । ती शिक्षकले एक घण्टा अनाथ बालिकाको सेवामा छुट्टयाएका थिए ।
कुसुम छ कक्षामा पढ्दा “अनाथ बालबालिकाको संरक्षण’’ शीर्षकमा राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा भाग लिई प्रथम स्थान हासिल गरी उनले नगद रू पचास हजार र प्रमाणपत्र प्राप्त गरिन् । उनले नगद पचास हजार आश्रमलाई दिइन् । सम्पदाले कुसुम लगायत सबै जनालाई बराबर मायाँ र सम्मान दिँदै भविष्य राम्रो बनाउन लागिपरेकी थिइन् । सम्पदाले कुसुमको बोलिचाली राम्रो भएकोले उनले एउटा सहयोगी व्यक्ति खोजेर निःशुल्क उद्घोषण तालिममा पठाइदिइन् । कुसुम आफूले सिकेका सीप र प्राप्त गरेको ज्ञान आश्रमका सबैजनालाई सिकाउँथिन् । उनले दशैँ तिहारको विदामा विद्यालयले दिएको गृहकार्य आफूले घुमेको ठाउँको वर्णन गरी एक पाना लेख भन्ने नेपाली विषयको गृहकार्यमा अनुच्छेदको बीचमा लेखेको सानो कविता यस्तो थियो ः
“कहाँ नै डुल्नु र मैले आश्रममा नै फूल रोपेँ,
रोपी गोडी मलजल गरी फुल्न बाध्य बनाएँ,
एकदिन आयो हुरी बतास बोटै भाँचूँला गरी
बल्लतल्ल बाँचेर आश्रम नै सुगन्धित पारी
कताबाट हो कुन्नि भमराआइ रस खाइदियो
सधैंसौन्दर्य छर्ने सपना क्षणमै ओईलाईदियो’’
उनी सिर्जनशील थिइन् । उनले कम्प्युटर निःशुल्क तालिम लिने अवसर प्राप्त गरिन् । आफूले सिकेको कुरा सबैलाई सिकाइदिइन् । सबैजना कुसुम देखेर छक्क पर्थे । उनी पछि आएका ससाना बहिनीहरूको लुगा धोइदिने,नुहाइदिने, खाना खुवाइदिने र वरिपरि सफासुग्घर गर्न सिकाउने गर्थिन् । सबैजनालाई नयाँनयाँ कुरा सिकाउँथिन् । तिहारमा देउसीभैलो खेलेर जम्मा भएको पैसाले कापी, सिसाकलम र अन्य सामाग्रीहरु किनेर राख्नुपर्छ भनी सम्पदालाई अनुरोध गर्थिन् ।
सम्पदालाई सबै आफ्नै छोरीहरू जस्तै लाग्थ्यो । उनलाई कहिलेकहीँ छोरीलाई हेर्ने दृष्टिकोण, भेदभावले मनमा कताकता नराम्रोसँग चिमोट्थ्यो र आँखाबाटआँसु झार्थिन्।आश्रममा रमाइलो वातावरण थियो। पढ्ने, लेख्ने, खेल्ने गर्थे। उनीहरूले कहिल्यै नमिठो भनेनन्, जस्तो दिए पनि खुसी भएर खान्थे, खाजा छैन भन्दा पनि हस् भनेर टाउँको हल्लाउँथे । यसरी दिन बित्दै थियो, एकजना नृत्य शिक्षकले निःशुल्क नृत्य आश्रमै आएर सिकिइदिन्छु भनेपछि सबै बालिकाहरू खुसी भएर रमाइलो मान्दै नृत्य सिके । उनीहरूले काठमाडौं उपत्यका व्यापी नृत्य प्रतियोगितामा सामुहिक नृत्यमा दोस्रो स्थान हासिल गरी नगद रू बीस हजार पाएका थिए। त्यो पनि आश्रमलाई नै दिए। यसरी आश्रमले सबै जनालाई खुसी नै राखेको थियो ।
