चीनको वुहान शहरमा २०१९ डिसेम्बर ३१ मा देखापरेको कोरोना भाइरस आज सम्म विश्वका २ सय १५ देशका ३४ लाख १५ हजार छ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । २ लाख ३९ हजार ८ सय २३ जनाको मृत्यु भई सकेको छ । १० लाख ८७ हजार ४ सय १४ जना निको भएर घर फर्किसकेका छन । यसमध्ये सबै भन्दा प्रभावित संयूक्त राज्य अमेरिकामा ११ लाख ५० हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको तथ्यांक छ ।
अहिले विश्व नै कोरोना भाइरसको कारण लकडाउनमा छ । जसको कारण सम्पूर्ण मानव क्रियाकलाप नै ठप्प भएका छन । लकडाउनको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । शनिवार सम्म नेपालमा कोरोना संक्रमित संख्या ५९ जना पुगेका छन् । तर कोरोनाकै कारण आजका मितिसम्म नेपालमा कसैले पनि ज्यान गुमाउनुपरेको छैन् । मृत्यु होइन्, निको हुनेको संख्या बढ्दो छ । १६ जनाले कोरोनालाई जितेर घर गएका छन् ।
सरकारको प्रयास
हाल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मातहतका निकायहरु र स्थानीय सरकारहरुको संयोजनमा कोरोनाको द्रुत परिक्षण (आरडिटी) विधि मार्फत परिक्षण लाई तिव्र बनाएको अवस्था छ । कोरोना परिक्षणको संख्या बढ्दो भएपनि पोजेटिभको संख्या भने त्यस अनुपातमा बढ्दो छैन् । यसले पनि नेपाल आजका दिनसम्म सुरक्षित नै छ भन्ने पुष्टि गरेको छ । तीन तहका सरकार र नेपाली जनताको धैर्यता सहितको इमान्दारीताले नै हामीलाई सुरक्षित बनाएको महशुस गर्न सकिन्छ ।
कोरोना रोकथाम तथा यसको जोखिमलाई नियन्त्रण गर्न संघीय, प्रदेश र स्थानीय सरकार आहोरात्र खटिरहेका छन् । बिशेषतः गाउँ गाउँमा भएका स्थानीय सरकारले कोरोना रोकथामको लागि चालेका कदमहरुको खुलेरै प्रशंसा गर्न सकिने प्रशस्त उदाहरण छन् । मुलुक संघीयता कार्यान्यनको चरणमा छ । जनतासँग नजिक रहेका स्थानीय सरकारको संयोजनमा हालसम्म ७५ हजार भन्दा धेरै क्वारेन्टाइन बेड छोटो समयमै निर्माण सम्भव भएको छ । लकडाउन कार्यान्यनमा स्थानीय तहले खेलेको भूमिका प्रशंसनीय छ । स्थानीय तहले लकडाउनको कारण काम गर्न नपाई दैनिक जीवनयापनमा समस्यामा परेका जनतालाई राहात वितरण लगायत कार्यहरुलाई तिव्र बनाएका छन् । वास्तविक श्रमिकहरुको पहिचानमा स्थानीय तहमा भएका जनप्रतिनिधीहरुको भूमिका नै अहम रहने गर्दछ । यसले पनि राहत वितरणमा एकाध बाहेक पारदर्शिता नै देखिएको छ ।
घर घरमै पुगेर लगत संकलन, ज्वरो परिक्षण स्वास्थ्य सल्लाह र जनताका गुनासा सुनुवाई गरि रहेका छन् । कोहि पनि खान नपाएरै मृत्युको मुखमा पर्ने स्थिती हुन नदिन स्थानीय तहका जनप्रतिनिधि कर्मचारी खटिरहेका छन । लकडाउनमा घरमै बसिरहनु भएका दिर्घरोगीको तथ्यांक संकलन गरि उहाँहरुको लागि नियमित सेवन गर्ने औषधी खरिद गरि निःशुल्क पु¥याउने काम अधिकांश स्थानीय तहले गरिरहेका छन् । यसले पनि स्थानीय सरकारको भूमिका दुःखको बेला नै बढी प्रभावकारिता हुने देखिएको छ ।
