गुल्मी : गुल्मी सदरमुकाम तम्घासदेखि सात किलोमिटर दक्षिणतर्फ एउटा यस्तो गन्तव्य छ । जसले पर्यटकको मन छिट्टै समयमा तानिसक्यो । अहिले दिनप्रतिदिन पर्यटकहरु यस स्थानमा पुगेर आन्नन्दित हुने गर्छन् । रेसुंगा नगरपालिका वडा नम्वर ५, ६ र ७ को संगमस्थल उनायचौरको उनायचौर भगवती मन्दिरमा दुई महिना अघि ‘ट्रि हाउस’ निर्माण गरियो ।
प्राकृतिक रुपमा बनाइएको यस हाउसले पर्यटकलाइ आकर्षण गराएको छ । यहाँ पुग्दा देखिन्छ फोटो कैद गर्नेहरु व्यस्त छन् । सल्लाको ठूलो रुख छ । चढ्न त के हेरेरै आङ सिरिङ हुनेजस्तो उक्त रुख । साना बालवालिका यति ठूलो रुखमा चढ्ने कुरै भएन् । यूवाहरु पनि चढ्न सक्ने अवस्था थिएन । तर, यही डरलाग्दो रुखमा अहिले दुधे बालकदेखि बृद्धबृद्धाहरु समेत सजिलै चढ्न सक्छन् । सल्लाको रुख चढ्ने मात्र होइन, टुप्पोमै पुगेर आफुले चाहेजति आराम गर्न पाउँछन् । देख्दै आकर्षक छ । पाँच तलाको झण्डै एक सय जति सिँढी चढेर यही ठूलो रुखमा पुग्दा पर्यटकहरु दंग छन् ।
चारैतिर विभिन्न प्रजातिका रुखकहरुले हरियाली छ । जाडोमा न्यानो र गर्मीमा शिलता पनि हुने । तम्घास घुम्न आएका चितवनका ज्ञानहरी आचार्यले ट्रि हाउस घुमेपछि अनौठो स्थान देखेको बताए । ‘यस्तो ठाउँ छ भन्ने सुनेको थिए’,उनले भने,‘कति राम्रो ठाउँ । बसौँ बसौ लाग्ने ।’ स्थानीयको आय आर्जनमा यसले महत्वपूर्ण टेवा पु¥याउने उनले प्रतिक्रिया दिए । यसको दिगोपना र संरक्षणमा स्थानीय सरकारले ख्याल गर्न समेत उनले सुझाव दिए ।
विदाको दिनमा अझ बढी पर्यटकहरु घुम्न आउने गरेको उनायचौर खड्ग भगवती नगर उद्यान समितिका हेरोलु एवं स्थानीय घनश्याम पन्थीले बताए । उनले दुइ महिनाको अवधिमा ७० हजार रुपैयाँ बरावारको टिकट विक्री गरिसकिएको जानकारी गराए । रुख चढ्नका लागि प्रतिव्यक्ति २० र विद्यार्थीका लागि दश रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विभिन्न संघ, संस्था, कार्यालय वा जुनसुकै निकायले पनि आफ्नो नियमित वैठक उक्त रुखमा बस्न सक्छन् । झण्डै २० जना एकैपटक रुखमा चढेर बस्न सकिन्छ । संकलित रकम मन्दिर व्यवस्थापन समितिले बचत गरेको छ ।
प्रदेश ५ सरकारको लगानीमा डिभिजन वन कार्यालय गुल्मीले १३ लाख रुपैयाँ लगानीमा उक्त उद्यान निर्माण गरेको हो । ५० रोपनी क्षेत्रफल जग्गामा फैलिएको यस क्षेत्रमा चिल्डे«न पार्क र अन्य रुखहरुलाइ सजावट गरिने उद्यान समितिको योजना छ । नजिकै ठूलो खेदमैदान छ । नगर क्षेत्रका ठूला खेल यस मैदानमा संचालन गर्न सकिन्छ । ट्रि हाउसबाट पर्यटकीय तिर्थस्थल रेसुंगा सहित सदरमुकाम तम्घासलाइ नजिकबाटै कैद गर्न सकिन्छ । तम्घास बजारदेखि झण्डै सात किलोमिटर दुरीमै पुग्न सकिन्छ । हालसम्म १२ हजार बढी पर्यटकहरुले यस क्षेत्रको अवलोकन गरिसकेको समितिले जनाएको छ ।
बजेट भित्र्याउन रेसुंगा नगरपालिकाले पहल गरेको नगरप्रमुख डिल्लीराज भुषालले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा थप बजेट विनियोजन गरी यसलाइ अझ आकर्षक बनाइने तयारी रहेको बताए । थप संरचनाका लागि योजना बनाइएको उनको भनाइ छ । रेसुंगा नगरपालिकाको आर्थिक विकासमा ट्रि हाउसले महत्वपूर्ण टेवा पु¥याउने सकिने अवस्था छ ।