प्यूठान : स्वर्गद्धारी बहुमुखी क्याम्पस प्यूठान नगरपालिका ७ पूण्यखोलाका प्रध्यापक नेत्रमणी आचार्यले तलव नबुझेको ६ महिना भयो । व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएका उनले फागुनदेखि तलव पाएका छैनन् । उनी सहित क्याम्पसका अन्य प्रध्यापकहरुले समेत तलव नबुझेको उत्तिकै महिना वितिसक्यो । क्याम्पसको आर्थिक स्रोत नहुँदा तलव खुवाउन नसकिएको व्यवस्थापन समितिले बताएको छ । ‘स्वयमसेवक जस्तै हुनुपरेको छ’,अचार्यले भने,‘क्याम्पसको दिगो व्यवस्थापनमा स्थानीय सरकारले पहल थाल्नुपर्छ ।’
जिल्लामा सामुदायिक तहबाट संचालित पाँचवटा क्याम्पस संचालनमा छन् । ती सवै क्याम्पसहरु आर्थिक अभावले संचालनमा सकस देखिएको छ । विद्यार्थीको शुल्कले धानिएका क्याम्पसहरु विद्यार्थी संख्या घटेसँगै अप्ठ्यारोमा परेका हुन् । ‘वर्षेनी विद्यार्थी संख्या घट्दै गएको छ’,प्यूठान क्याम्पस खलंगाकी प्रमुख कल्पना खड्काले भनिन्,‘सरहरुलाइ तलव खुवाउन समेत गाह्रो भइरहेको छ ।’ उनले दुइ महिनादेखि तलव नबुझेको प्रतिक्रिया दिइन् । त्रिभुवन विश्वविद्यालयले तोकको सेवा सुविधाभन्दा धेरै कममा प्रध्यापकहरुले पढाउदै आइरहेको उनको भनाइ छ ।
प्यूठान नगरपालिकाकै बाग्दुलामा झिमरुक, स्वर्गद्धारी नगरपालिका भिंगृमा अमंर र झिमरुक गाउँपालिका मच्छिमा गौमुखी क्याम्पस संचालनमा छन् । गाउँ तथा नगरपालिकाले वार्षिक रुपमा दिइएको थोरै अनुदानले जसोतसो धान्न सजिलो भएपनि दिगो समाधान नभएको क्याम्पस प्रमुखहरुले प्रतिक्रिया दिए । प्रदेश, संघ र स्थानीय सरकारले भौतिक संरचनाका लागि बजेट दिएपनि प्रशासनिक खर्च नदिने गरेको स्वर्गद्धारी बहुमुखी क्याम्पसका प्रमुख गुञ्ज बहादुर खड्काले बताए ।
उनका अनुसार उक्त क्याम्पस जिल्लाकै पुरानो हो । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त उक्त क्याम्पस ०३७ सालमा स्थापना भएको उनले सुनाए । ‘हाम्रो क्याम्पससँगै स्थापना भएका सवै आंगिक भइसके’,उनले भने,‘तर अहिलेसम्म समुदायस्तरबाट चलाउनुपरेको अवस्था छ ।’ आंगिक बनाउनतर्फ जिल्लाका नेतृत्व तहले पहल गरिदिन उनले आग्रह समेत गरे । क्याम्पस संचालनका लागि उनका अनुसार प्रशासनिक खर्चतर्फ वार्षिक करिव ७० लाख रुपैयाँ अपुग हुने गरेको छ । खड्काका अनुसार हाल ५ सय २० जना विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षा संचालनमा तत्कालै व्यवहारिक नीति ल्याउन समेत उनले सरकारलाइ आग्रह गरे । राज्यको प्रत्यक्ष लगानीबीना कक्षा १२ देखि माथिल्लो कक्षाको पठनपाठन संचालन गर्न हम्मेहम्मे पर्ने क्याम्पसहरुले प्रतिक्रिया दिएका छन् ।
जिल्लाभर संचालित पाँचवटै क्याम्पसमा हेर्दा एक हजार विद्यार्थीहरु पुग्दैनन् । स्वर्गद्धारीमा ५ सय २०, गौमुखी एक सय २०, प्यूठान एक सय १२, अमंर एक सय २५ र झिमरुक क्याम्पसमा एक सय १० गरी कुल ९ सय ८७ जना विद्यार्थीहरु हाल अध्ययनरत छन् । घट्दो विद्यार्थी संख्यालाइ मध्यनजर गर्दै नजिकका क्याम्पसहरुलाइ ‘समायोजन’ गर्नुपर्ने प्रध्यापक डा.शिवराज पण्डितले सुझाव दिए । त्रिभुवन विश्वविद्यालयले ५ किलोमिटर दुरीको बीचमा अर्को क्याम्पस संचालन गर्न नपाउने नीतिगत व्यवस्था गरेपनि विजुवार र बाग्दुलामै दुइ क्याम्पस संचालनमा छन् । जिल्लाका शिक्षा प्रेमीहरुले प्यूठान क्याम्पस खलंगा, झिमरुक क्याम्पस बाग्दुला र स्वर्गद्धारी बहुमुखी क्याम्पस पूण्यखोलालाइ ‘मर्ज’ गर्नुपर्ने धारणा राखेका छन् । भूगोलका हिसावले सदरमुकामदेखि टाढा रहेका अन्य तीन क्याम्पस यथावत संचालन हुनुपर्ने उनीहरुको जोड छ ।
संघीय शिक्षा ऐन जारी नहुँदा सामुदायिक स्तरबाट संचालित क्याम्पसहरु संचालनमा कठिनाइ परेको उनको बुझाइ छ । ‘छोराछोरीलाइ शहरमा पढाउने चलन बढ्दो छ’,उनले भने,‘गाउँका विद्यालयमा कसले पढ्ने ?’ जिल्लामा शिक्षा, मानविकी, व्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको छ । यसअघिका पटक पटकका निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुले जिल्लाकै पुरानो स्वर्गद्धारी बहुमुखी क्याम्पसलाइ आंगिक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएपनि नारामै सिमित बनाएका छन् । क्याम्पसलाइ दिगो रुपमा संचालन गर्नका लागि नेतृत्वले चासो नदेखाएको प्रध्यापकहरुको गुनासो छ ।