कुसुमको एसएलसी परीक्षा आयो। उनले राम्रोसँग तयारी गरिन् । २०६३ को परीक्षाफल प्रकाशन हुँदा आश्रममा खुसीयाली छायो किनकि कुसुमले पचहत्तर प्रतिशत ल्याएर उतीर्ण गरिन् । सम्पदालाई धेरै खुसी लाग्यो तर अब कुसुमले कसरी उच्चशिक्षा हासिल गर्लिन् भनेर चिन्ता लाग्यो । कुसुमलाई एउटा निजी कलेजले विज्ञान विषय पढ्न छात्रवृत्ति दियो। उनले एघार र बाह्र राम्रो अङ्क ल्याएर उतीर्ण गरिन् । कुसुमले आश्रम छोडिनन् झन् उनले आश्रममा आएका अन्य बालिकाहरूलाई पढाउन थालिन्।
त्यसपछि एमबिबिएस पढ्नका लागि छात्रवृत्ति पाइन् नेपालबाट नै डाक्टर पढिन् । डाक्टरको पढाइ सकिएपछि नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र लिइन् र एउटा निजी अस्पतालमा काम गर्न थालिन् । उनको मेहनत, लगनशीलता र कामप्रति लगावका कारण दिनप्रतिदिन उनको उचाइ बढ्दै गयो । यस बिचमा उनले सम्पदालाई धेरै सहयोग गरिन् । सम्पदालाई आफू जहाँजहाँ जान्थिन् त्यहीँ त्यहीँ लिएर जान्थिन् र आश्रमलाई सहयोग गर्न र आफूजस्तै अनाथ कोही भए सम्पदालाई खबर गर्न अनुरोध गर्थिन् । सुरुमा दस एघार बालिका भएको आश्रममा बिस्तारै पच्चीस जना भएका थिए र आफ्नो आश्रममा भएका सबै बालिकाहररूको आधारभूत आवश्यकताहरू पूरा गर्ने सक्ने भएकी थिइन् कुसुमको सहयोगले ।
कुसुमलाई आज आमाको धेरै याद आयो। मेरी आमा हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ? बिचरा ! मेरी अभागिनी आमा !! मेरी आमालाई मर्न बाध्य पार्ने ती पापी बुबालाई सम्झिएर के काम? कुसुमले आफू अनाथ भएर आश्रममा बसेको कुरा उनले कक्षा छ मा पढ्दा थाहा पाएकी थिइन् तर उनले आमाबुुुबाको दुर्घटनामा निधन भएको भन्ने सुनेकी थिइन् । कक्षा बाह्रको परीक्षा सकिएपछि सम्पदाले वास्तविक कुरा जुन उनको हजुरबुबाले उनलाई त्यहाँ राख्न ल्याउँदा भनेका थिए। कहिलेकहीँ साथीहरुले आमाबुबाले गर्ने मायाका कुरा गर्दा भने कसैले नदेख्ने गरी आँसु झार्थिन् । उनलाई आमाको यादले दुखित बनाउँथ्यो र मनमनै भन्थिन् केही समय दुख गरेर हुर्काएको भए त म साथी भइहाल्थेँ नि तर मर्ने रहर कसलाई हुन्छ र पीडा सहन नसकेरै त होला नि भनेर आँसु झारिन् । उनले आफ्नी जन्मदिने आमा मरेकी र कर्म दिने आमा तपाईं बाहेक मेरा यस संसारमा कोही छैनन् भनिन् अनि सम्पदालाई अँगालो हालेर रोइन् र आफू बाँचुन्जेल आश्रमलाई सहयोग गर्ने वचनबद्ध भएर बाहिरिइन् आश्रमको चौरमा आफूले रोपेका बाह्रामासे र इन्द्रकमल फूललाई अँगालो हाल्दै...........अँगालो हाल्दै......