काठमाण्डौँ : विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि स्थानिय तहले प्रयास गरिरहेका छन । काठमाडौंको चन्द्रागिरी नगरपालिकाले पनि नियन्त्रण तथा रोकथामको लागि आबश्यक कदमहरुलाई तिव्र बनाइरहेको छ । सवै स्थानीय तहहरु खटिनै रहेका छन् । तर, चन्द्रगिरीका सवै वडाहरुले प्रस्तिस्पर्धाको माध्यमबाट नियन्त्रणको अभ्यास गरिरहेका छन् ।
यसमध्ये एक हो, वडा नं ६ । आफ्नै योजनाका साथसाथै कोरोना नियन्त्रणमा खटिएको वडा अध्यक्ष संजय सिग्देलले बताए । ‘मेरो टोल मै सुरक्षित राख्छु, एक टोल एक स्वयम्सेवक, टोल सुरक्षित अभियान’ नामक नाराका साथ परिचालित भएको उनले जानकारी दिए । वडा कार्यालयले साप्ताहिक रुपमा योजना बनाएर कोरोना रोकथाम तथा नियन्त्रण गर्न लागी परेको उनको भनाई छ ।
बैशाख १५ देखि बैशाख २२ गते सम्म वडा कार्यालयका कर्मचारी, स्वयम सेवक ,महिला स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधि र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको संयूक्त टोलीले कोभिड १९ बारे नागरिकलाई घर घरमा पुगेर जानकारी दिने, ज्वरो परिक्षण गर्ने, ट्राभल हिस्ट्री लिने, दिर्घ रोगीका लागि औषधी प्रयाप्तता भएको नभएको बारेमा जानकारी लिने, लकाडाउनको कारण देखा परेका समस्या गुनासाहरु संकलन गरी ती गुनासाहरु समाधानको लागि आबश्यक कदम चालिएको वडा सचिब रमिता भुसालले बताईन ।
वडाले लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने मजदुरलाई खाद्यन्नको समस्या रहेको र लगत संकलन गरी राहत वितरण गरिरहेको छ । वडावासीको स्वास्थ्य प्रति आफू सचेत रहेको बताउँदै वडा अध्यक्ष सिग्देलले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, लकाडाउनको उलंघन नगर्न , स्वास्थ्य समस्या भए तत्काल स्वास्थ्य चौकीमा सम्पर्क गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरे । लकडाउनको समयमा ज्वरो परिक्षण गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, वडा कार्यलयका कर्मचारी राहत सामग्री लिएर घरदैलोमा आइपुग्दा स्थानीय सरकार आफ्नै घर दैलोको सरकार महशुस गरिएको स्थानीय भगवती गुरुङले सुनाइन ।
हाल सम्म १ हजार ५ सय बढी घरधुरीमा पुगी ज्वरो परिक्षण गरीएको महादेवस्थान स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी महेन्द्र भुसालले जानकारी दिए । हालसम्म जाँच गरिएका नागरिकमा कोरोनाको लक्षण नदेखिएको र कोरोना रोकथाम तथा नियन्त्रणको लागि वडाले आबश्यक कदम चालिरहेको अबस्थामा जनताले निर्देशनको पालना गरेमा कोरोना जोखिमबाट बच्न सकिने उनको सुझाव छ ।