पछिल्लो समय नेपाली समाजको ध्यान नेकपाको अन्तरविरोधतर्फ निकै आकर्षित रह्यो । कोभिड १९ ले विश्व मानव समुदायलाई नै आतङ्कित एवं भयभीत तुल्याएको अवस्थामा नेपालमा भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिदै गएको गुटगत राजनीतिले कोभिड १९ का कारण सन्त्रासमा रहेको नेपाली समाजलाई नै त्यतातिर मोड्ने काम ग¥यो ।
देश नै कोरोना संकटको भुमरीमा रन्थनिएको बेला सरकारको कार्यशैली एवं नेकपाभित्र झाँगिदै गएको गुटगत अन्तरविरोधले आम नागरिकलाई सोचमग्न तथा चिन्तित तुल्यायो । देश बन्दाबन्दी (लकडाउन) मा रहेको यो समयमा सरकारका केही विवादास्पद निर्णयहरूले सत्तासीन पार्टी भित्र र बाहिर मात्रै होइन आम नागरिकको तहसम्म अन्तरबिरोधले प्रभाव पा¥यो । सरकार अदलबदल सम्मका बहस चले ।
विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीका प्रवृत्तिलाई लिएर उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट नै राजीनामा गर्नुपर्ने सम्मका बिचारहरू मिडिया र सामाजिक संजालहरूमा छरपस्ट भए । नेकपाभित्र त पक्ष विपक्षमै हस्ताक्षर सम्मका अभियान चलाइयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले असान्दर्भिक एवं निरंकुश शैलीका निर्णयहरू गरेकाले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने भन्दै स्थायी कमिटीका २० जना सदस्यहरूले पार्टी अध्यक्षद्वय समक्ष लिखित निवेदन समेत जाहेर गरे । अहिलेको लागि स्थायी कमिटी बैठक बस्नुपर्ने आवश्यकता नभएको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि अन्तरबिरोध झन् झन् झाँगिदै गयो ।
नेपाली राजनीतिमा सत्तासीन पार्टी होस् या अन्य पार्टीमा हुने अन्तरविरोध, टुट्फुट एवं बिभाजन नौलो विषय भने अवश्य होइनन् । सत्ता बाहिर रहँदा एकजुट भएका पार्टीहरू पनि सत्तामा पुगेपछि उनीहरूमा देखिने सत्तालिप्सा प्रवृत्ति र अन्तरविरोधका कारण बिभाजन सम्मका दृष्टान्त हाम्रो बीच ताजै छन् । नेपाली राजनीतिमा मैले राम्रो गर्नुपर्छ र माथि पुग्नुपर्छ भन्दा पनि माथि पुगेकाहरूलाई सिद्दाएर मात्रै माथि पुग्न सकिन्छ भन्ने संस्कार स्थापित भैसकेको छ । जुन दुस्खद पक्ष हो । माथि पुगेकाहरूले पनि आफ्ना कमीकमजोरी के छन् भनेर सच्चाउनु भन्दा आफूलाई अजम्मरी बादसाह जस्तो सम्झेर कमजोरी औल्याउनेहरू माथि नै निरंकुशताको डन्डा बर्साउँदा परिणाम सकारात्मक आउन सकेको छैन । खासगरी अहिले देखिएको नेकपाभित्रको अन्तरविरोध पनि एक पक्षले कमीकमजोरी स्वीकार गरी सच्चाउन नसक्नु र अर्को पक्षले कमी कमजोरीहरूमा च्याँके थापेर बस्नुको परिणाम हो ।
कोरोनाको यस्तो विपत्तिको समयमा जनताबाट एकपटक पराजित भइसकेका वामदेवलाई चुनाव लडाउने भन्ने निर्णय गर्दा फुरुक्क हुनु र ओलीले अध्यादेश ल्यायो भनेर गाली गर्दै हिड्नुमा कुनै फरक छैन । अहिलेको राष्ट्रिय आवश्यकता वामदेवलाई चुनाव लाडाउने हो र ? वामदेवले पनि सरकार र सत्ताको स्वाद राम्रै गरी चाखेको कारण जनताले पराजित गराएका हुन् भन्ने कुराको हेक्का हुनुपर्छ ।