स्थानीय तहले आबश्यक सावधानी अपनाई बिकास निर्माण कार्यलाई पनि अगाडी बढाइरहेको अबस्था छ । स्थानीय सरकार जनताको घर दैलोको सरकार भएका कारण पनि स्थानीय जनताका माग गुनासा र समस्यालाई समाधान गर्न अगाडी बढिरहेको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारीहरु जनताको सेवामा निरन्तर खटिरहेका छन् । विपत्मा अझ बढी संवेदनशिल भएर खट्नु उनीहरुको पेशागत धर्म नै हो । स्वास्थ्य सेवाका कर्मचारीलाई प्रोत्साहन भत्ता बीमा लगायतका सुबिधा सरकारले घोषणा गरेपनि स्थानीय तहमा कार्यरत अन्य कर्मचारी कुनै पनि सुबिधाको आश नगरी आफ्नो कर्तव्य पालनको लागि जोखिम मोलेरै भए पनि जनताको सेवामा खटेका छन् ।
काम गर्ने क्रममा स्रोत साधानको अवश्य पनि अभाव छ । जनताका गुनासाहरु पनि दिनानुदिन आइनै रहन्छन् । तर स्थानीय तह स्रोत साधनको बाहानामा आफ्नो जिम्मेवारीबाट पन्छिने अबस्था छैन । स्थानीय तहले राजधानी लगायत अन्य ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई आबश्यक साबधानी पु¥यायर घरसम्म ल्याउने आफ्नो सरकारको अनुभूति दिलाउन सकेका छन् ।
मिडियाको अतिरञ्जित
जनताका असिमित चाहाना, बढ्दो शैक्षिक बेरोजगारी सूचना प्रविधिको बिकासको कारण पनि जनताका गुनासाहरु बढेको यतार्थ भएता पनि राष्ट्रिय संचारमाध्यमहरु स्थानीय सरकारको कामलाई प्रोत्साहन गर्नुको साटो नकारात्मक काम लाई बढी प्राथमिकता दिइरहेको देखिन्छ । यसले कार्यसम्पादन गर्ने निकायलाई थप हौसला भन्दा निरुत्साहित बनाउने देखिन्छ । मलाई लाग्छ, यो कदापी पनि राम्रो पक्ष होइन् । जनताको सेवामा खटिरहेका जनप्रतिनिधि कर्मचारी लाई निरुत्साहित गर्ने काम संचारमाध्यमले गर्नुभन्दा कमीकमजोरीलाई केलाएर सुरधारको बाटो देखाउनु पेशागत धर्म हो जस्तो लाग्छ ।
जनतालाई सत्य तथ्य सूचना सम्प्रेषण गर्नु मिडियाको दायित्व भएता पनि मिडियाहरु ‘ब्रेकिंङ र हट न्युज’ को नाममा अपवाह फैलाउने, जनतामा त्रास फैलाउने, हतोसाहित गर्नेतर्फ केन्द्रित भएको देखिन्छ । राज्यले लिएका राम्रा नीतिहरु लाई खुलेर प्रसंसा गर्ने र गलत कार्यलाई खबरदारी गर्नु मिडियाको मुख्य धर्म भएता पनि सरकार बनाउने र ढलाउने खेलमा लागेको देखिन्छ । यसले नागरीकहरुमा आशा भन्दा निराशा छाएको छ ।
विश्व कोरोना महामारीसंग जुधिरहेको समयमा नेपालमा सरकार बनाउने र ढलाउने खेल हुनु दुःखद हो । यो समयमा सबै मिलेर कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नुको साटो राजनीतिक अस्थिरता सृजना गर्न खोज्नु पक्कै पनि राम्रो हुन् सक्दैन । त्यसैले कोरोना नियन्त्रण तथा रोकथामको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार आपसी समन्वय सहकार्य गरि अगाडी बढ्नुको विकल्प हामीसँग छैन । तब मात्र कोरोना महामारी लाई जित्दै सरकारले ल्याएको “समृद्द नेपाल सुखी नेपाली’’ को नाराले सार्थकता पाउने छ ।