एउटा जीवन्त पार्टीभित्र अन्तरविरोध एवं अन्तर संघर्ष चल्न्नु सुन्दर पक्ष पनि हो । अन्तरविरोध के का लागि र किन ? भन्ने कुरा प्रमुख हुन्छ । अहिले नेकपाभित्र देखिएको अन्तरविरोध कहाँबाट शुरु भयो र कहाँ पुगेर अन्त्य हुँदै छ भन्ने कुरामा सबैको नजर पुग्न जरुरी छ ।
दुई छुट्टाछुट्टै पृष्ठभुमि र बिचार बोकेका पार्टीहरू आफ्ना पूर्ववत् बिचार र पृष्ठभुमिलाई तिलाञ्जली दिएर संसदीय राजनीतिमा जनतालाई समृद्धि र समाजवादका सुनौला सपना बाँडेर सत्तामा बुर्कुसी मार्ने सपना देख्दै एकतामा बाँधिएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हो ।
नेकपाभित्रको अन्तरविरोधलाई दुई एङ्गलबाट हेर्नुपर्छ । पहिलो एङ्गल भनेको नेकपा भित्र एकथरीले सत्तामा बुर्कुसी मार्दै भ्रष्टाचारको दलदलमा भाँसिएर सत्ताको दुरुपयोग गरेका छन् । अर्को थरीले हामी पनि त्यहाँ जसरी भए पनि पुग्न पाउनु पर्छ र त्यही गर्नुपर्छ भन्ने हो । दोस्रो एङ्गल भनेको पार्टी र सरकार स्थापित सिद्दान्त, विधि, पद्धति र बिचारका आधारमा पारदर्शी ढंगले चल्नुपर्छ भन्ने हो । नेकपाभित्र आज पहिलो एङ्गल नै हावी र स्थापित छ भने दोस्रो एङ्गल निरीह छ, जसको केही चल्दैन ।
खास गरी नेकपाभित्र सुषुप्त रूपमा रहेको अन्तरविरोध कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदका लागि भएको ओम्नी ग्रुपसँगको सम्झौता एवं त्यहाँ भएको भ्रष्टाचार तथा सरकारद्वारा जारी दुई अध्यादेशका कारण नेकपाभित्रको अन्तरविरोध उत्सर्गमा पुग्यो ।
कोरोना कहरको समयमा भएका भ्रष्टाचार र गलत समय तथा गलत उद्देश्यका साथ लिएका अध्यादेशले गर्दा सरकार र पार्टीको बदनाम भएको भन्दै प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने आवाज बाहिर भित्र सबैतिर उठे । सांसद अपहरण भनिएका मुद्दाले पनि प्रधानमन्त्री माथि प्रश्न चिन्ह खडा भए ।
बालुवाटार, खुमलटार, कोटेश्वर, भैँसेपाटी लगायतका बन्द कोठामा बैठक बसेर आन्तरिक तुषहरू सार्वजनिक गरिए । जुन तुषहरू कुर्सी प्राप्तिका लागि मात्रै थिए भन्ने पुष्टि हुँदै छ । अन्तर संघर्ष पनि कस्तो चल्छ के सरकारी नेकपामा ? फलानालाई चुनाव लडाउने, फलानालाई फलानाकै लाइनमा कुर्सी मिलाइदिने भनिदिए शान्त होला जस्तो ! अन्तर संघर्ष त विधि र पद्धतिमा पो हुनुपर्छ त कम्युनिस्ट पार्टीमा नि ! माओवादीहरू अन्तर संघर्षमा हुर्कदा वैद्य लाइन कि प्रचण्ड लाइन भन्थे ? आज केपी गुट कि माधव या प्रचण्ड गुट भनिन्छ । ‘गुट’ आत्माकेन्द्रीत व्यक्तिवादमा पतन हुँदै जाने रहेछ भने ‘लाइन’ विचारधारामा परिणत हुँदै दार्शनिक धरातल पकड्दै अगाडि बढ्ने रहेछ ।
नेकपा भित्र अन्तरबिरोध यदि हुनुपर्दथ्यो भने बिचार, बिधि, पद्धति एवं सिद्धान्तमा हुनु पर्दथ्यो । बुर्जुवा पार्टीमा त अन्तरविरोधको हल विधि र पद्धतिमा खोजिन्छ भने यहाँ त नाम मात्रै भए पनि पार्टीको नाम त कम्युनिष्ट हो । शुरुमा पार्टी भित्रको अन्तरबिरोधको मुख्य समस्या विधि र पद्धतिमा देखाइयो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पार्टी निर्णय नगरी कार्य गरेको, दुबै पदमा (प्रधानमन्त्री र पार्टी अध्यक्ष ) रहन नहुने, भ्रष्टहरूलाई संरक्षण गरेको, एकताको भावनालाई पकड्न नसकेको, सुव्यवस्थित ढंगले सरकार सञ्चालन गर्न नसकेको, आम नागरिकको मनोभावना विपरीत अध्यादेश ल्याइएको लगायतका विषयहरूको उठान गरेर चर्को अन्तरविरोध पैदा गरियो ।
मुलतः ओली प्रवृत्तिको अन्त्यको माग गरियो । प्रधानमन्त्री फेर्ने हल्ला चलाइयो । अहिलेको समयमा प्रधानमन्त्री फेरेर अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरा अप्रासंगिक मात्रै होइन असान्दर्भिक नै थियो । समस्या व्यक्तिमा भन्दा प्रवृत्तिमा थियो । जेजे गरेपनि प्रवृत्ति यथावत नै रहेको छ । त्यो नेपाली जनताले भोग्दै नै जानुपर्ने छ । अलि पहिल्यै बसेको नेकपाको सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने भन्ने निर्णय बाटोमा जाँदा उल्टेको थियो । यस पटक बसेको बैठकले फेरि उपयुक्त समयमा प्रतिनिधि सभा चुनाव लडाउने भन्ने निर्णय भएको छ । अहिले चाहिँ बाटैमा उल्टिएको त छैन तर एउटा व्यक्तिलाई कति तन्काउन सकेको अनि व्यक्ति पनि कति तन्किनु फेरि । समस्याको समाधान त विधि र पद्धतिमा हुन्छ कि ? व्यक्तिको सेटल्मेन्टमा ? बामदेवलाई सेटलमेन्ट गर्नुपर्ने आवश्यकता किन प¥यो ? वामदेवलाई उपयुक्त समयमा चुनाव लडाउने निर्णय गरेपछि र प्रचण्डलाई ओलीको लाइनमा कुर्सी मिलाएपछि अन्तरविरोध लगभग केही समयको लागि मथ्थर भएको छ ।
कोरोनाको यस्तो विपत्तिको समयमा जनताबाट एकपटक पराजित भइसकेका वामदेवलाई चुनाव लडाउने भन्ने निर्णय गर्दा फुरुक्क हुनु र ओलीले अध्यादेश ल्यायो भनेर गाली गर्दै हिड्नुमा कुनै फरक छैन । अहिलेको राष्ट्रिय आवश्यकता वामदेवलाई चुनाव लाडाउने हो र ? वामदेवले पनि सरकार र सत्ताको स्वाद राम्रै गरी चाखेको कारण जनताले पराजित गराएका हुन् भन्ने कुराको हेक्का हुनुपर्छ । पार्टीले गर्न त खोजेकै हो भन्ने पार्नलाई गरिएको निर्णय हो भने यसमा भन्नू केही छैन । पार्टीको सचिवालय कमिटी यस्ता झिनामसिना कुरामा अल्झनु भन्दा राष्ट्रिय महत्वका विषयमा छलफल गरी निकास खोज्दा यसको गरिमा ओजपूर्ण रहन सक्छ ।
साँच्चिकै पार्टी नै रहेछ भने २५ गतेको स्थायी कमिटीको बैठकले विधि र पद्धतिको खोजी गर्ने छ । व्यक्ति सेटलमेन्टको तहमा देखिएको अन्तरविरोधलाई विधि र पद्धतिमा विकास गर्ने छ । सरकारमा देखिएको अकर्मण्यता र गलत अभ्यासका बारेमा खरो बहस गरी सच्चाउने छ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनालाई मुख्य एजेन्डा बनाउने छ । सुव्यवस्थित सरकार हाँक्ने ओली सरकार जनतालाई चाहिएको हो तर ओलीतन्त्र कदापि जनतालाई स्वीकार्य छैन र चाहिएको पनि छैन ।
नेकपाभित्र देखिएको अहिलेको अन्तरविरोध बिचार, विधि, पद्धति र सिद्धान्तको अन्तरविरोध होइन, समाज र राष्ट्रलाई कसरी सही गन्तव्यमा र्पुयाउने भन्ने अन्तरविरोध पनि होइन, पार्टी र सरकारलाई सुव्यवस्थित सञ्चालन कसरी गर्ने भन्ने अन्तरविरोध पनि होइन, भ्रष्टाचारको अन्त्य कसरी गर्ने एवं भ्रष्टहरूलाई कसरी कारबाहीको दायरामा ल्याउने भन्ने अन्तरविरोध पनि होइन, भ्रष्ट शासकीय संरचना कसरी बदल्ने भन्ने अन्तरविरोध पनि होइन, कोरोना कहरको बेला यसलाई कसरी सही व्यवस्थापन गर्ने भन्ने अन्तरविरोध पनि होइन । बहस र अन्तरविरोध नै हो भने यही कुर्सी र भागबन्डाकै बहस र अन्तरविरोध त हो । व्यक्तिको सेटलमेन्टमा बरालिएको अन्तरविरोध हो ।